२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कालिका । कालिका नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा १२ कक्षा उत्तीर्ण भएका १३९ जना विद्यार्थीलाई सम्मान कार्यक्रम गरेको छ ।

यसवर्ष कालिका नगरपालिकाले नगरभित्रबाट १२ कक्षा उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रमको संयोजन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको थियो ।

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले नगरकै शैक्षिक गुणस्तर वृद्धिका लागि भएका विविध कार्यक्रममध्ये सम्मान कार्यक्रम पनि एउटा मह¤वपूर्ण कार्यक्रम भएको बताए । विद्यार्थी सम्मान कार्यक्रममा नगरप्रमुख रेग्मीले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी र सिङ्गो समाजले सफल उत्पादन गरेका कलिला विद्यार्थीहरुलाई सम्मान गरेर उनीहरुको हौसला वृद्धिका लागि एउटा नयाँ इँटा थपिएको बताए ।

नगरप्रमुख रेग्मीले १२ पास भएका विद्यार्थीहरुलाई आफ्नो मातृभूमि, आफू जन्मेका ठाउँ र पढेको गाउँको नाम राख्ने गरी अघि बढ्न सुझाव दिएका थिए ।

‘तपाईंहरु नै हो भोलिका वडा सदस्य, वडाध्यक्ष, नगरप्रमुख, मन्त्री, प्रधानमन्त्री अथवा राष्ट्रको उच्च पदमा पुग्ने कर्मचारी, अथवा देशभक्त जनशक्ति’, नगरप्रमुख रेग्मीले भने, ‘जहाँ पुगे पनि यो नगरको माटो नबिर्सनू, भोलि तपाईंलाई प्राप्त भएको ज्ञान, सीप, जाँगर र दक्षता यो नगरले अवश्य खोज्ने छ । त्यतिबेला म जन्मेको ठाउँ, हुर्केको गाउँ भनेर आफ्नो ज्ञान, सीप र जाँगर बाँड्नु, मेरो यहाँहरुलाई यही अनुरोध छ ।’

‘हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट सुरू हुन्छ, विद्यार्थीहरुको पहिलो पाइला सुरू भयो’, उनले भने, ‘हजारौँ माइल पार गर्नुहुने छ, आफ्नो लक्ष्यमा निरन्तर लाग्नुहोला, शुभकामना छ ।’

कालिका नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन विद्यालयस्तरका कार्यक्रमलाई अघि बढाएको छ । यसअघि नगरपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, प्रिन्टरलगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस हुन सकिरहेको थिएन, नगरपालिकाले हरेक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउनका लागि अनिवार्य गरेको छ । नगरपालिकाको पहलमा अतिरिक्त कक्षाहरु थपिएका छन् भने विद्यालयमा हरित कार्यक्रम लागू भइरहेको छ ।
सम्मान कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठले नगरपालिकाले सम्मान गरेर विद्यार्थीहरुलाई थप हौसला, प्रेरणा दिएको बताए । उनले आगामी दिनमा विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चन्द्रादेवी शर्माले विद्यार्थीहरुमा थप हौसला वृद्धि गर्न सम्मान कार्यक्रम राखेको बताइन् । नगर सम्मान कार्यक्रमको सञ्चालन नगरका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले गरेका थिए ।
कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं–२ का अध्यक्ष लक्ष्मण पौडेल, अन्य वडाध्यक्ष, पालिका सदस्य, कर्मचारी, अभिभावकलगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

रत्ननगर । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, टाँडी शाखाले रत्ननगर–४, भोकाहा निवासी स्व. सञ्जुकुमारी चौधरीका श्रीमान् राजुराम महतोलाई मृत्यु दाबी बिमा रकम हस्तान्तरण गरिएको छ ।

रत्ननगर–४ की चौधरीले २०७४ फागुन ६ गते महिला लघुवित्तको सदस्यता लिएकी थिइन् । सो लघुवित्तको टाँडी शाखाको केन्द्र नं–२८ बाट सदस्यता लिएकी चौधरीले नियमित बचत तथा कर्जा कारोबार गर्दै आएकी थिइन् । उनको २०८१ चैत १४ गते मृत्यु भएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम तथा बिमा दाबी योजनाअन्तर्गत स्व. चौधरीका श्रीमान् राजुराम महतोलाई राहतस्वरुप ४ लाख १८ हजार रूपैयाँ मृत्यु दाबी बिमा रकम हस्तान्तरण गरिएको छ ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा रत्ननगर–४ का वडाध्यक्ष रामकुमार चौधरी, शाखा कार्यालय टाँडीका कार्यालय प्रमुख बोधेन्द्र विसी, कर्मचारी लोकेन्द्र चौलागाईं, मौसमप्रसाद पौडेल तथा केन्द्रमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वडाध्यक्ष चौधरीले संस्थाले गरेका यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अनुकरणीय र समुदायमैत्री रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनले कर्जा लिएपछि मिनाहा हुन्छ, तिर्नुपर्दैन भन्नेजस्ता अराजक सोचप्रति आपत्ति जनाउँदै हरेक सदस्य आफ्नो उत्तरदायित्वप्रति इमानदार बन्नुपर्नेमा जोड दिए ।

उनले संस्थाबाट लिएको कर्जा नियमित तिर्नुपर्ने र त्यसबाटै लघुवित्तको प्रभावकारिता टिक्ने भएकाले अनावश्यक भ्रमबाट मुक्त रहँदै संस्था र सदस्यहरु जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

कालिका । कालिका नगरपालिकामा तीनदिने मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको हो ।

लुमन्ती संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा कालिका नगरपालिका वडा नं–१, २, ३, ४, ६ र ७ का वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरु सहभागी थिए ।

कार्यक्रममा टोल विकास संस्था तथा प्रभावित समुदाय, बाल सञ्जाल तथा स्काउटका विद्यार्थीहरुसमेत सम्मिलित थिए । गत वर्ष कालिका नगरपालिकामा बाढीका कारण तीन जनाको ज्यान गएको थियो ।

कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख विनोद रेग्मीले विगतका वर्षहरुमा मनसुनजन्य विपद् आइपरेको र यसपटक यस्ता क्षति दोहोरिन नदिनका लागि पूर्वतयारीअन्तर्गत सचेतना कार्यक्रम गरिएको बताए ।

मनसुनजन्य विपद् पूर्वतयारीका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायलाई सुसूचित गर्दै आवश्यक तयारीका कार्यहरु गर्न प्रोत्साहन गर्ने हिसाबले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अध्यक्षता वन वातावरण तथा विपद् व्यवस्थापन समिति सभापति तथा वडा नं–३ का अध्यक्ष वीरेन्द्र तामाङले गरेका थिए । कार्यक्रमको सञ्चालन वन वातावरण शाखा प्रमुख राजेश कोइरालाले गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, नगर प्रवक्ता तथा वडा नं–२ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं–१ का अध्यक्ष सन्तवीर स्याङ्दान, वडा नं–४ का अध्यक्ष मकरमान श्रेष्ठलगायतले विपद्बाट जोगिन सबैभन्दा पहिला यसको व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याए ।

भरतपुर । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियतसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध, देशभरका बिमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिइन् ।

इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसी रहेको र आवश्यकताअनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कायम हुनेछ ।

क्षेत्र प्रबन्धक इशा प्रधानको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर, म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदीप पराजुलीको उपस्थिति रहेको थियो ।

भरतपुर । राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ । शुक्रबार भएको उपाधि भिडन्तमा कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर टाइब्रेकरमा ४-२ ले विजयी भयो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा भरतपुर ४-२ ले विजयी भयो । भरतपुरका गोलकिपर मनोज गुरूङ प्लेयर अफ दी म्याच भए ।

उपाधि विजेता भरतपुरले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता कालिकाले ५० हजारमा चित्त बुझाएको छ । भरतपुरका गोलकिपर मनोज गुरूङ प्लेयर अफ दी सिरिज भए । उनले ६ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै भरतपुरकै समीर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, कालिकाका सौजन खड्का उत्कृष्ट डिफेन्डर तथा कालिकाकै अमन तामाङ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले जनही ३-३ हजार प्राप्त गरे । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।