
रत्ननगर । नेपाल चस्मा व्यवसायी संघ चितवनको आठौँ साधारण सभा तथा पारिवारिक वनभोज कार्यक्रम रत्ननगरस्थित टिकौली इको पार्कमा सम्पन्न भएको छ ।
साधारण सभाले भगवती घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको निवर्तमान अध्यक्षमा भाष्करचन्द्र न्यौपाने, उपाध्यक्षमा रामशरण अर्याल, सचिवमा शान्ता कँडेल, कोषाध्यक्षमा सरस्वती अर्याल न्यौपाने चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा सुवोध पौडेल, सरोज पौडेल, विनोद अधिकारी, इन्दिरा चापागाईं, सुस्मिता थापा, सुनिल कुँवर र जितेन्द्र श्रेष्ठ रहेका छन् । यस्तै, कानुनी सल्लाहकारमा महेशचन्द्र न्यौपाने, सल्लाहकारहरुमा हरि घिमिरे, रमेश घिमिरे र विनोद पाण्डे रहेका छन् ।
संस्थापक अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्र सहायक (ओए)का केन्द्रीय अध्यक्ष एवम् भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे, भरतपुर आँखा अस्पतालका ओपिडी इन्चार्ज नेत्र अधिकृत विनोद पाण्डेलगायतले चस्मा व्यवसायमा एकता कायम राख्दै सबैलाई समेटेर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।
२०७४ सालमा स्थापित नेपाल चस्मा व्यवसायी संघ चितवनमा आबद्ध २५ वटा चस्मा पसलले आजीवन सदस्यता लिएका छन् । संस्थाले व्यवसायीहरुको हकहित एवम् सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको कार्यसमिति सदस्य एवम् नमस्ते चस्मा घर सौराहाचोकका सुनिल कुँवरले जानकारी दिए ।
चितवन । आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा विभिन्न वडाहरुमा क्रियाशील भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
माघ १३ गते भरतपुरको वडा नम्बर १ रामनगर, वडा नं २ क्षेत्रपुर, १४ गते वडा नं १० क्षेत्रीय सचिवालय, वडा नं ११ र वडा नं १२ पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो ।
यस्तै, १५ गते भरतपुरको वडा नं ३, ४, ५ मा भेला सम्पन्न गरिएको छ भने १६ गते भरतपुर–७ कृष्णपुर, इच्छाकामना गाउँपालिकाका २, ३, ४, ५ र ६ वडामा भेला सम्पन्न गरिएको हो ।
भेलाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार मीनाकुमारी खरेललाई विजय गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको छ ।
यस्तै, आगामी दिनमा सञ्चालन गरिने चुनावी कार्यक्रम, प्रचार–प्रसार रणनीति तथा घरदैलो अभियानका विषयमा समेत छलफल भएको हो ।
सो कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं २ का कांग्रेस उमेदवार मीना खरेलले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन्।
उनले निर्वाचन जित्नका लागि पार्टीभित्र एकता, सक्रियता अपरिहार्य हुन्छ । यतिबेला कांग्रेस परिवर्तन भइसकेको छ, कांग्रेसमा भोट हाल्न जनता आतुर छन् । त्यसैले सबै एकजुट भएर लागौँ चुनाव अवश्य जितिन्छ ।
उक्त भेला तथा अन्तर्क्रिया कार्यक्रममा जिल्ला पार्टी सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठ, पूर्वसभापति विकास कोइराला, पार्टीका नेता मिलनबाबु श्रेष्ठ, ऋषिराज पाण्डे, मनोज रानाभाट, महिला सङ्घका अध्यक्ष पार्वती शाह ठकुरी, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी, पालिका अध्यक्ष, वडाध्यक्षलगायत पार्टीका क्रियाशील नेता-कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् ।
नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरित कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताए ।
कांग्रेसका नेता–कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले आफ्नो परिवारको भोट सम्हाल्दै गाउँ–टोलमा पुगेर आफ्ना उमेदवारका पक्षमा भोट माग्नुहोस् । तपाईंहरु दृढ संकल्पका साथ लाग्नुभयो भने सभापति गगन थापा प्रधानमन्त्री बन्नुहुनेछ ।’
उनले भने, ‘कसैलाई गालीगलौज नगर्नुहोस् । भीडले भोट आउने होइन, भोट गाउँबस्तीमा छ । कुनाकाप्चामा छ । मतदातासमक्ष पुग्नुहोस् ।’
आफूले ५० वर्षदेखि यही क्षेत्रमा जनताको दुःखसुखमा काम गर्दै आएको बताउँदै पार्टीले अन्तिमचोटि सम्मान गरेको र यसपटक विपक्षी पार्टीको पनि साथ र समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित भइसकेको र अब घोषणा गर्नमात्र बाँकी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा निर्वाचन संयोजक किरणभूषण ओलीले क्षेत्र नं १ मा आफ्ना जनप्रतिनिधिले गरेका विकासका कामहरु हेरेर पनि कांग्रेस उमेदवार बुर्लाकोटीलाई जनताले मत दिने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईंहरु तन, मन र धनका साथ संयमतापूर्वक समय दिएर स्वच्छ छवि बोकेका आफ्ना उमेदवारलाई जिताउन लाग्नुहोस् ।’
यस्तै, नेपाली कांग्रेस रत्ननगर नगरसभापति प्रलाद सापकोटाले राजेन्द्र बुर्लाकोटी आफ्नो जीवनमा कुनै काण्डमा नमुछिएको स्वच्छ छविका नेता भएको बताए । उमेदवार बुर्लाकोटीले सामाजिक र राजनीतिक योगदान दिएका र आफ्नै बलबुतामा सङ्घर्ष गर्दै व्यावसायिकरूपमा अगाडि बढेको उल्लेख गर्दै यसपटक हार्ने छूट नभएको बताउँदै सबैले आआफ्नो ठाउँबाट लागी पर्न आग्रह गरे ।
प्रदेश १ (ख) का सभापति गोविन्द गौतमले देशव्यापीरुपमा कांग्रेसका पक्षमा लहर छाएको बताउँदै ८० वर्षको इतिहास बोकेको कांग्रेस रुपान्तरणसँगै नयाँ दृष्टिकोण लिएर आएकाले तरुण र युवाहरुले मतभेद बिर्सेर चुनावी अभियानमा लाग्न आग्रह गरे । क्षेत्र नं १ को विकास र जनताको समस्या समाधान गर्न राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी नेतृ गीता देवकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उनले लोकतन्त्र र संविधानको संरक्षणमा आफू लागी पर्ने बताइन् ।
नेपाली कांग्रेस रत्ननगरका सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा नगरउपसभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा युवा सुजन क्षेत्रीको सक्रियतामा रत्ननगरका विभिन्न वडाबाट ६ दर्जन बढी युवा तथा जेनजी युवाहरु पार्टी प्रवेश गरेका थिए ।
चितवन । अँध्यारोमा हराउँदै गएका नाबालिकाको जीवनमा आशाको उज्यालो भर्ने अभियन्ता हुन्, समाजसेवी मीनाकुमारी खरेल ।
१२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखाभरि आँसु लिएर पहिलोपटक मीनाकुमारी खरेलको सामु पुगेकी थिइन् । उनी बोल्न सक्ने अवस्थामा थिइनन् ।
मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए । उमेरले सानी भए पनि उनले भोगेको पीडा शब्दमा बयान गर्न नसकिने खालको थियो । समाजको चिसो व्यवहार, डर, लज्जा र एक्लोपनले उनको बाल मनमा गहिरा घाउहरूले भरिएको थियो ।
त्यही कठिन क्षणमा उनले पहिलोपटक मीनाकुमारी खरेललाई भेटिन त्यसपछि आफूलाई सुरक्षित महसुस गरिन् । मीनाकुमारी खरेलले न त उनलाई प्रश्नको कठघरामा उभ्याइन्, न दोषी ठहर गरिन् । बरु ध्यानपूर्वक सुनेर सहानुभूति व्यक्त गरिन् । र, ‘तिमी गलत होइनौ’ भन्ने आत्मविश्वास दिलाइन् ।
आमाजस्तै बनेर काँपिरहेको हात समात्दै दिएको त्यो भरोसाले नाबालिकाको जीवनमा निर्णायक मोड ल्यायो । भत्किँदै गएको बालापनमा फेरि आत्मबल पलायो, फेरि बाँच्ने इच्छा जाग्यो । उचित संरक्षण, साथ र मार्गदर्शन पाएपछि उनको जीवनले नयाँ दिशा पायो । अहिले उनी आफ्नो जीवनमा सफल भइसकेकी छन् र नयाँ अध्याय सुरू गरिसकेकी छन् । अहिले तिनै बालिका परिपक्व भइसकेकी छन् । उनी भावुक हुँदै भन्छिन्, ‘मीना दिदी नहुनुभएको भए आज म यो संसारमै हुन्नथेँ ।’
यो कथा एउटी नाबालिकाको पीडाको कथा मात्र होइन; यो त्यो हातको कथा हो, जसले एक बेसहारा बालिकालाई उद्धार गरी सुरक्षित र सुधारिएको जीवनतर्फ डो¥यायो । यही मानवीय संवेदना, साहस र निरन्तर सामाजिक प्रतिबद्धताका कारण आज मीनाकुमारी खरेल हजारौँ महिला, बेसहारा र टुहुरा बालबालिकाको आशा, भरोसा र संरक्षणको प्रतीक बनेकी छन् ।
बालअधिकार, महिला सशक्तीकरण र पीडित संरक्षणका क्षेत्रमा उनको योगदान समाजका लागि प्रेरणादायी बनेको छ । अँध्यारोमा हराउँदै गरेका बालजीवनहरूका लागि उनी आज उज्यालो दीप बनेर उभिएकी छन् ।
उनी सानैदेखि राजनीतिलाई बुझेर सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पात्र हुन् । हाल उनी नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ को उमेदवार बनेकी छन् । उनले लामो समयदेखि समाजमा गरेको योगदानका कारण सबैको मन मुटुमा बस्न सफल भएकी छन् ।
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् ।
सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए पनि एकअर्कामा सौहार्द सम्बन्ध नटुट्नेसमेत उनीहरुले बताए ।
सहिद बलराम कँडेलको सालिकमा माल्यार्पण गर्न दुवै उमेदवार सहभागी भएका थिए । नेपाली कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले निर्वाचनको मैदानमा दुवै आए पनि एकअर्काबीच राम्रो सम्बन्ध भएको बताए । उनले जीत–हार जस्तो परिणाम आए पनि दावादोर्जे लामासँगको सम्बन्ध नबिग्रिने र स्थानीयस्तरमा मिलेर काम गर्ने बताए ।
नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले पनि आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने बताए । ६ महिनाअघि नै आफूहरुबीच चुनाव लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै दुई जनाले गरेको चर्चा सम्झिँदै लामाले भने, ‘तपाईंको वचन पूरा भो । उहाँले जित्नुभयो भने पनि फूलमाला लगाएर मजाले स्वीकार गर्छु, जनताले मलाई जिताए भने उहाँले त्यही गर्नुहुन्छ । हामी मिलेर अगाडि बढ्छौँ, प्रतिस्पर्धा गर्छौँ ।’
उनीहरू दुवै जनाले आफ्नो उमेदवारी लोकतन्त्र जोगाउने अभियानको लागि भएको भन्दै एकढिका भएर लोकतन्त्र जोगाउन र स्थानीय विकास, नीति निर्माणमा लाग्ने दाबीसमेत गरे ।
सहिद बलराम कँडेलका जेठा दाजु गोविन्द कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया प्रमुखअतिथि र अर्का केन्द्रीय सदस्य प्रभा बराल विशिष्टअतिथि रहेका थिए ।
क्ेन्द्रीय सदस्य थपलियाले सहिदको सपना पूरा गर्न पुरानो पार्टीबाट मात्र सम्भव रहेको उल्लेख गर्दै नयाँ भनिएकाहरुले लोकतन्त्र, गणतन्त्र धरापमा पार्ने र देश विदेशीको जालोमा पार्ने बताए । ‘त्यो षड्यन्त्रलाई कांग्रेस–एमाले एक ठाउँमा उभिन आवश्यक छ’, थपलियाले भने, ‘सिंहदरबार, सर्वोच्च अदालत जलाउनेले देश कुन अवस्थामा पु¥याऊलान् यसमा जनता सचेत बन्नुपर्छ ।’




