२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर । रत्ननगर–१६ लाई वातावरणमैत्री वडा घोषणा गर्ने अभियानअन्तर्गत वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति गठन गरिएको छ ।

वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा गठित समितिका सदस्यहरुमा सरिता गुरूङ, रीता विक, चीचकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, चिरन्जीवी खनाल, विजय पुरी, रामहरि पनेरु, डिल्लीप्रसाद गौतम र सदस्य सचिवमा वडा सचिव मञ्जु पौडेल रहेका छन् । यस्तै, आमन्त्रित सदस्यहरुमा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा, पिठुवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे र अस्थायी पिठुवा चौकीका इन्चार्ज ताकेश्वर राई रहेका छन् ।

कार्यक्रमको सहजीकरण रत्ननगर नगरपालिकाका रेन्जर राजेश शर्माले गरेका थिए । उनले वातावरणमैत्री वडा घोषणा गर्नुको उद्देश्य तथा अपेक्षित उपलब्धिको बारेमा जानकारी गराएका थिए । रेन्जर शर्माले घरपरिवारदेखि टोल, वडा तथा नगरमा वातावरणमैत्री शासनलाई स्थापित गरी स्वच्छ सुन्दर र वातावरणमैत्री समाजको सृजना गर्न सहयोग गर्ने उद्देश्यले अभियान सुरू गरिएको बताए ।

नगरपालिकाको योजना प्रक्रियामा वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयहरूलाई मूलप्रवाहीकरण गर्न सहयोग गर्नुका साथै सेवा प्रवाह र विकास निर्माण पद्धतिलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने उनले बताए ।

अभियानबाट वातावरणमैत्री दिगो विकासका लागि समुदायको माध्यमबाट घरपरिवार तहलाई जिम्मेवार बनाउन प्रोत्साहित गरी वातावरण संरक्षण, आधारभूत स्वास्थ्य तथा सरसफाइ, फोहोरमैला व्यवस्थापन, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापनसम्बन्धी विषयहरुलाई स्थानीयकरण गर्न सहज हुनेछ ।

यस्तै, जलवायु अनुकुलन तथा न्यूनीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनका सन्दर्भमा घरपरिवार तहसम्मको काम, कर्तव्य, र जिम्मेवारी तथा हासिल गर्नुपर्ने नतिजाको सम्बन्धमा स्पष्ट पार्नका लागि सो अभियान मह¤वपूर्ण हुने उनले बताए ।

वडाध्यक्ष हेमराज थापाले वडालाई वातावरणमैत्री बनाई भविष्यमा चितवनकै नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

चितवन । भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासँगै ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् ।

सार्वजनिक सुनुवाइका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको अग्रीम मिडिया नेटवर्क चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको छ ।

२९ वटाका ५ सय जना बढीमा गरिएको सेवा सर्वेक्षणमा ६० प्रतिशत नगरवासी सन्तुष्ट, ३५ प्रतिशतले ठीकै र ५ प्रतिशत नगरवासीले असन्तुष्टि व्यक्त गरेको उल्लेख गरेका छन् ।

सो अवसरमा गौतमबुद्ध क्रिकेट रङ्गशाला, नारायणी तटबन्ध, सिटीहल, खानेपानी, हरियाली सडक, पुङ्गी तथा केरुङ्गा ड्रेन, महानगरीय प्रशासकीय भवन, शवदाह गृह, महानगरीय चक्रपथ, ओपन जु, फोहरमैला व्यवस्थापन लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सडक, बत्ती, विद्युत्, ढल निर्माण, कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्यलगायतका सुशासनका विषयमा महानगर प्रमुख रेनु दाहालप्रति प्रश्न राखेका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छन् ।

उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसँगै आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीव्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरबासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताए ।

कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को विनियोजित ५ अर्ब ४९ करोड २ लाख ६३ हजार रहेकोमा रु ४ अर्ब ३ करोड ५४ लाख खर्च भएको उल्लेख गरे । यो बजेटको ७३ दशमलव ५ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८५ प्रतिशत र पुँजीगततर्फ ६२ प्रतिशत खर्च भएको छ ।

यसैगरी महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ३६ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भरतपुर । मेरो किसान लिमिटेडले भरतपुर–२२, पटिहानीमा करिब ४० करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरू गरेको छ । सोमबार शिलान्यास गरिएको सो परियोजना आगामी पुस १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालका अनुसार उद्योगमा तोरीको तेल, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफीलगायत २५ भन्दा बढी कृषि उपजको प्रशोधन गरिने छ ।

कच्चा पदार्थ चितवनका किसानसहित देशका स्थानीय उत्पादकबाट सङ्कलन गरिने र प्रशोधित वस्तु देशव्यापी वितरणसँगै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना रहेको उनको भनाइ थियो ।

अत्याधुनिक कोल्ड स्टोरमार्फत तरकारी तथा फलफूल दीर्घकालसम्म संरक्षण गरी काठमाडौँ, पोखरालगायत ठूला सहर र विदेशमा आपूर्ति गर्ने सुविधा पनि रहनेछ ।

कोभिड–१९ महामारीको समयमा स्थापना भएको मेरो किसान लिमिटेडले छोटो अवधिमा मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र तीन सयभन्दा बढी व्यावसायिक घरानासँग प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित गरेको छ ।

साथै, देशभरका पाँच सयभन्दा बढी व्यावसायिक कृषकसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, सङ्कलन, प्रशोधन र वितरणको सम्पूर्ण चक्रमा सक्रिय रहँदै आएको छ ।

बीउदेखि बजारसम्मको प्रतिबद्धतासहित कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी वृद्धि, कृषि उत्पादनको मूल्य अभिवृद्धि, खाद्य सुरक्षा मजबुत बनाउन र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने लक्ष्य राखेको छ ।

भरतपुर । ‘प्राथमिक उपचार हाम्रो सरोकार’ भन्ने मूलनाराका साथ स्थापित ‘योगदान राष्ट्रको लागि’ नामक संस्थाको भरतपुर महानगर कार्यसमिति गठन भएको छ । हरेक जिम्मेवार नागरिकले समय मिलेसम्म सामाजिक कार्यमा योगदान दिनुपर्छ भन्ने उद्देश्यले सो समिति गठन गरिएको हो ।

लक्ष्मी रिजालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा घनश्याम ढकाल, सचिवमा इन्दिरा बराल, कोषाध्यक्षमा सरस्वती ढुङ्गाना, सहसचिवमा मीना पौडेल रहेका छन् । यस्तै, सदस्यहरुमा पुरुषोत्तम पाठक, निर्मला पौडेल, आशा श्रेष्ठ र सुनिल कुँवर रहेका छन् ।

कार्यक्रममा एकराज पाठक, ऋतु गिरी, के.एन. सिलवाललगायतका सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाका केन्द्रीय अध्यक्ष ओम उप्रेती ‘योगदान राष्ट्रको लागि’ नामक संस्थाका परिकल्पनाकार हुन् । यस संस्थाले विभिन्न जनसरोकारका विषयमा समाजको हित हुने काम गर्दै आएको छ ।

विशुद्ध समाजसेवा, स्वास्थ्यसेवा र परोपकारका कार्य गर्ने उद्देश्यले महानगर कार्यसमिति गठन भएको र यस संस्थाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सामाजिक कार्य र सरल जीवन अगाडि बढाउने गरी काम गर्ने सदस्य सुनिल कुँवरले जानकारी दिए ।

भरतपुर । प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यही प्रेमले काँडाले जस्तै पीडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, वेदना, आँसु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलनभन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको गीत भो यो मायाले व्यक्त गरेको छ ।

गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत “भो यो माया” ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महसुस हुन्छ । उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनिस चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न विकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।

भिडियोतर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायांकन, सुन्दर क्षेत्रीको सम्पादन र मीना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।

गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र विछोडको गहिरो यथार्थमा डुबाउँछ।

भरतपुर । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौँमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हब रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।

चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, “यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।”

माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरू गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो । “त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौँ । जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो”, अध्यक्ष दाहालले भने ।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए । फरक प्रसङ्गमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।

भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए । गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए ।

अस्पतालमा विशेष गरी भारतको पश्चिमी चम्पारणबाट बिरामी आउने गरेको उनले जानकारी दिए । सो क्षेत्रका बिरामीले नजिक, सहज र सस्तो उपचार ठोरीमा पाउने गरेका छन् । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काले बहिरङ्ग (ओपिडी) सेवा लिनेले रु ८० को टिकटमा परीक्षण गर्न पाएको बताए ।

भारतीय क्षेत्रका बिरामी अधिकांश मोतियाबिन्दु र आँखाको नानीको चोटपटकको समस्या लिएर आउने गर्दछन् । ती बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्दा कम शुल्कमा उच्चस्तरको उपचार हुने भएकाले भारतीय बिरामीसमेत बढ्दो क्रममा रहेको उनको भनाइ छ । भारतीय क्षेत्रका ती बिरामीले नेपालको ठोरीमा उपचार नपाउँदा गोरखपुर पुग्नुपर्ने हुन्छ । भरतपुर आँखा अस्पतालले दाताहरुकोसमेत सहयोग पाउने हुँदा कम शुल्कमा उपचार सेवा दिन सकेको खड्काले बताए ।

कतिपय बिरामीलाई थप सेवा दिनुपर्दा भरतपुर आँखा अस्पताल ल्याएर उपचार गर्ने गरिएको छ । कतिपय समयमा भरतपुरबाट विभिन्न विषयका विज्ञ चिकित्सक गएर ठोरीमा नै पनि उपचार गर्ने गरिएको छ । भरतपुर आँखा अस्पतालले विभिन्न जिल्लाका २५ ठाउँबाट सेवा दिँदै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।