२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं-५ का ज्येष्ठ नागरिकहरुलाई शुक्रबार पौष्टिक आहार, सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

वडा कार्यालयसँगको सहकार्यमा सिर्जनशील सामुदायिक सिकाइ केन्द्रले ७५ वर्षमाथिका १४१ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहार, सम्मान तथा स्वास्थ्य परीक्षण गरेको हो । नगर स्वास्थ्यकेन्द्र टरौलीमा आयोजित कार्यक्रममा वडाध्यक्ष बालकृष्ण चापागाईं, केन्द्रका अध्यक्ष मीनप्रसाद सापकोटा र वडा सदस्य निलु शर्मा खतिवडाले पौष्टिक आहार वितरण तथा सम्मान गरिएका थिए । सम्मानित ज्येष्ठ नागरिकलाई नगर स्वास्थ्यकेन्द्रमा स्वास्थ्य परीक्षण गरी औषधिसमेत प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष चापागाईंले वडा कार्यालयले ज्येष्ठ नागरिकलक्षित कार्यक्रम सञ्चालन गरिरहेको भन्दै निःशुल्क एम्बुलेन्स, ३२ प्रकारका रोगको निःशुल्क परीक्षण गर्दै औषधिसमेत प्रदान गर्दै आएको बताए ।

उनले ज्येष्ठ नागरिकको आर्शीवादले वडाको विकास र नागरिकको जीवनस्तर उकास्ने काम गर्ने ऊर्जा थपिएको बताए ।

केन्द्रका सदस्य बद्रिप्रसाद रिजालले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रम केन्द्रकी कर्मचारी रविता चौधरीले सञ्चालन गरेकी थिइन् । नगर स्वास्थ्यकेन्द्रमा आउन नसकेका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर पौष्टिक आहार, सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।

चितवन । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ ।

एक्सपर्टले आफ्नो गरिमामय २२औँ वार्षिकोत्सवको अवसरमा २५ हजार १११ रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरेको हो । वार्षिकोत्सव समारोहका प्रमुखअतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारीले पत्रकार अधिकारीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुस्कार ग्रहण गर्दै पत्रकार अधिकारीले यो पुरस्कारले पत्रकारितामा जिम्मेवारीको भारी थपिएको बताइन् । उनले सम्मानका लागि एक्सपर्टलाई धन्यवाद दिँदै पत्रकारितामा थप क्रियाशिलता बढाउने प्रतिबद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष आचार्यले शैक्षिक परामर्श संस्थाले पत्रकारहरुको योगदानलाई कदर गर्दै पुरस्कार स्थापना गर्नु सकारात्मक रहेको बताए । उनले यस्ता सम्मानले पत्रकारहरुलाई थप जिम्मेवार र क्रियाशिलता देखाउन पनि प्रोत्साहन मिल्ने बताए । उनले पछिल्लो समय मिडिया क्षेत्र नै संकटमा पर्दै गइरहेको भन्दै पत्रकारहरु पनि जोखिमपूर्ण रहेको अवस्थामा रहेको बताए ।

कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले शैक्षिक परामर्श क्षेत्रमा एक्सपर्टले सराहनीय काम गरेको भन्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकोमा धन्यवाद दिए । उनले कुनै पनि विद्यार्थी दुःख नपाउने वातावरण बनाउनमा सबै सजग हुनुपर्ने बताउँदै एक्सपर्टले नेपालका विश्वविद्यालयहरुमा पनि बाहिरका विद्यार्थीलाई आकर्षित बढाउन जोड दिए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न एक्सपर्टले पुरस्कार स्थापना गरेकोमा धन्यवाद दिए । उनले शैक्षिक परामर्श दिने संस्थाहरु वैधानिकरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले सबैको साथ र सहयोगबाट एक्सपर्ट यो स्थान आइपुगेको भन्दै सबैमा धन्यवाद दिए । उनले पत्रकारिता क्षेत्रलाई हौसला दिन नै पुरस्कार स्थापना गरिएको भन्दै पछिल्लो समय साहित्यिक क्षेत्रलाई पनि प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको बताए ।

कार्यक्रममा भरतपुर हाइट टोलविकास संस्थाका संस्थापक अध्यक्ष शिवराज गिरी, एक्सपर्ट प्रेप चितवनका प्रिन्सिपल प्रचण्ड हमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको आधारभूत तह उत्तीर्ण परीक्षा–२०८१ मा कक्षा ८ बाट प्रथम हुन सफल कविलास मावि, भरतपुर–२९ की कक्षा ९ अध्ययनरत विद्यार्थी सुजिता गुरुङलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै समद्घाटन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रत्ननगर । न्यू क्यापिटल कलेज, रत्ननगरले हरितालिका तीज र आफ्नो रजत जयन्तीको अवसरमा “नारी चेतना र तीज : शिक्षाले देखाएको उज्यालो बाटो” विषयक तीज गीत -नाच प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पूर्वी चितवनस्तरीय प्रतियोगिता आगामी भदौ ६ गते बिहान १०ः०० बजे कलेज प्राङ्गणमा हुन लागेको क्याम्पस प्रमुख भूपेन्द्र धितालले जानकारी दिए । यस कार्यक्रमले तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै नारी चेतनालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको उनले बताए ।

क्याम्पस प्रमुख धितालका अनुसार प्रतियोगितामा सहभागी समूहले अधिकतम ७ जनाको टोलीमा १० मिनेटभित्र मौलिक पोसाक, गीत र नृत्य प्रस्तुत गर्नुपर्नेछ । गीतमा राजनीतिक वा व्यक्तिगत आक्षेप समावेश गरिए त्यस्तो समूहलाई अयोग्य मानिने नियम बनाइएको छ । आयोजकले वाद्यवादनको व्यवस्था गर्नेछ भने मूल्याङ्कन गीत, प्रस्तुति, मौलिकता, लय, भाव र अनुशासनका आधारमा गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः १७ हजार, १३ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । क्याम्पस प्रमुख धितालले इच्छुक महिला, दिदीबहिनी तथा आमा समूहलाई साउन ३० गतेसम्म कलेजमा टोली दर्ता गराइसक्न अनुरोध गरेका छन्।

कार्यक्रममा तीज गीत-नाचसँगै दर खाने व्यवस्थासमेत गरिएको छ, जसले सहभागीहरूलाई सांस्कृतिक उत्सवको रमझममा रम्ने अवसर प्रदान गर्नेछ। यो कार्यक्रम आयोजनाले तीजको परम्परागत उत्साहलाई जीवन्त राख्दै शिक्षाको माध्यमबाट नारी सशक्तीकरण र चेतनाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको २१ दिनमा सो संख्यामा डेंगुको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार ९५० जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २० जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । भरतपुर महानगरपालिकाका आठ, रत्ननगर नगरपालिकाका छ तथा खैरहनी र कालिका नगरपालिकाका तीन–तीन जनामा डेंगुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमा नौ पुरुष र ११ महिला रहेका उनले जानकारी दिइन् ।

वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेंगुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन ।

४० जनामा स्क्रब टाइफस

सोही अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । प्रमुख पोखरेलका अनुसार सङ्क्रमितमध्ये ३१ जना चितवनका हुन भने नौ जना जिल्ला बाहिरका छन् । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ ।

यो रोग मानिसबाट मानिसमा सर्दैन । कार्यालय प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट सर्छ । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रण गर्न खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भूइँमा सुत्न वा बस्न नहुने उनले जानकारी दिए ।

रोग लागेका व्यक्तिलाई उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी) आउने, अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्ग प्रभावित हुने, तथा कीराले टोकेको ठाउँमा रातो दाग देखिने तथा पछि कालो दाग बस्छ ।

चितवन । नेपाली चलचित्र `सावन´को शुभ मुहूर्त गरिएको छ । रत्ननगर-१, निपनीस्थित श्री गायत्री हरिहर मन्दिरमा सो चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

सो चलचित्रमा कपिल मगर, आइसा गौतम र विनिशा शर्मा आचार्यको मुख्य अभिनय रहेको छ। त्यस्तै,लक्ष्मण नेपाल, कृष्ण थापा, मुस्कान काप्री, पुजन लामिछाने, विजय चपाईं, गोमा रिजाल, शोभा पाण्डेलगायतको अभिनय रहेको छ।

गोज्बम्स फिल्मसको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार कपिल मगरले निर्माण गर्ने भएका हुन् । यसअघि मगरले लिलि र चितवन डायरिज चलचित्रमा काम गरेका छन् ।

कलाकार मगर विगत पाँच वर्षअघिदेखि चलचित्र तथा म्युजिक भिडियो निर्माणमा सक्रिय रहँदै आएका छन् । चलचित्रलाई आभाष रानाले निर्देशन गरेका हुन् । रेहान मियाको कथा तथा संवाद रहेको सो चलचित्रमा विजय चपाईं र रवि कोइरालाको छायाङ्कन रहनेछ ।

चलचित्रको चितवनमा विभिन्न रमणीय स्थान मायाटार, दियालो बंगला, माडी, सौराहा, गोलाघाटलगायतका क्षेत्रमा छायाङ्कन गरिनेछ । आशिक प्रजापतिको सङ्गीत रहेको उक्त चलचित्रलाई रेहान मियाँले सम्पादन गरेका हुन् ।

युवायुवतीको संघर्ष र सफलताको कथालाई आधार बनाएर निर्माण हुन लागेको सो चलचित्रको छायाङ्कन साउन अन्तिम साताबाट हुने निर्माण पक्षले बताएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।