
काठमाडौँ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताए ।
आयोगको उक्त निर्णयपछि कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादर खड्काले आयोगको निर्णय आफूहरूको लागि मान्य नहुने भन्दै अदालत जाने प्रतिक्रिया दिए ।
यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।
आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।
भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरि हल्ला थियो । तर, चुनाव भयो ।”
राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ कि हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।
फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”
भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो ।
भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको रु १९ करोड ८९ लाख तथा महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको शान्तिज्योति तेक्वान्दो डोजाङको आयोजनामा शान्तिज्योति खुल्ला आमन्त्रण जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरू भएको छ ।
शान्तिज्योति युवा क्लबका अध्यक्ष अशोक भुसालको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले खेलले शरीरमा सकारात्मक ऊर्जाको सञ्चार हुने बताउँदै शान्तिज्योति तेक्वान्दोले गरेका कार्यको प्रशंसा गर्दै नगर सधैँ खेल र खेलाडीको प्रवर्द्धनमा तयार रहेको बताए ।
कार्यक्रममा रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, शहीद स्मृति बहुमुखी क्यामपसका अध्यक्ष उत्तम आचार्य, प्रशिक्षक रोशन खान, राम थापा, सिंहबहादुर लामा, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, जिल्ला तेक्वान्दो संघ चितवनका अध्यक्ष शैलेश श्रेष्ठ, रत्ननगर–३ का वडा सदस्य शिव खनाल, कार्यक्रमको आर्थिक संयोजक सुजन थापा, समाजसेवी उमेश गिरी, बलराम खनाललगायतको उपस्थिति रहेको थियो ।
यही माघ २ र ३ गते शहीद स्मृति बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने प्रतियोगितामा चितवन, नवलपुर र धादिङका ७०० बढी खेलाडीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सुरेश अधिकारीले बताए ।
रत्ननगर नगरपालिका संरक्षक र रत्ननगर–३ वडा कार्यालय विशेष सहयोगी रहेको उक्त प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार रुपैयाँ दोस्रो हुने टोलीले १० हजार रुपैयाँ र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्ने सहसंयोजक विष्णु अर्यालले बताए ।
चितवन जिल्ला तेक्वान्दो संघका जिल्ला अध्यक्ष शैलेश श्रेष्ठले आफू नेतृत्वमा आएसँगै जिल्लाको विभिन्न डोजाङसँग सहकार्य गर्ने उद्देश्यअनुरुप शान्तिज्योति तेक्वान्दो डोजाङसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा जिल्लाका अन्य डोजाङसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्ने बताए ।
प्रतियोगिताको एजुकेसन पार्टनरमा शहीद स्मृति बहुमुखी क्याम्पस, हस्पिटालिटी पार्टनरमा होटल भिस्टा चितवन र मिडिया पार्टनरमा विप्स मिडिया रहेको नेपाल तेक्वान्दो जिल्ला कार्यसमिति सदस्य अभिषेक गौतमले बताए ।




