
काठमाडौँ । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये बिहीबार राति ८ः०० बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ । यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना र थुनुवा ५८ जना रहेका छन् ।
अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताए ।
आजै प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको छ । उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।
आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन्भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् ।
जेनजीका प्रतिनिधिहरु सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात सङ्कलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।
सेनाले पनि निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ ।
आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छभने आज साँझ ५ बजे ७ बजेसम्मका लागि पनि खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यू भने भदौ २६ गते बेलुकी ७ देखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।
काठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रुपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।
निषेधाज्ञा तथा कर्फ्यू समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।
उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् ।
यस्तै, आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ ।
उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा भएको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्तावेजहरूमा क्षति भएको जनाउँदै देशको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकामा गहिरो पीडा प्रकट गरिएको छ ।
“जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आमनागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
बैठकले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै विमानस्थलको उडान नियमितरुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।
विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।
निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।
‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।
विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।





