खाडी छोडेर नेपाल मै मालामाल , गर्यो भने के सम्भव छैन र हाम्रो नेपाल मा आफ्नै देश मा सुन फल्छ सम्मान स्वरूप एक लाईक गरौ

जीवन चलाउन केही न केही काम गर्नै पर्छ । आम्दानीको बाटोले नै जीवनको बाटो तय गर्ने हो । यही जीवनको बाटो तय गर्न कसैले जागिर गर्छन् त कसैले आफ्नै व्यवसाय गर्छन् ।

कसैले सरकारी जागिर गर्छन् भने कसैले प्राइभेट । कोही भने कुनै पेशामा सन्तुष्ट हुन सक्दैनन् र अन्त्यमा आएर आफ्नै व्यवसाय गर्न थाल्छन् । आफ्नै व्यवसायमा रमाउनेमध्येमा पर्नुहुन्छ, रामेछापका नारायण कार्की ।

खाँडादेवी गाउँपालिका, ६ का नारायण कार्कीको जन्म २०४१ सालमा भयो । १२ कक्षासम्मको अध्ययन गर्नुभएका कार्कीसँग जागिरका फरक–फरक अनुभव छन् । शिक्षण, सेना र वैदेशिक रोजगारीको अनुभव लिइसक्नुभएका नारायण अहिले आफ्नै व्यवसायमा रमाउनुभएको छ ।

विद्यालय तहमा विज्ञान र गणित विषयमा अब्बल भएकाले कार्कीलाई १२ कक्षा पास गर्नेबित्तिकै काम गर्ने अवसर मिल्यो । गाउँकै विष्णु जनज्योती माध्यमिक विद्यालयमा शिक्षणका लागि उहाँलाई बोलाइयो ।

गाउँमै जागिर मिलेपछि नगर्ने कुरा पनि भएन । उहाँले त्यहाँ २ वर्षसम्म अध्यापन गराउनुभयो । तर उहाँले अध्यापनलाई धेरै समय दिन सक्नुभएन । राम्रै अवसर पाउँदा पनि आफू शिक्षण पेशामा टिक्न नसकेको उहाँ बताउनुहुन्छ ।

‘मलाई प्रधानाध्यापक सम्म हुने मौका मिलेको थियो, तर मैले शिक्षण पेशामा चित्त बुझाउनै सकिन’, उहाँले भन्नुभयो, ‘अस्थयी जागिर, त्यो पनि न्यूनतम तलबले जीवन नचल्ने देखेपछि मैले काम छोडिदिएँ ।’

शिक्षण पेशा छोडेपछि उहाँले नेपाली सेनाको जागिर खाने सोच गर्नुभयो । त्यतिबेला १२ कक्षा पढ्नुभएका त्यसैमाथि फूर्तिला तन्दुरुस्त कार्की सेनामा सजिलै भर्ति हुनुभयो ।

सानै उमेरदेखि भलिबल खेल्ने भएकोले नेपाली सेनामा पनि भलिबल खेल्ने अवसर मिल्यो । उहाँले नेपाली सेनामा खेलकुदको राम्रो प्रतिनिधित्व गर्नुभयो । ७ वर्ष नेपाली सेनामा रहेर उहाँले धेरै खेलहरु खेल्नुभयो । थुप्रै खेल प्रतियोगिता जित्नु पनि भयो ।

तर सेनाको जागिरले पनि नारायणको रहर मेटाउन सकेन । मन स्थिर बनेन ।

‘त्यतिबेला तलब जम्मा सात हजार मात्र थियो’, उहाँ भन्नुहुन्छ, ‘त्यति पैसा त महिना दिनसम्म पनि चल्थेन ।’

यही कुराले उहाँलाई जागिरप्रतिको सन्तुष्टि मिलेन । तलब कम थियो । त्यही भएर उहाँले रिक्सा किन्नुभयो र चलाउनको लागि अरुलाई दिनुभयो । चलाएबापत दैनिक भाडा उठ्थ्यो रिक्साको । त्यो जागिरले पनि सन्तुष्ट हुन सक्नुभएन ।

सरकारी जागिरले आर्थिक समृद्धि गर्न सकिंदैन भन्ने लागेपछि उहाँले सेनाको जागिर पनि छोड्नुभयो र वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभयो । वैदेशिक रोजगारीकै क्रममा उहाँले मलेशिया र कतारमा गरी चार वर्ष बिताउनुभयो । नेपाली सेना भएका कारणले पनि नारायणले विदेशमा सुरक्षा गार्डको राम्रो काम पाउनुभयो ।

तर उहाँलाई लामो समयसम्म विदेशमै बसिरहन मन थिएन । ‘आफूसँग केही पैसा जम्मा भएपछि आफ्नै देशमा कुनै व्यवसाय गर्ने सोच थियो, त्यही भएर धेरै समय नबसेरै म नेपाल फर्किएँ’, उहाँले भन्नुभयो ।

आफ्नै व्यवसायमा सन्तुष्टी
नेपाल फर्किनेबित्तिकै उहाँ आफ्नै व्यवसाय सुरु गर्नतिर लाग्नुभयो । २० लाखको लागतमा भक्तपुरको सूर्यबिनायक–१०, चित्तपोलमा नासिका खाँडादेबी नमूना कृषिफर्म सञ्चालन गर्नुभएको छ । फर्ममा चारओटा जर्सी गाई छन् । चारओटा गाईबाट दैनिक १६ लिटर दूध बेच्ने गरेको उहाँ बताउनुहुन्छ ।

यति मात्र होइन, उहाँले कृषि फर्मसँगै नासिका खाँडादेबी होटल,मासुपसल, किरानापसल पनि चलाइरहनुभएको छ ।

५ जनालाई रोजगारी दिएर पनि महिनाको एक लाख कमाइ हुने गरेको उहाँको भनाइ छ । उहाँ व्यवसायलाई अझै विस्तार गर्ने सोचमा हुनुहुन्छ तर सस्तो ब्याजदरमा ऋण नपाउँदा अप्ठ्यारो भएकोे उहाँको गुनासो छ ।

‘सस्तो व्याजदरको ऋण लिन र अनुदानको लागि धेरै सरकारी निकायमा भौंतारिंदा पनि नसुनेको र विभिन्न धितो बन्धकको कुरा गरेपछि १८ प्रतिशतको व्याजदरमा ऋण काढ्नुपर्यो’, सम्बन्धित निकायप्रति उहाँ असन्तुष्टि व्यक्त गर्नुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *