
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उनले भने, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्रप्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।
कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पुर्याएर जहाज चढाउनेसम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउँछन् । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।
यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।
विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने किट नियन्त्रक केसीले बताए ।
चितवन । गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिएका छन् । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गरेका छन् । गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गरेका छन् ।
गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । उनले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन् ।
रत्ननगर । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरका प्रतिनिधि प्रेम भट्टले रत्ननगर नगरपालिकाको स्वास्थ्य संस्थाका लागि पाँच थान बिरामी बेड हस्तान्तरण गरेका छन् ।
बिरामी बेड हस्तान्तरण कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नगरप्रमुख सापकोटाले स्वास्थ्य संस्थालाई अतिआवश्यक पर्ने बिरामी बेड हस्तान्तरण गरेकोमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर र प्रेम भट्टप्रति आभार व्यक्त गरे । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले गरेका थिए ।
रत्ननगर । नेपाल रेडक्रस सोसाइटी चितवनले बालमैत्री कक्ष (चाइल्ड फ्राइन्डली स्पेस) सहितका सामग्री रत्ननगर नगरपालिका–५ अन्तर्गत रहेको नगरस्वास्थ्यकेन्द्र टरौलीलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा रेडक्रस चितवनका सभापति हरिप्रसाद पौडेल, रत्ननगर–५ का अध्यक्ष बालकृष्ण चापागाईं, रेडक्रस चितवनका मन्त्री राममणि खनाल, रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेल, सहसंयोजक वासुदेव सापकोटा, नगरस्वास्थ्यकेन्द्र टरौलीका प्रमुख गोविन्द शर्मालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समन्वय कार्यक्रम संयोजक प्रदीप सुवेदीले गरेका थिए भने सञ्चालन रेडक्रस उपशाखा बछौलीका कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
सो अवसरमा बोल्दै रेडक्रस चितवनका सभापति हरिप्रसाद पौडेलले बालबालिकाको मानसिक स्वास्थ्य र खेलमैत्री वातावरण सृजना गर्नु आजको आवश्यकता रहेको बताए । यसले उनीहरूको आत्मविश्वास र क्षमतामा वृद्धि गर्ने विश्वास पौडेलले व्यक्त गरे ।
यस्तै, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले यस प्रकारको कार्यक्रमले स्थानीय बालबालिकालाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यसलाई थप प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
उनले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य उपचारसँगै उनीहरूको मानसिक र सामाजिक विकासलाई अघि बढाउने गरी बालमैत्री कक्षा सञ्चालन गर्नु मह¤वपूर्ण रहेको बताए ।
उनले यसबाट बालबालिकालाई सुरक्षित, रमाइलो र सिकाइमैत्री वातावरण दिनुका साथै उनीहरूको सम्पूर्ण विकासमा सहयोग पुग्ने र बालमैत्री कक्षाको माध्यमबाट बालबालिकाको उपचारलाई सहज बनाउन मद्दत पुग्ने विचार व्यक्त गरे ।
यस्तै, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले यस कार्यक्रमबाट बालमैत्री कक्षाले बालबालिकाको स्वास्थ्य, मनोविज्ञान र सिकाइलाई सन्तुलित बनाउने बताए ।
रेडक्रस चितवनका मन्त्री राममणि खनालले रेडक्रसले समुदायको स्वास्थ्य र सामाजिक सशक्तीकरणका लागि निरन्तर योगदान गर्दै आएको बताउँदै बालबालिकालाई मानसिक स्वास्थ्य, मनोसामाजिक सशक्तीकरण र खेलकुदमैत्री वातावरण सिर्जना गर्न आवश्यक सामग्रीहरु स्वास्थ्यकेन्द्रलाई उपलब्ध गराइएको बताए ।
यस कार्यक्रम सुरू भएसँगै बालबालिकाको स्वास्थ्य, मानसिक विकास र अधिकार प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने नगरस्वास्थ्यकेन्द्र टरौलीका प्रमुख गोविन्द शर्माले बताए ।
खैरहनी । खैरहनी-८, पर्सा बजारमा रहेको शैक्षिक परामर्शदाता संस्था टिम कन्सल्टको आयोजनामा मल्टी डेस्टिनेसन एजुकेसन फेयर-२०२५ सम्पन्न भएको छ ।
खैरहनी नगरपालिका वडा नं-८ का वडाध्यक्ष शंकर कँडेलको प्रमुख आतिथ्यता एवम् टिम ग्लोबलका सिइयो हेमन्त कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा शाखा प्रमुख राजकुमार सिलवालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा २५ भन्दा बढी कलेज र युनिभर्सिटीका प्रतिनिधि, आइडिपी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, बैंक तथा बित्तीय संस्थाहरुका प्रतिनिधिसँग विद्यार्थीहरुले कलेज तथा युनिभर्सिटीको विशेषता, शैक्षिक ऋण र छात्रवृत्तिको बारेमा प्रत्यक्षरुपमा छलफल गरेका टिम कन्सल्टका पर्सा शाखा प्रमुख सिलवालले जानकारी दिए ।
३०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले खेलको मज्जासमेत लिएका थिए । सहभागी विद्यार्थीहरुलाई आकर्षक गिफ्ट, मुभी टिकट, एयर बर्ड, स्मार्ट वाच र मोबाइल चार्जर प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यर्थीहरुले यस्ता कार्यक्रमले आफूहरुको अन्योलता हटाइ सही गन्तव्य, कलेज र युनिभर्सिटी चयन गर्न सहज भएको बताएका छन् । विगत डेढ दशकदेखि सेवा प्रदान गर्दै आएको टिम कन्सल्टले काठमाडौँ, पर्सा, नारायणगढ, सिड्नी र लन्डन कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको कार्यक्रममा १४ महिलासहित १०७ जनाले रक्तदान गरेका छन् ।
रत्ननगर नगरपालिका वडा नं–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम् अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहदत्त पौडेल ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा १०७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिए ।
कार्यक्रममा रेडियो अर्पणका उपाध्यक्ष एवम् अर्पण साकोसका पूर्वअध्यक्ष यमन भुसालले रक्तदान कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमलाई हौसला दिन उपस्थित भएका रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अर्पण साकोसले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिका सहकार्य गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष सापकोटाले अर्पणको सामाजिक भूमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले बेला बखतमा आयोजना गर्ने रक्तदान कार्यक्रमबाट रगतको अभावपूर्ति हुने गरेको बताए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवम् अर्पण सोकोसका अध्यक्ष मोहदत्त पौडेल ‘सुरज’ले सेवा शुभारम्भको अवसरमा आफूहरुले रक्तदानजस्तो पुनित कार्य गरेको र यसको लागि विभिन्न स्थानबाट गरिएको सहयोगका साथै रक्तदाता महानुभावले देखाएको उपस्थितिले आगामी दिनमा थप उल्लेख्य कार्य गर्न प्रेरित गरेको बताए ।

चितवन । चितवन उद्योग संघको अध्यक्षमा मदन घिमिरे निवार्चित भएका छन् । संघको १८ औँ अधिवेशनले घिमिरेलाई चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षहरुमा गजेन्द्र अधिकारी, ताराबहादुर कार्की, गोपालप्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, विशाल चापागाईं चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र गौतम, प्रतिभा श्रेष्ठ, अन्तोष बमजन, खिलप्रसाद घिमिरे, जीताराम महतो, रामहरि कँडेल, सुरेन्द्र कार्की, ओमकार कँडेल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले, शेषमणि भट्टराई, प्रकाश पौडेल, अनुजराज पन्त, दिपेश श्रेष्ठ, ई. प्रदीप पौडेल, सरिता खनाल पौडेल र भरत दवाडी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्षलाई गभर्निङ काउन्सिलका उपाध्यक्षबाट र नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई निवनिर्वाचित अध्यक्षले सपथ खुवाएका थिए ।
चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसको संयुक्तरुपमा आयोजित साधारण सभाको संघतर्फ चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले अध्यक्षको प्रतिवेदन, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभाग प्रमुख गजेन्द्र अधिकारीले आव ०८१-०८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, साकोसतर्फ चितवन औद्योगिक विकास साकोसका कार्यवाहक अध्यक्ष मदन घिमिरेले आव ०८१-०८२ को वार्षिक प्रगति प्रतिवेदन, सचिव सरिता खनाल पौडेलले आव ०८१-०८२ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष परमेश्वर भण्डारीले आव ०८१-०८२ को आर्थिक प्रतिवेदन तथा ०८२-०८३ को प्रस्तावित नीति कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका सदस्य दण्डपाणि भट्टले आव ०८१-०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघ तथा साकोसतर्फ प्रस्तुत गरिएका प्रतिवेदनमाथिर छलफल तथा अनुमोदनसमेत गरिएको थियो ।
रत्ननगर । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । यद्यपि, चितवनकी चेली दर्शना गान्धारीले पनि आफ्नो उत्कृष्ट प्रस्तुतिले दर्शकको मन जित्दै सेकेन्ड रनरअपको स्थान हासिल गरेकी छन् । दर्शकको भोटको आधारमा विजेता घोषणा गरिएको यस आइडलमा दर्शनाले ५ लाख रूपैयाँ नगदसहित विभिन्न उपहार प्राप्त गरिन् ।
विजेता गंगा सोनामले उपाधि ट्रफी, २५ लाख रूपैयाँ नगद र विभिन्न उपहार जितेकी छन् । फिनालेमा गंगासँगै दर्शना गान्धारी, अभिनय खाती (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम) र मृनल मानन्धर (काठमाडौँ) उपाधिका लागि प्रतिस्पर्धामा थिए ।
चितवनकी दर्शनाले आफ्नो सुमधुर स्वर र आत्मविश्वासपूर्ण प्रस्तुतिले प्रतियोगिताभर दर्शक र निर्णायकको प्रशंसा बटुलेकी थिइन् । उनलाई उपाधिका लागि बलियो दावेदार मानिएको थियो ।
योसँगै गंगा सोनाम नेपाल आइडलको दोस्रो महिला विजेता बनेकी छन् । यसअघि सिजन-३ मा सज्जा चौलागाईंले पहिलो महिला विजेताको इतिहास रचेकी थिइन् । चितवनकी दर्शनाले भविष्यमा थप अवसरहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ । उनको यो उपलब्धिले चितवनवासीलाई गर्वको अनुभूति गराएको छ ।
रत्ननगर । “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा झुवानी सामुदायिक पुस्तकालयले सार्वजनिक स्थल सरसफाइ गरेको छ ।
झुवानी सामुदायिक पुस्तकालयको प्राङ्गणमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष अनिल अर्यालले पुस्तकालय मात्र पुस्तक पढ्ने स्थल नभई समाजलाई सचेत बनाउने थलोको काम गर्ने भएकाले यस प्रकारका कार्यक्रमले पुस्तकालयप्रतिको आकर्षण र जिम्मेवारीलाई थप बल मिल्ने बताए ।
रत्ननगर नगरपालिका वडा नं–५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले पुस्तकालयको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सरसफाइ, ज्ञान र संस्कृतिको विकास पुस्तकालयसँग गाँसिएको भन्दै स्थानीय तहबाट पनि पुस्तकालयको स्तरवृद्धि र पुस्तकप्रतिको पहुँच विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पुस्तकालय परिसरवरिपरि सरसफाइ तथा दीप प्रज्वलन गरी दिवस मनाइएको थियो ।




