
काठमाडौँ । इमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । पत्रकार खरेलले सञ्चार माध्यममा २५ वर्ष बढी काम गरेको लामो अनुभव छ ।
उनले इमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसिट कार्यक्रमसमेत चलाउँदै आएका थिए ।
नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
भरतपुर । इच्छाकामना गाउँपालिका वडा नं–५, तुइनखोला मुग्लिन नारायणगढ सडकखण्डमा सडकमाथिबाट सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक हाल एकतर्फी सञ्चालनमा आएको छ ।
सो क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आइतबार रातको ९ः०० बजेदेखि सोमबार बिहान ५ः०० बजेसम्म सवारी आवागमन बन्द गरिएको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आइतबारदेखि सुरू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबारदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरू गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गरेका हुन् ।
उनले भने, “प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठ्यौँ, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।” जेनजी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको सरसफाइ गरेर सीमित कोठाबाट सेवा प्रवाह गरिएको उनले जानकारी दिए । योसँगै केही दिनभित्र राष्ट्रिय परिचयपत्रको कामसमेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
यसैबीच, सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले आगलागीबाट जिल्लाका सरकारी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्नुका साथै भवनहरूको अवस्थाबारे अध्ययन सुरू गरेको छ ।
जिल्लामा रहेका सरकारी कार्यालय कतिमा काम गर्न सक्ने अवस्था छ वा छैन भन्ने बारेमा जानकारी लिँदै यसको लागत सङ्कलन तयार पारिने कार्यालयका प्रमुख झपटबहादुर कार्कीले बताए ।
कार्यालयले अध्ययनसँगै प्रत्येक कार्यालयमा तीनवटा स्टिकर टाँस गर्नेछ । रातो, पहेँलो र हरियो रङका स्टिकर टाँस गरिने उनले बताए । रातो रङको स्टिकर टाँस गरिएको भवनमा काम गर्न नसकिने, पहेँलो टाँस गरिएका ठाउँमा मर्मत गरेर काम गर्नुपर्ने र हरियो टाँस गरिएका ठाउँमा काम गर्न सकिने भन्ने हुन्छ । उनले भने, “प्रदर्शनका क्रममा क्षति भएका भवनहरूको वास्तविक विवरण सङ्कलन गरेर विभागमा पठाइने छ ।”
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२० स्थित वडा कार्यालयअगाडि मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
भरतपुरबाट चनौलीतर्फ आउँदै गरेको ना २८ प ४१४४ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०६–००३ प ५३३३ नम्बरको स्कुटर ठोक्किँदा दुवै चालक र दुई पैदलयात्रीसमेत घाइते भएका छन् ।
दुर्घटनामा स्कुटर चालक भरतपुर–२० बस्ने १७ वर्षीय रञ्जितकुमार रामदान, मोटरसाइकल चालक लमजुङ घर भई हाल भरतपुर–२ बस्ने ३६ वर्षीय शुुकबहादुर क्षेत्री, पैदलयात्री तनहुँ घर भई हाल भरतपुर–२ बस्ने ३० वर्षीय नवराज भुजेल र पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय श्यामबहादुर भुजेल घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–३, चुम्लिङटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ग २१ प ९७५७ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०४६ प ७२८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ग २१ प ९७५७ नम्बरका मोटरसाइकल चालक गुल्मीको मुसिकोट–५ बस्ने २८ वर्षीय यादव गैरे र मोटरसाइकलपछाडि सवार तनहुँको व्यास नगरपालिका वडा नं–४ बस्ने २७ वर्षीया अस्मिता खनाल घाइते भएका हुन् ।
घाइतेहरुको इच्छाकामना ट्रमा सेन्टरमा उपचार भई थप उपचारको लागि पोखरा लगिएको रहेको र बागमती प्रदेश ०२–०४६ प ७२८७ नम्बरका मोटरसाइकल चालक तनहुँको व्यास व्यास नगरपालिका वडा नं–४ बस्ने ३१ वर्षीय विराट भट्टराई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




