२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–४ मा रहेको न्यू क्यापिटल कलेजको २५औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार पूर्वी चितवन विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा चित्रकलातर्फ सगरमाथा स्कुलका विनय रेग्मी र वक्तृत्वकलातर्फ बैरिया माध्यमिक विद्यालयकी छात्रा आदीति आचार्य प्रथम भएका छन् ।

कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख डा. ताराप्रसाद ढुङ्गानाका अनुसार चित्रकला प्रतियोगितामा हिमालयन इङ्ग्लिस स्कुलका एन्ड्रिन बिके द्वितीय, पञ्चकन्या विद्या मन्दिरका नैन गुरूङ तृतीय र पदमपुर शिक्षा निकेतनकी सबिता बरामले सान्त्वना स्थान हासिल गरे ।

यस्तै, वक्तृत्वकला प्रतियोगितामा लाइसियम मोडल स्कुलकी रहिसा अधिकारी द्वितीय, आदर्श विद्या आश्रमकी खुसी बर्तौला तृतीय र सैनिक आवासीय महाविद्यालयकी ऋषिका पौडेलले सान्त्वना स्थान प्राप्त गरे । विजेताहरुलाई क्रमशः पाँच, तीन, दुई र एक हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको डा. ढुङ्गानाले बताए ।

कार्यक्रममा रत्ननगर प्याब्सनका अध्यक्ष भुवनसिंह थापा प्रमुखअतिथिका रूपमा सहभागी थिए । कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराएका थिए । चित्रकला प्रतियोगितामा पूर्वी चितवनका ३३ विद्यालयबाट ५९ विद्यार्थी र वक्तृत्वकला प्रतियोगितामा ३४ विद्यालयबाट ५४ विद्यार्थीले सहभागिता जनाएको प्राचार्य धितालले बताए ।

चित्रकला प्रतियोगिताको निर्णायकमा प्रमिश कँडेल र वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शहीद स्मृति बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा. कृष्णप्रसाद सुवेदी तथा भुवानीशङ्कर कलेजका क्याम्पस प्रमुख दीपक गौतम रहेका थिए । चित्रकला प्रतियोगिताको संयोजक अमित भुसाल र वक्तृत्वकला प्रतियोगिताको संयोजक विष्णुप्रसाद सापकोटा थिए ।

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औँ विश्व हात्ती दिवसको अवसर पारेर यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा हात्तीलाई लामबद्धरुपमा राखेर उखु, गाँजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको पर्वको रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गरेका थिए ।

एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताए । ‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती पनि खुसी हुन्छन्’, उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’

उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्त्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तरसम्बधले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठ, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, रत्ननगर–७ का वडाध्यक्ष सजना महतोलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले स्वागत मन्तव्य राखेका थिए । नेपालमा करिब ४०० को हाराहारीमा हात्ती रहेको अनुमान छ ।

चितवनमा सरकारी ६० वटा र निजी स्तरमा ४५ वटा हात्तीहरु छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटल संघ चितवन सौराहा, रेवान सौराहा, ग्रीन सोसाइटी नेपाल र रत्ननगर वडा नं–४, ५, ६, ७ र ८ वडा कार्यालयको सहयोगमा हात्ती दिवस मनाइएको हो ।

कार्यक्रममा बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

भरतपुर । जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपितसँग बसेर जन्मदिन मनाएको आरोपमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनीष श्रेष्ठलाई विभागीय कारबाही सिफारिस गरिएको छ । इन्स्पेक्टर श्रेष्ठ आरोपितको अनुसन्धान अधिकृत थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरस्थित डिएसपी निवासमा जन्मदिन मनाएको फोटो सार्वजनिक भएपछि उनलाई चितवन पठाइएको थियो । छानबिन समितिले त्यसै घटनामा मुछिएका डिएसपी जीतेन्द्र बस्नेतलाई भने कारबाहीबाट उन्मुक्ति दिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । समितिले छानबिन गरेर प्रतिवेदन डिआइजीलाई बुझाएको हो ।

बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका–६ का आकाश आदर्शले भोलिपल्टै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षकको ‘बर्थ डे सेलिब्रेसन’ गरेका थिए । जसमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक श्रेष्ठ, अर्का प्रहरी निरीक्षक उदयकुमार राई तथा एकदिनअघि सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए ।

खैरहनी । खैरहनीको नापी कार्यालयका कार्यालय प्रमुखमाथि अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय प्रमुख ई. शालिग्राम लम्सालमाथि अज्ञात समूहले उनकै कार्यकक्षमा प्रवेश गरी मङ्गलबार दिउँसो कालोमोसो दलेका हुन् ।

आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने दुई जनाले कार्यकक्षभित्र पसेर आक्रमण गरेको लम्सालले बताए । मुखमा मास्क लगाएका दुई जना व्यक्तिले हातमा झुन्ड्याएको झोलामा ल्याएको कालो पदार्थ उनलाई फालेको सिसिटिभी क्यामेरामा देखिएको छ । कालोमोसो दलेर जाने क्रममा उनीहरुले नेकपा बहुमत पार्टी जिन्दावाद भन्दै निस्किएका थिए ।

पूर्वी चितवनका विभिन्न ठाउँमा कित्ताकाट गर्दा घुस लिएको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई पनि कित्ताकाट गरेर भू–माफियालाई सहयोग गरेको, सेवाग्राहीसँग रकम लिने गरेकोलगायतका आरोप लगाइएको छ ।

घटनालगत्तै कार्यालयका सम्पूर्ण सेवाहरु बन्द भएका छन् । राष्ट्रसेवकमाथि भएको आक्रमणको विरोध र दोषी उपर कारबाहीको माग गर्दै कर्मचारीहरुले कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गरेका हुन् । कार्यालयका कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही नभएसम्म कार्यालयको सेवा अवरूद्ध हुने जनाएका छन् ।

घटनालगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सिसिटिभीको सहयोगमा घटनामा संलग्नहरुको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको बताए । उनले घटनामा संलग्नहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रत्ननगर । सम्पूर्ण किताब नारायणगढको आयोजनामा ‘पठन संस्कृति अभियान’ कार्यक्रमअन्तर्गत रत्ननगरको स्काइराइडर आमाविमा पुस्तकहरुको समीक्षा गरिएको छ ।

कार्यक्रममा कक्षा ८, ९ र १० का २५ जना विद्यार्थीले २५ वटा विभिन्न पुस्तकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्जला मैनालीले ‘आमाको मुटु’ पुस्तकको समीक्षा प्रस्तुत गरिन् । यस्तै, आरोही बगालेले ‘ड्रिमी आइज’, आज्ञा पण्डितले ‘आनन्दको भण्डार’, दृष्टि आलेले ‘उल्लू राजा’, एलेस आचार्यले ‘मार्क जुकरबर्ग’, क्रिस्टिना सापकोटाले ‘डेमोन आइ’, निधि लामिछानेले ‘बास्ना आउने बाँसुरी’, मञ्जिल देवकोटाले ‘कुमाता’ र निर्भीक श्रेष्ठले ‘नमोनमः’ पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए ।

यसैगरी, विपना धमलाले ‘निर्णय’, युक्ता ढकालले ‘सनेस’, सन्दर्भ बरालले ‘दासता मुक्ति’, कृति गिरीले ‘खलंगामा हमला’, प्रमिशा पौडेलले ‘अमेरिकाको इतिहास’, सुयसा बोगटीले ‘मारी खोलाको ढुङ्गा’, रेश्मा श्रेष्ठले ‘नोर’, आकाश पौडेलले ‘शरणार्थी’, प्रियंशा तिवारीले ‘दशगजामा उभिएर’, प्रशंसा पुरीले ‘बेपत्ता सिपाही’ र नम्रता लामिछानेले ‘छुई’ पुस्तकको टिप्पणी प्रस्तुत गरेका थिए ।

यस्तै, अनुगमन शर्मा पोखरेलले ‘बेस क्याम्प’, क्षितिज रानाभाटले ‘ग्रहण’, प्रज्ञा पनेरुले ‘लकडाउन’, सूर्यांशी खनालले ‘स्पोउट अन रक’ र स्नेहा आचार्यले ‘द अदर क्विन’को समीक्षा सुनाएका थिए । आज्ञा पण्डितले स्लाइडमार्फत ‘आनन्दको भण्डार’ पुस्तकको आकर्षक प्रस्तुति दिएकी थिइन् भने क्रिस्टिना सापकोटाले ठूलो चार्टमा उपशीर्षकसहित ‘डेमोन आइ’को समीक्षा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कवि तथा निबन्धकार भूपिन प्रमुखअतिथिका रूपमा सहभागी भएका थिए । उनले विद्यार्थीको समीक्षात्मक प्रस्तुति विशेष र प्रशंसनीय रहेको बताउँदै विद्यार्थीले विभिन्न पुस्तक पढेर सिकेको ज्ञान उत्कृष्टरूपमा प्रस्तुत गरेको देखेर आफू दङ्ग परेको प्रतिक्रिया दिए । निरन्तर पढ्ने यात्रा कायम राख्न उनले विद्यार्थीहरुलाई हौसला प्रदान गरे ।

कार्यक्रममा अतिथिका रूपमा सहभागी विनोदबाबु रिजालले विद्यार्थीको प्रस्तुति उत्कृष्ट रहेको बताउँदै अतिरिक्त पुस्तक पढ्ने बानीले चेतनाको विकाससँगै जीवन सहज हुने विचार व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मदन पुरीले विद्यालयले पहिलेदेखि नै पठन संस्कारलाई प्राथमिकता दिएको उल्लेख गर्दै विद्यार्थीलाई निरन्तर पढ्न र पछिल्लो कक्षाका विद्यार्थीलाई पठन संस्कृतिको अभियानमा सहभागी गराउन आग्रह गरे । उनले रत्ननगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा नगरपालिकासँगको समन्वयमा पुस्तक उपलब्ध गराएर पठन संस्कृति कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सम्पूर्ण किताबका सञ्चालक तथा पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटाले विद्यार्थीमा पढ्ने बानीको विकास गरी उनीहरूलाई हरेक क्षेत्रमा सक्षम बनाउनु अभियानको उद्देश्य रहेको बताए । कार्यक्रमको सहजीकरण शिक्षक नवराज तिमिल्सिनाले गरेका थिए भने संयोजन रमेश पुरीले गरेका थिए ।

रत्ननगर । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक तथा सुरक्षित बनाउन जडान गरिएका आधुनिक सडक बत्तीहरूको सोमबार सफल परीक्षण गरिएको छ।

नगरप्रमुख प्रलाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र वडाध्यक्षहरूको उपस्थितिमा निपनी चोकदेखि टाँडी चोकसम्मको डिभाइडरमा जडान गरिएका ७२ वटा पोलमा १४४ वटा सडक बत्तीको परीक्षण गरिएको हो । यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो र झलमल्ल बनाएको छ ।

नगरप्रमुख सापकोटाले यो अभियानमार्फत नगरवासीलाई सुरक्षित र उज्यालो वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताए । “हामीले रत्ननगरलाई सुरक्षित र सुन्दर बनाउने वाचा गरेका थियौँ । डिभाइडरमा जडान गरिएका बत्तीहरूको सफल परीक्षण भएको छ र मुख्य चोकहरूमा हाइ(मास्ट लाइट जडानको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । केही दिनभित्रै यी सबै काम सम्पन्न हुनेछन्”, उनले भने । यो परियोजना रत्ननगरको विकास र समृद्धिका लागि कोसेढुङ्गा साबित हुने उनको विश्वास छ ।

उपप्रमुख यादवप्रसाद पाठकका अनुसार, निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चारवटा हाइ(मास्ट लाइट जडान गरिनेछ। त्यस्तै, शान्ति चोक, जयमङ्गला चोक, दोबाटो चोक र गैँडाचोकमा १० मिटर उचाइका मिनी(मास्ट लाइट जडान हुनेछन् । “यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो बनाउनुका साथै रातको समयमा आवतजावतलाई सुरक्षित र सहज बनाउनेछ”, पाठकले भने ।

नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार, यो परियोजनाको कुल लागत दुई करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ रहेको छ। निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी अबको केही दिनमा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनको भनाइ छ । “हामी रत्ननगरका सडकलाई उज्यालो बनाउने कार्य समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ”, उनले थपे ।

‘उज्यालो रत्ननगर अभियान’ले नगरको सौन्दर्य वृद्धि गर्नुका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधिहरू न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।