२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

चितवन । दुर्घटनामा परी निधन भएका समाजसेवी राममणि न्यौपानेको आइतबार देवघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति उनी सवार बा १८ च ८९७३ नम्बरको को बोलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उनको निधन भएको थियो ।

कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय न्यौपाने खैरहनी नगरपालिका–४ निवासी थिए । न्यौपानेको आइतबार तीर्थस्थल देवघाटमा हिन्दू परम्पराअनुसार दाहासंस्कार गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा वागी उमेदवार रहेका थिए । उनी रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील थिए । खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । चार महिनाको अवधिमा रत्ननगरमा भएका कार्यसम्पादन, मूल्याङ्कन, सुशासन तथा सेवा प्रवाहका विषयमा नगरवासीहरुको सुझावका आधारमा भावी योजना निर्माणका लागि सार्वजनिक सुनुवाइ गरिएको हो ।

नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नगरपालिकाबाट चार महिनाको अवधिमा भएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिकाको दुईवटा प्रशासनिक भवन र १६ वटै वडा कार्यालयको पुनर्निमाणका लागि विशेष नगरसभा आह्वान् गरी पुनर्निमाण तथा व्यवस्थापन कोष निर्माण गरिएको बताए । उनले नगरपालिकाले प्रशासनिक र वडा कार्यालय भवनको पुनर्निमार्णको काम थालनी गरिसकेको बताए ।

आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । कुल बजेटमध्ये चालू खर्चतर्फ ८७ करोड र पुँजीगततर्फ ५५ करोड रुपैयाँ विनियोजित गरिएकोमा विशेष नगरसभाले चालू खर्चतर्फ रहेको पाँच करोड रुपैयाँ पुँजीगत खर्चमा सारेर पुनर्निमाणको काम सुरू गरेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

चालू आर्थिक वर्षको चार महिनामा साना ठूला गरी ६० वटा योजना निर्माणको लागि २४ करोडको ठेक्का भएको र ११ करोड रुपैयाँको योजनामा सम्झौतासमेत भइसकेको उनले जानकारी दिए । नगरवासीहरुले गौरव तथा ठूला योजना योजना अगाडि बढाउन जनप्रतिनिधिहरुलाई आग्रहसमेत गरेका छन् ।

सार्वजनिक सुनुवाइमा नगरवासीहरुले कृष्णसार स्थानान्तरण, वाटर किङ्डम, रतननगर हरियाली पार्क, सरसफाइ, लागूऔषध दुव्र्यसनी नियन्त्रण, विद्युत् आपूर्ति, फुटपाथ व्यवस्थापन, स्वास्थ्यसेवा, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र शिक्षा र स्वास्थ्यमा प्रश्न, गुनासो र सुझाव दिएका थिए ।

कार्यक्रममा पत्रकार तथा लेखक फणिन्द्रप्रसाद लामिछाने, सामुदायिक सडक सुरक्षा मञ्चका अध्यक्ष चन्द्रकान्त ओझा, अगुवा युवा दीपक थापा, रत्ननगर खानेपानी रत्ननगर–३ वडा समितिका संयोजक शम्भुभक्त थपलिया, नेता रुद्र गुरूङ, सौराहाका व्यवसायी गोकर्ण गिरी, टोल विकास संस्थाका अध्यक्षहरु अम्बिका पुरी, लक्ष्मीधर शर्मा, लक्ष्मी पौडेल, वेदप्रसाद पाण्डे, युवाहरु किरण श्रेष्ठ, दीपक पुरी, चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम महतो, उद्यमशील महिला समूहकी अध्यक्ष गीता सिंखडालगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, सुशासन तथा लागूऔषध दुव्र्यसनी नियन्त्रण केन्द्रित प्रश्न, गुनासो र सुझाव प्रस्तुत गरेका थिए ।

नगरवासीको प्रश्नको जवाफ दिँदै नगरप्रमुख सापकोटाले रत्ननगरलाई विकासको हिसाबले उचाइमा लैजानेगरी काम गरेको भन्दै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले लक्ष्यसम्म पुग्न कठिनाइ हुने देखिएको बताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको भन्दै रत्ननगरसहित पूर्वी चितवनका चारवटै पालिकाका अतिविपन्नको उपचारको लागि बकुलहर रत्ननगर अस्पताल र भरतपुर सरकारी अस्पतालमा मेडिकल कोष स्थापना गरेको बताए ।

‘पैसाको अभावमा कोही पनि उपचार र शिक्षाबाट वन्चित हुनुपर्दैन’, उनले भने, ‘उपचार गर्न नसक्नेको उपचार र आर्थिक अभाव भएर पढ्न नसकेकालाई स्थानीय सरकारले शिक्षा प्रदान गर्छ ।’

यस्तै, उपप्रमुख यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपुर्जा दिने विषय स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने बताए । रत्ननगरमा विवरण संकलन र जग्गा नापजाँचको काम भइसकेको भन्दै अब सुकुमबासी समस्या सामधान आयोगले लालपूर्जा वितरण गर्ने मात्र काम बाँकी रहेको बताए ।

कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. अङ्कुर पौडेल, नेपाल विद्युत् प्राधिकरण टाँडी वितरणकेन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सोभनविक्रम राणाले विषयगतरुपमा आएका प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रस्तुति मिडियाले सहजीकरण गरेको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, आमा समूहका प्रतिनिधि एवम् नगरवासीहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ । यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।

प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुई/दुई खेल खेलेका यी टोली चार/चार अङ्कसहित क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एक/एक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ । जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ ।

खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् । हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् ।

ब्याटिङमा विदेशी खेलाडी हावी

हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एक/एक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् ।

बलिङमा केसी अगाडि

हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् ।

मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चार/चार विकेट लिएका छन् । साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीन/तीन विकेट लिएका छन् ।

स्ट्राइक रेटमा जैब अब्बल

चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् ।

आलमको किफायती बलिङ

किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् ।

हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।

सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।

५९ पटक क्याच आउट

आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् । यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीन/तीन वटा क्याच लिएका छन् ।

विराटनगरको उच्च स्कोर

एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो । त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो ।

त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।