
मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बाँनियाले सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थनसहित मुख्यमन्त्री बन्नका लागि दाबी प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए ।
यसैबीच, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटासमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बानियाँको सिफारिसमा आठ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसूदन पौडेल कृृषि तथा पशुपक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै, कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गर्राए ।
बानियाँ को हुन् ?
इन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, खरो स्वभावका र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित नाम हो । पार्टीभित्र निरन्तर संगठित रुपमा अगाडि बढ्दै आएका बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनको राजनीतिक यात्रा, सामाजिक सक्रियता र नेतृत्व क्षमताले उनलाई प्रदेश राजनीतिमा अग्रपंक्तिको नेतृत्वमा पुर्याएको छ।
२०२७ साल भदौं १५ गते मकवानपुरको हर्नामाडी-४, दियावतीमा जन्मनु भएका बानियाँ हाल हेटौँडा–५ सानोपोखरा र ललितपुरको धापाखेल-१ मा बसोबास गर्दै आएका बानियाँले आफ्नो राजनीतिकयात्रा २०४४ सालमा सुरु गरे। त्यसपछि २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भए ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दलमकवानपुरका सचिव र २०५६ सालमा तरुण दलजिल्ला अध्यक्ष बने। सोही वर्षदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहँदै आएका छन्।
२०५८ सालमा पार्टीको जिल्ला सदस्य बनेका बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भए। २०७० मंसिर ४ गतेको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित भए।
बानियाँ २०७२ सालेदेखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापतिको भूमिकामा रहेका थिए। बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री नियुक्त भए। सोही वर्ष नै गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाले।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं-१ (ख) बाट प्रत्यक्ष निर्वाचित भई प्रदेशसभा प्रवेश गरे। त्यसपछि २०७४ पौष ३ गते काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भए ।
२०७८ सालमंसिर २० गतेदेखि हालसम्म नेपाली काँग्रेस बागमती प्रदेश सभापति छन्। बाँनिया २०७९ मंसिर ७ गते प्रदेश सभा सदस्यमा पुनःनिर्वाचित भए। २०८२ साउन १४ गते उनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए।
राजनीतिक जीवनसँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन्। मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी सम्हाली सकेका छन्।
बानियाँ स्पष्ट विचार र खरो अभिव्यक्तिका लागि चिनिने नेता हुन्। आफ्नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल बन्नु उनको राजनीतिक परिपक्वताको प्रमाण हो। संगठन निर्माण, जनसम्पर्क र लोकतान्त्रिक अभ्यासमा उनको पकड बलियो छ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् ।
पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।
उनले भने, “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ”, झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।
यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए ।
तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो ।
घिमिरेले भने, “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ ।
कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षात्को समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिप्पर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।
भरतपुर । बहुविवाहलाई कानुनी मान्यता दिने गरी प्रस्तावित मस्यौदामा उल्लेखित प्रावधानको विरोध गर्दै चितवनमा विभिन्न संघसंस्था तथा महिला अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार जिल्लाका ५३ वटा संघसंस्थाले संयुक्तरुपमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चितवनस्थित यौनजन्य हिंसाविरुद्धको साझा अभियान, नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह , चितवन सक्रिय महिला प्रतिष्ठान, मञ्जुश्री असहाय संरक्षण केन्द्र, हाम्रो भरोसा नेपाल, आदर्श नारी विकास केन्द्र, चेली नेपाल, आफन्त नेपाल, महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपाल, सहिद स्मृति प्रतिष्ठान नेपाल, सामुदायिक सेवा केन्द्र भरतपुर, नेपाल परिवार नियोजन संघ, आदर्श गृहलगायतले संयुक्तरुपमा बहुविवाहलाई कानुनी मान्यता दिने प्रावधानको विरोध गर्दै ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकार कानुन मन्त्रालयले संशोधनका लागि तयार गरेको मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ तथा सम्बद्ध कार्यविधिका व्यवस्थाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइएको छ ।
‘बहुविवाहलाई संस्थागत मान्यता दिने गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा संशोधन गर्न प्रस्तावित मस्यौदामा उल्लेख भएका प्रावधानप्रति हामी अत्यन्त गम्भीर छौँ । यो व्यवस्था पारित भएमा नेपालको सामाजिक, सांस्कृतिक तथा लैङ्गिक समानतामा आधारित मूल्य, मान्यता र सविधांनको मूल भावनामाथि प्रहार गर्ने गम्भीर सम्भावना देखिन्छ’, पत्रमा भनिएको छ ।
यस्तै, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा १८ (लैङ्गिक समानता) र धारा ३८ (महिलाको हक) ले स्पष्टरुपमा महिलालाई विभेदबाट जोगाउने र सम्मानपूर्वक जीवनयापनको अधिकार प्रदान गरेको छ । त्यस्तै, बहुविवाहलाई हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत दण्डनीय फौजदारी अपराधको रुपमा लिइएको छ ।
बहुविवाहजस्तो अपराधिक अभ्यासले महिला र बालबालिकामाथि मानसिक, सामाजिक, आर्थिक र भावनात्मक हिंसा सिर्जना गर्ने तथ्यले पुष्टि गरिसकेको छ । यस्तो अभ्यासलाई कानुनी मान्यता दिनु संविधानको भावना र नेपालले पक्ष राष्ट्रका रुपमा हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धिहरुको उल्लङ्घन हो । यसले समाजमा विद्यमान लैङ्गिक असमानतामा झनै गहिरो खाडल सिर्जना गर्नेछ ।’
सामाजिक अपराधलाई प्रोत्साहन गर्ने कदमलाई तुरुन्त सच्याउन भन्दै उनीहरुले विभिन्न मागसहित ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।
रत्ननगर । स्काइराइडर आवासीय माध्यमिक विद्यालय, रत्ननगरका विद्यार्थी सौरभ सुवेदीले कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् ।
उनले ३.९६ जिपिए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका हुन् । विद्यालयका अनुसार, कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले समग्रमा उत्कृष्ट नतिजा ल्याएका छन् ।
जसअनुसार, ३.६१ देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१ जना रहेको छ । यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या १७०, २.८१ देखि ३.२० जिपिए ल्याउने विद्यार्थीको संख्या ८१ र २.४१ देखि २.८० जिपिए ल्याउने विद्यार्थीको संख्या २८ रहेको छ।
विद्यालयले विद्यार्थीहरूको मिहिनत, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको सहयोगले यो सफलता सम्भव भएको बताएको छ । यो नतिजाले स्काइराइडर आवासीय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले बताए ।
रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ ।
क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसाय अध्ययनमा रूचि राख्ने विद्यार्थीहरुका लागि ६६ सिट कोटासहित बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कलेज उद्घाटन वर्षलाई विशेष बनाउन एक करोड रुपैयाँबराबरको छात्रवृत्ति योजना घोषणा गरिएको छ, जसले आर्थिकरुपमा कमजोर तर जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीहरुका लागि विशेष छूटको व्यवस्था गरिएको छ, जसले सीमित स्रोत भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ ।
क्याम्पस प्रमुख दाहालले जिएसटीले शत्प्रतिशत रोजगारीको ग्यारेन्टीसहित विद्यार्थीहरुलाई व्यावसायिक दुनियाँसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित राख्दैनौँ, सह–पाठ्यक्रम गतिविधिहरु र उद्योगहरुसँगको सहकार्यमार्फत उनीहरुलाई प्रतिष्ठित व्यापारिक संस्था र बहुर्राष्ट्रिय कम्पनीहरुसँग जोड्छा’ैँ, उनले भने । यसले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरुप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्य राखेको छ ।
जिएसटी कलेजको स्थापनाले पूर्वी चितवनका युवाहरुलाई स्थानीयस्तरमै विश्वस्तरीय व्यवस्थापन शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । क्याम्पस प्रमुख दाहालले यो पहलले क्षेत्रीय शैक्षिक असमानता हटाउन र युवाहरुको सपना साकार पार्न मह¤वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो’, उनले थपे ।
गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापकहरु र आधुनिक शिक्षण विधिमार्फत जिएसटी कलेजले विद्यार्थीहरुलाई सशक्त बनाउने योजना बनाएको छ । भर्ना प्रक्रिया र अन्य विवरणका लागि कलेजले चाँडै प्रवेश परीक्षाको मिति सार्वजनिक गर्ने जनाएको छ । यो कलेज पूर्वी चितवनको रत्ननगरमा स्थापना हुनुले शैक्षिक क्षेत्रमा नयाँ उत्साह थप्दै व्यवसाय अध्ययनमा रूचि राख्ने युवाहरुका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।




