
चितवन । आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।
कम्पनीको आज सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार चार सय ५० पेटी अण्डा उत्पादन हुँदै आएको बताए । कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ । फार्ममा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताए ।
कम्पनीले गत आर्थिक वर्षमा रु आठ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु १८.३७ आम्दानी गरेको थियो । अध्यक्ष पोखरेलले पेश गरेको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०÷८१ मा प्रतिशेयर रु ३.६४ आम्दानी गरेको कम्पनीले यसवर्ष प्रतिशेयर आम्दानी बढाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।
साधारणसभाले कम्पनीको २०८१/८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान (आइपिओ) मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सोसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा अनन्त दाहाल, डा आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले आफ्नो धारणा राखेका थिए ।
यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेन र कम्पनीका बारेमा जानकारी दिएका थिए । साधारण सभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्वसञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।
भरतपुर । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक रणनीतिक योजना एवम् बजेट निर्माणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बन्दीपुरमा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष भीष्मप्रसाद खनालको अध्यक्षता एवम् दुग्ध विकास बोर्ड, बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा संघका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार दिनेशकुमार चुके, मुक्तिनाथ कृषि कम्पनीका बागमती प्रदेश प्रमुख अनोज अधिकारी, संघका पदाधिकारी एवम् सञ्चालक सदस्यहरू, सल्लाहकारहरू एवं संघमा आवद्व सदस्य संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
योजना तथा बजेट निर्माणका सम्बन्धमा प्रमुखअतिथि पौडेलले सहजीकरण गरेका थिए भने अनोज अधिकारीले मुक्तिनाथ कृषि कम्पनीले सहकारीहरूसँग कसरी सहकार्य गर्दै आएको छ भन्ने विषयमा प्रकाश पार्दै कम्पनीले गर्दै आएका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।
संस्थापक अध्यक्ष चुकेले सम्भावित व्यावसायिक योजना पेस गरेको गोष्ठीमा छलफलपश्चात् सञ्चालक सदस्य श्यामबन्धु पोखरेलले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम तथा बजेटको प्रस्ताव प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य रामजी पौडेलले गरेका थिए ।
भरतपुर । एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवनले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवन ‘ए’ले हात पारेको छ ।
प्रतियोगिताको निर्धारित समयमा प्रतिस्पर्धी ‘ए’ र एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवन ‘ई’ले एक–एक गोल गरेपछि पेनाल्टी सुटआउटबाट प्रतियोगिताको विजेता छनोट गरिएको थियो ।
सुटआउटमा ‘ए’ ले ६ गोल गर्दा ‘ई’ ले ५ गोल गरेको थियो । एसिई ‘ई’ लाई हराउँदै एसिई ‘ए’ विजयी भएको हो । विजयी भएसँगै एसिई ‘ए’ले ४५ किलोको खसी, ट्रफि र प्रामाणपत्र प्राप्त गरेको छ । उपविजेता समूहले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा चितवनका १७ र गैँडाकोटको एउटा समूह सहभागी भएको थियो । सो अबसरमा म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक एवम् उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।
एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवनका अध्यक्ष विष्णु अधिकारीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
उद्घाटन सत्रमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले खेल क्षेत्रले सबै विधाका व्यक्तिहरुलाई एकीकृत गरेर लैजान मद्दत पु¥याएको बताए । खेल क्षेत्रको विकासले मात्र राष्ट्रको गरिमा बढ्ने भन्दै उनले खेलले मानव स्वास्थ्यलाई समेत स्वस्थ राख्न टेवा पुग्ने बताए । उनले खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले ठूलो लगानी गरेको बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खेल क्षेत्रको विकासका लागि सहज वातावरण बनाउन स्थानीय सरकार लागि परेको बताए । खेलले सबैको हित गर्ने उनको भनाइ थियो । कन्सल्टिङ इन्जिनियर तथा विभिन्न कार्यालयका इन्जिनियर र सव इन्जिनियरहरुको शारीरिक कसरतका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा चितवन र नवलपरासीको गैँडाकोटका गरी १८ वटा टिमको सहभागिता रहेको थियो ।
एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवनका अध्यक्ष अधिकारीले राष्ट्र निर्माणमा समर्पित इन्जिनियरहरुको मैत्रीपूर्ण प्रतियोगिताले भाइचारा सम्बन्ध बढाउन सहयोग पुग्ने बतए । कार्यक्रमका संयोजक ई. खेमविक्रम थापा काउछा, एसोसिएसनका सचिव ई. आकाश शर्मालगायतले बोलेका थिए ।
रत्ननगर । ब्रिज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा आइतबार शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई विदेशी विश्वविद्यालयमा अध्ययनका लागि परामर्श तथा सहजीकरण गर्दै आएको यस कन्सल्टेन्सीले रत्ननगरमा शाखा शुभारम्भ गरेको हो ।
शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रिबन काटेर गरेका थिए । कार्यक्रममा प्रमुखअतिथिका रुपमा उपस्थित गिरीले कन्सल्टेन्सीहरुको बढ्दो प्रतिस्पर्धामा ब्रिजले आफ्नो सेवामार्फत छुट्टै पहिचान बनाउने विश्वास व्यक्त गरे ।
उनले विद्यार्थीहरुलाई सही परामर्श प्रदान गर्दै विदेशमा अध्ययनका लागि पठाउने कार्यमा जोड दिन आग्रह गरे । उनले शाखाको सफलताका लागि शुभकामना दिए ।
‘कन्सल्टेन्सीहरुको भीडमा ब्रिजले आफ्नो सेवा र गुणस्तरबाट अलग पहिचान बनाउन सक्छ’, उनले भने, ‘विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखेर सही मार्गदर्शन गर्नु आवश्यक छ ।’
रत्ननगर शाखाकी प्रमुख कृषा लम्साल घिमिरेले कार्यक्रममा बोल्दै ब्रिजले उच्च शिक्षाका लागि विभिन्न देशहरुमा विद्यार्थीहरु पठाउने गरेको जानकारी दिइन् । ब्रिजले बेलायत, अस्ट्रेलिया, डेनमार्क, क्यानडा, अमेरिका र युरोपका विभिन्न देशहरुमा विद्यार्थीहरुलाई सहजीकरण गर्दै आएको उनले बताइन् । ‘हामी विद्यार्थीहरुको आवश्यकताअनुसार सही गन्तव्य र विश्वविद्यालय छनोट गर्न सहयोग गर्छौं’, उनले भनिन् ।
घिमिरेले ब्रिजका विदेशमा चारवटा शाखा र नेपालका मुख्य सहरहरुमा १५ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिइन् । विसं २०७२ मा स्थापना भएको यस कन्सल्टेन्सीले आफ्नो सेवालाई थप सुलभ र प्रभावकारी बनाउँदै आगामी दिनमा थप शाखा विस्तार तथा विद्यार्थीकेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।
कार्यक्रममा संस्थाका संस्थापक प्रज्वल गिरी, शाखा संयोजक सुशील न्यौपाने, व्यवस्थापक प्रमुख रुपेश थापा, अस्ट्रेलियाका शाखा प्रबन्धक सनिश महर्जन, प्रमुख कार्यकारी भुवन गिरी, ग्राम्पियन्स कलेज मेलबर्न अस्ट्रेलियाका कार्यकारी प्रमुख वासुदेव मरहट्ठालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सन्दर्भ खनालले गरेका थिए ।
रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको ज्ञानसुधा टेक्निकल कलेज (जिएसटी) कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था रहेको र यसमा २०५३ सालदेखि विभिन्न कलेजमा प्राध्यापनरत अनुभवी प्राध्यापकहरु रहेको बताए ।
आफ्नै भवनमा वातानुकुलित वातावरणमा पढाइ हुने यस कलेजले पूर्वी चितवनका चार पालिकालाई लक्षित गरी यातायातको सुविधासहित सबै वर्गका विद्यार्थीलाई पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ ।
कलेजले रोजगारी सुनिश्चितताका लागि बैंक, व्यावसायिक संस्था, सूचना प्रविधि, बहुर्राष्ट्रिय कम्पनी, प्रशासनलगायतका संस्थाहरुसँग समझदारी गरेको छ । चार वर्षीय बिबिए कार्यक्रम अध्ययनका लागि प्याकेजमा ६ लाख ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमध्ये पहिलो २० जना जेहेनदार, द्वन्द्वपीडित, विपन्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार कलेजले मेधावी विद्यार्थीहरुलाई प्रोत्साहनका लागि एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ ।
शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए । उनले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरूप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।
यस्तै, कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले देशमा बसेर केही हुँदैन भन्ने भाष्यलाई गलत साबित गर्दै देशमा नै केही छ र गर्न सकिन्छ भन्ने उदाहरण जिएसटी कलेजले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
कलेजका अध्यक्ष हरिशरण पाठकले विद्यार्थीहरुलाई प्राविधिक ज्ञानसहित ‘डिग्री विथ स्किल’को विकास गर्ने गरी कलेज स्थापना गरिएको बताए । कलेजले यही साउन २९ गते कलेज परिसरमा लन्चप्याड सेलिब्रेटिङ सक्सेस, चार्टिङ फ्युचर नामक कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा कक्षा १२ को परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मानका साथ भविष्य निर्माण गर्ने अवसरबारे जानकारी दिने कार्यक्रम रहेको बिबिए कार्यक्रम विभागका प्रमुख सौगात गुरूङले जानकारी दिए ।
भरतपुर । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइई परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ ।
स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो ।
साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको छ भने बाँकी छ वटा विद्यालयलाई छिट्टै हस्तान्तरण गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
उक्त समारोहमा निर्देशक अधिकारीसँगै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरे ।
त्यसबाहेक सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारलाई एक सय चार थान, त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिङलाई सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेलाई चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयलाई नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेलाई तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासलाई सैँतीस थान क्याल्कुलेटर सम्बन्धित विद्यालयलाई दिइने छ ।
“छिट्टै ती स्थानमा गएर हरेक विद्यार्थीको हातमा पर्ने गरी दिइने छ”, एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले भने– “व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एक्सपर्टले हरेक वर्ष सामुदायिक विद्यालयलाई गर्ने सहयोगको यो निरन्तरता हो ।”
इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । “विपन्नताकै कारण त्यस क्षेत्रका विद्यार्थीलाई क्याल्कुलेटर किन्नसमेत अप्ठ्यारो हुने गरेको सुनिएको छ”, एक्सपर्टका निर्देशक अधिकारीले भने– “त्यही सहज होस् भनेर सहयोग गरेका हौँ ।”
कार्यक्रमका प्रमुखअतिथि आचार्यले एक्सपर्टले गरेको सामाजिक क्रियाकलाप प्रशंसनीय भएको बताए । उनले कार्यक्रमको उद्घाटन पनि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर गरेका थिए । कविलास माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत सुजिता गुरुङलाई नगद पाँच हजार रुपैयाँ, स्कुल झोला, शैक्षिक सामग्री, स्कुल ड्रेस, खेलकुद ड्रेस, छाता, क्याल्कुलेटरलगायत सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
“कार्यक्रम उद्घाटन गर्ने शैली नै मन प¥यो”, उनले भने– “शिक्षामा गरिएको सहयोग नै सबैभन्दा उत्तम सहयोग हो ।”
सहयोग पाएपछि राष्ट्रिय मावि हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरले भने– “दूरदराजका विद्यार्थीका लागि यो सानो सहयोग नै ठूलो हुन्छ । उनीहरूमा नगद खर्च गरेर शैक्षिक सामग्री किन्ने ल्याकत हुँदैन । त्यसैले यसले ठूलो अर्थ राख्छ ।” त्यस्तै रानीखोलाका प्रधानाध्यापक अर्जुन मगरले ग्रामीण क्षेत्रका विद्यार्थीलाई हरेक सानो सहयोगको पनि अर्थ ठूलो हुने बताए । एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ ।




