
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ‘स्तनपानलाई प्राथमिकता दिऔँ : सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ ३३औँ विश्व स्तनपान सप्ताह रत्ननगर–१६ स्थित पिठुवा स्वास्थ्यचौकीमा सुरू भएको छ ।
रत्ननगर–१६ का वडाध्यक्ष एवम् स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हेमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेल, नर्सिङ अधिकृत अम्बिका पौडेल, विद्यालय नर्स वन्दना सापकोटा, सिअनमी अधिकृत गीता रायमाझीले स्तनपानको मह¤वका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनुपर्ने र दूधको प्रतिस्थापनमा बजारमा पाइने प्याकेट र बट्टाको दूध पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने बताइएको थियो ।
पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै वडाध्यक्ष थापाले रत्ननगर नगरपालिकाले गर्भावस्थादेखि नै स्वास्थ्यसेवा प्रदान आएको र कुनै पनि नागरिकको उपचार नपाएका कारण ज्यान जाने स्थिति नरहेको बताए ।
उनले ज्यान बिग्रन्छ भनेर स्तनपान गराउनु हुँदैन भन्ने भ्रमबाट मुक्त हुन जरूरी रहेको बताउँदै पिठुवा स्वास्थ्यचौकीमा स्तनपान कक्ष स्थापना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा सदस्य चीजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरूङ, रिता विक, वडा सचिव मञ्जु पौडेल, स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, गर्भवती तथा सुत्केरी आमाहरु र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।
रत्ननगर । सामुदायिक सडक सुरक्षा मञ्च, कालिकाको आयोजना एवम् सेफट्रिप नेपालको सहयोगमा सडक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम कालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सामुदायिक सडक सुरक्षा मञ्च कालिकाका अध्यक्ष रवि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सडक दुर्घटना विश्वको टाउको दुखाइको विषय बन्दै गएको बताए ।
कालिका नगरपालिका सडक सुरक्षाका दृष्टिले थप जोखिममा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि डा. रामहरि सुवेदीको पहलमा कालिका वडा नं–४ बाट स्टप साइन, जिपिएस सिस्टम र हाउस नम्बरिङजस्ता प्रविधिको थालनी गरिएको जानकारी दिए ।
उनले आधारभूत तहको पाठ्यक्रममा ट्राफिक सचेतनासम्बन्धी सामग्री समेटिएको र आगामी दिनमा कक्षा ९ र १० को पाठ्यक्रममा सडक सुरक्षासम्बन्धी विषय समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि चितवनका सातवटै पालिकासँग अन्तक्र्रिया गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । उनले संघीय र प्रदेश सरकारसँग कानुन नबाझिने गरी दीर्घकालीन प्रभाव पार्ने किसिमले छिमेकी रत्ननगर नगरपालिकासँग सहकार्य गरेर कार्यविधि पारित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सेफट्रिप नेपालका व्यवस्थापक पुष्पराज भट्ट, प्रेरिता जोशी, कुष्ठरोग महाशाखा प्रमुख डा. रवीन्द्र सापकोटा, कालिका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजेश कोइराला, नगरप्रवक्ता कालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेल र कालिका–६ का वडाध्यक्ष टीकाराम रेग्मीले आआफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा सेफट्रिप नेपालका केन्द्रीय संयोजक वरिष्ठ सडक इन्जिनियर सुवास ढुङ्गेलले निर्माणाधीन कार्यविधिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै विभिन्न मापदण्डको आधारमा नमुनाका रुपमा देशभर आठ पालिकालाई छनोट गरिएको र त्यसमध्ये चितवनमा रत्ननगर नगरपालिका र कालिका नगरपालिका रहेको उल्लेख गरे ।
सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य मेनुका थापाले स्वागत तथा सचिव एवम् कार्यपालिका सदस्य ज्योति सुनारले सञ्चालन गरेको कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।
रत्ननगर । सामुदायिक सडक सुरक्षा मञ्च, रत्ननगर नगरपालिकाको आयोजना एवम् सेफट्रिप नेपालको सहयोगमा सडक सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सामुदायिक सडक सुरक्षा मञ्च रत्ननगरका अध्यक्ष चन्द्रकान्त ओझाको सभापतित्वमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले पछिल्लो समय सडक दुर्घटना बढिरहेको र यसको रोकथामका लागि रत्ननगर नगरपालिकामा कार्यविधि बनाउन लागिएको बताए ।
प्रमुखअतिथि सुवेदीले सेफट्रिप नेपालबाट आवश्यक टुल्स किटहरु सहयोग लिई स्थानीय सडक सुरक्षा समिति निर्माणका लागि कार्यविधिको मस्यौदामाथि व्यापक छलफल गरी कार्यपालिका बैठकबाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सेफट्रिप नेपालका केन्द्रीय संयोजक वरिष्ठ सडक इन्जिनियर सुवास ढुङ्गेलले निर्माणाधीन कार्यविधिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै विभिन्न मापदण्डको आधारमा नमुनाका रुपमा देशभर आठ पालिकालाई छनोट गरिएको र त्यसमा पहिलो रत्ननगर नगरपालिका रहेको उल्लेख गरे ।
कार्यक्रममा कार्यविधिको औचित्यमाथि प्रकाश पार्दै सेफट्रिप नेपालका व्यवस्थापक पुष्पराज भट्टले विश्वमा मृत्यु हुनेको कारणमध्ये सडक दुर्घटना आठौँ स्थान रहेको र नेपालका आठ पालिकामा स्थानीय सडक सुरक्षा समिति निर्माणका लागि विगत दुई वर्षदेखि चरणवद्ध छलफल गर्दै आएको बताए ।
सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य कमलनाथ अधिकारीले स्वागत तथा सचिव जीवनलाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर नगरपालिका विधायन समिति संयोजक वीरेन्द्रकुमार चौधरीले मस्यौदामा टिप्पणी तथा सुझाव प्रस्तुत गर्दै कार्यपालिका बैठकमा मस्यौदा पेस गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्क्रियामा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, न्यायिक समितिका सदस्य, वडा सदस्यहरु, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।





