रत्ननगर । रत्ननगर-१० मा रहेको श्री सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कालिका नगरपालिकाका नगरप्रमुख एवम् सहकारीका संस्थापक अध्यक्ष विनोद रेग्मीले औपचारिक कार्यक्रमबीच गरेका थिए ।
साधारण सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष धर्मध्वज लम्सालले आर्थिक कारोबारसँगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व र संस्थागत विकासलाई प्राथमिकतामा राखेर योजना बनाइने बताए । गत वर्षको घाटालाई परिपूर्ति गर्दै यस वर्ष संस्थाले नाफा आर्जन गरेको भन्दै उनले सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सबिता आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लीलानाथ अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । गत वर्ष २ लाखभन्दा बढी घाटा व्यहोरेको सहकारीले यस आर्थिक वर्षमा २० लाख ८५ हजार ९८७ रुपैयाँ नाफा आर्जन गरेको र गत वर्षको घाटा परिपूर्ति गरी १८ लाख ५१ हजार ६२२ रुपैयाँ खुद नाफा गरेको अर्यालले बताए ।
संस्थाको शेयर पुँजी ८९ लाख ७९ हजार २०० रुपैयाँ र बचत २ करोड ३ लाख ६० हजार ४११ रुपैयाँ रहेको सचिव अनिता अर्यालले जानकारी दिइन् । यस वर्ष संस्थाको कुल खर्च ४५ लाख ५९ हजार रुपैयाँ भएको उनले बताइन् ।
सो अवसरमा प्रमुखअतिथि नगरप्रमुख रेग्मीले सहकारीले विधि, नियम र कानुनको पालना गरी कार्य गर्नुपर्नेमा जोड दिए । उनले आर्थिकरूपमा कमजोर शेयर सदस्यहरूको पहिचान गरी उनीहरूमा लगानी गर्न र सहकारीको विकासका लागि शेयर सदस्यहरूले पनि मेहनत गर्नुपर्ने बताए ।






