
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको मतविभाजनमा उनको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाएका हुन् । योसँगै मुख्यमन्त्री लामाविरूद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । उनीविरूद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य छन् ।
राजीनामा दिन्नँ : मुख्यमन्त्री लामा
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।
बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफूविरूद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुनपर्ने र नदिने बताए ।
“संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” उनले भने, “सरकार एउटा पाटो हो, संसदीय दल अर्काे पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।” आफूविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरू हुने उनले बताए ।
मन्त्री खड्काद्वारा राजीनामा
त्यस्तै, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री श्यामबहादुर खड्काले सोमबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई उनले राजीनामा बुझाएका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका थिए ।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए ।
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न रु ३० लाख हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक रु पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उनले बताए ।
सूचना अधिकारी थापामगरले भने, “गत आर्थिक वर्षमा बाघका लागि रु २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाखभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।
“खोरमा थप बाघ राख्ने ठाउँ छैन”, सूचना अधिकारी थापामगरले भने । राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, सेन्टर पार्क होटलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका छन् ।
टाँडीबाट बछौली चोकतर्फ जाँदै गरेको बा ८२ प ८३७० नम्बरको मोटरसाइकलको ठक्करबाट बाटोमा हिँडिरहेको अवस्थामा रत्ननगर–७ बस्ने शिव चौधरीका ७ वर्षीय छोरी ऋतितिथि चौधरी घाइते भएकी हुन् ।
घाइते बालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको छ भने उपचारमा निजका बुवा संलग्न रहेका छन् । मोटरसाइकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, चौधकिलोस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–११ बस्ने सागर कुमालको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका भरतपुर–१४ घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने ४७ वर्षीय कविराज विश्वकर्माको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आफन्त दीपेन्द्र विक संलग्न रहेका छन् ।
दुवै सवारीसाधन र ट्याङ्कर चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा ऊर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी तीनदिने तालिम सुरू भएको छ । रत्ननगर नगरपालिका र बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (विन) परियोजनाको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिमको रत्ननगरका उपमेयर यादवप्रसाद पाठकले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित गर्ने गरी ऊर्जा खपत कम हुने खालको भवन डिजाइन गर्नुपर्ने बताए । इन्जिनियरहरुको पनि क्षमता विकास आवश्यक रहेको भन्दै भवन निर्माण आचारसंहिताको पूर्णरुपमा पालन गरी ऊर्जा प्रभावकारी भवन निर्माणको नक्सा डिजाइन गर्नुपर्ने उनले बताए ।
परियोजनाकी आर्किटेक संगीता थापामगरले बनेको भवनमा मान्छे आरामले बस्न सक्ने गरी ऊर्जा प्रभावकारी भवन निर्माणका लागि परियोजनाले काम गरिरहेको बताइन् ।
चितवनसहित ६० वटा पालिकामा परियोजनाले काम गरिरहेको भन्दै ३४ वटा पालिकाले कार्यविधि बनाएर काम सुरू गरिसकेको उनले बताइन् । ऊर्जा प्रभावकारी भवन र अन्य भवनमा १० देखि ११ डिग्रीसम्मको तापक्रम अन्तर हुने भन्दै वायुमण्डलमा ३८ डिग्री तापक्रम हुँदा ऊर्जा प्रभावकारी भवनमा ३२ डिग्री तापक्रम हुने उनको भनाइ छ ।
ऊर्जा प्रभावकारी भवन निर्माणका लागि परियोजनाले भवनको नक्सा डिजाइन गर्ने इन्जिनियरको क्षमता विकासका लागि तालिम, समुदायमा सचेतना, वित्तीय संस्थाका प्रतिनिधिहरुलाई पुँजीगत लागत र नीतिगत व्यवस्थाका विषयमा काम गरिरहेको आर्किटेक थापामगरले बताइन् ।
तीन दिनको अवधिमा तालिममा सहभागी इन्जिनियरहरुलाई ऊर्जा प्रभावकारी भवन निर्माणका लागि प्राविधिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने छ ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले अब बन्ने भवन संस्थागत र व्यावसायिक हुनुपर्ने बताए । भवन निर्माण आचारसंहिताको पालना गर्दै सरकारी तथा निजीस्तरमा काम गरिरहेका इन्जिनियरहरुले ऊर्जा खपत कम हुने गरी भवनको डिजाइन गर्न आवश्यक रहेको उनले बताए ।
परियोजनाका इन्जिनियर गेहेन्द्र आचार्यले चितवनमा वायुमण्डलको तापक्रम बढ्दै गएको अवस्थामा ऊर्जा प्रभावकारी भवनको मह¤व अझै बढ्ने बताए ।
४० जना सहभागी तालिममा परियोजनाकी आर्किटेक थापामगर, प्रशिक्षक इन्जिनियर निसर्ज कुँवर र इन्जिनियर गेहेन्द्र आचार्यले सहजीकरण गरेका छन् ।
उद्घाटन कार्यक्रममा वडा नं–७ का वडाध्यक्ष सजन महतोसहित सरकारी तथा निजी संस्था सञ्चालक इन्जिनियरहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ — हिन्दू धर्मावलम्बीहरूले आज देशभर श्रद्धा र भक्तिका साथ नाग पञ्चमी पर्व मनाइरहेका छन्। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताको पूजा अर्चना गरिन्छ।
काठमाडौँ उपत्यकाका प्रसिद्ध नागस्थानहरू जस्तै टौदह, नागपोखरी, नागदह, सन्तानेश्वर महादेव, विष्णुमती नदी किनार तथा अन्य विभिन्न नागस्थलमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। नाग पूजा गरी दूध, दुबो, अक्षता, लावा र फूल चढाएर सर्पदेवताको कृपा प्राप्त गर्ने विश्वास रहिआएको छ।
यस दिन विशेषगरी महिलाहरू सन्तान सुख, दीर्घायु तथा परिवारको सुरक्षाका लागि व्रत बस्ने गर्छन्। पुराणअनुसार, आजकै दिन महर्षि आस्तिकले जनमेजयको सर्पयज्ञ रोक्दै नागवंशलाई विनाश हुनबाट जोगाएका थिए। त्यसैको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
नाग पञ्चमीका दिन घरका ढोकामा पाँच थरी नागका चित्र बनाइन्छन् वा प्रिन्ट गरिएका नाग तस्बिरहरू टाँसिन्छ। यसो गर्दा सर्पले घर प्रवेश गर्दैन भन्ने जनविश्वास छ। विभिन्न ठाउँमा नागमूर्ति स्थापना गरी पूजाआजा गरी दूध, खीर, लड्डुजस्ता परिकार चढाइन्छ।





