२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भरतपुर । दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाई समेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए ।

अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी रू चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए । पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उनले बताए । उनका अनुसार दुग्ध विकास बोर्डको रू एक अर्ब र निजी क्षेत्रबाट रू तीन अर्ब भुक्तानी पाउनुपर्ने छ । सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो ।

बैठकपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने सङ्घका महासचिव राम आचार्यले जानकारी दिए । उनले भने “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन् । त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गछौंँ ।”

पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उनले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे । सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए ।

उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताए । दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ ।

सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे । यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामा पर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए । सरकार र निजी क्षेत्र उदासीन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ ।

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली बिहीबार चितवन आएको छ ।

अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा समेत सहयोग गर्दैछ । नेपाल सरकार र चीन सरकारकाबीचमा यससम्बन्धी सम्झौता भइसकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सो विज्ञ टोलीले बोनम्यारो प्रत्यारोपण गर्नका लागि अस्पतालका आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ ।

सघन उपचार कक्ष, रेडिएसन अङ्कोलोजी, प्रयोगशाला, मेडिकल अङ्कोलोजीलगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्नेछ । कार्यकारी निर्देशक डा पौडेलका अनुसार चीनबाट नियमित रुपमा यहाँ आउने चिकित्सक टोलीको यसअघिको १५औँ टोलीका प्रमुख चाहु क्वीमिङ्गको नेतृत्व सात जना विज्ञ चिकित्सक सहभागी छन् । चिनियाँ टोलीलाई अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गरेर बिरामीलाई सेवा दिने वातावरण निर्माण गरिदिन आग्रह गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलका अनुसार हालको प्रशासनिक भवननजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिने छ । यस कामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेर अन्तिम चरणको काम भइरहेको छ । उनले भने “सम्भवत अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।”

यसका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखीकरण गरी नक्शा पास गरेको छ । भरतपुर महानगरपालिकालाई रू एक करोड ७८ लाख राजस्व बुझाएर नक्शा पास गरी अभिलेखीकरण गरिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएपछि चिनियाँ तर्फबाट निर्माणको काम थालिने छ ।

ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम सुरू हुने चिनियाँ टोलीले जानकारी दिएको पौडेलले बताए । सुरूमा चार शय्याको विभाग बन्नेछ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरूशरण साहले बताए ।

रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको ज्ञानसुधा टेक्निकल (जिएसटी) कलेजले बिहीबार बिबिए कार्यक्रमअन्तर्गत लन्चप्याड सेलेब्रेटिङ सक्सेस चार्टिङ फ्युचर्स प्रोगाममा प्रतिभा पलायनले पार्ने असर र प्रतिभाले प्राप्त गर्ने लाभका सन्दर्भमा छलफल गरेको छ ।

स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्यले होटल स्टार निपनीमा आयोजित सो कार्यक्रममा ब्रेन ड्रेन टु ब्रेन गेन टर्निङ लोकल एजुकेसन इन्टु ग्लोबल एक्सेस शीर्षकमा प्यानल डिस्कसन गरिएको थियो ।

प्यानल डिस्कसनमा प्यानलिस्टहरु न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रीय सदस्य भूपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आइपी लामिछानेले प्रतिभा पलायनले पार्ने असर र प्रतिभाले प्राप्त गर्ने लाभका सन्दर्भमा बिस्तृत छलफल गरेका थिए ।

ई. सागर कार्कीले सहजीकरण गरेको कार्यक्रममा प्यानलिस्ट भूपेन्द्र धितालले शैक्षिक अवसरका रुपमा अमेरिकामा अध्ययन गरे पनि स्वदेशमै साढे तीन दशक शिक्षण यात्रामा आफूले सफलता हासिल गरेको बताए । आफूलाई शिक्षण पेसाप्रति गर्व महसुस भएको र जीवनमा प्राप्त गर्नुपर्ने सबै प्रकारका सफलता हासिल गरे पनि पिएचडी गर्ने हुटहुटीचाहिँ मनभित्र रहेको उनले बताए ।

यस्तै, अर्का प्यानलिस्ट आइपी लामिछानेले अध्ययन गर्न र शैक्षिक सफलता हासिल गर्न उमेरले नछेक्ने बताउँदै पाको उमेरमै आफूले स्नातकोत्तर हासिल गरेको बताए । नेपालमै शिक्षा हासिल गरेका जनशक्ति विश्वभर रहेको र विभिन्न विश्वविद्यालयहरुमा ख्याति कमाएको उल्लेख गरे । उनले शैक्षिक परामर्श केन्द्रका बोर्डहरु घरघरमा झुन्डिरहँदा नेपालमै रहेका विश्वविद्यालयका बारेमा प्रचार हुन नसकेको उल्लेख गरे ।

यसैगरी, अर्का प्यानलिस्ट मदन पुरीले आफ्नो बाल्यकाल सुखद नरहे पनि बाँकी यात्रामा पछाडि फर्केर हेर्न नपरेको बताए । उनले नेपाल माविदेखि शहीद स्मृति बहुमुखी क्याम्पस हुँदै २०५३ सालमा एमबिए उत्तीर्ण गरेको स्मरण गर्दै शैक्षिक सफलता हासिल गर्न चाहनेका लागि नेपालमै भविष्य उज्ज्वल रहेको उल्लेख गरे ।

प्याब्सन चितवनका अध्यक्षका हैसियतले चितवनलाई शैक्षिक हब बनाउने उद्देश्यले काम गरिरहेको बताउँदै आफ्नै बारीको हिरा चिन्न नसकेर असंख्य मानिसहरु भौँतारिइरहेको बताए । मेहनत, लगनशिलता र लक्ष्य बोकेर हिँड्नेका लागि स्वदेशमै भविष्य रहेको उनको भनाइ थियो ।

फोब्स कलेजका प्राचार्य तथा जिएसटी कलेजका अध्यक्ष हरिशरण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले यस कार्यक्रमबाट विद्यार्थीहरूमा नयाँ उत्साह र प्रेरणा प्रदान गरेको बताए ।

प्यानलिस्टहरुले नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक स्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपायबारे आआफ्ना अनुभव र दृष्टान्तसहित कार्यक्रममा प्रस्तुत गरेका जिएसटी कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी दिए ।

लाइभ म्युजिक विथ स्न्याक्ससहित आयोजित कार्यक्रममा पूर्वी चितवनका विभिन्न कलेजमा अध्ययनरत कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको एमविए कार्यक्रम प्रमुख सौगात गुरूङले बताए ।

जिएसटी कलेजले पूर्वी चितवनमा नै पहिलोपटक नयाँ शैक्षिक सत्रका लागि यसै वर्षदेखि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

राप्ती । राप्ती नगरपालिका वडा नं–६, पडरियास्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट तीन बालबालिका घाइते भएका छन् ।

भण्डारादेखि पडरियातर्फ जाँदै गरेको ना ३७ प ७११६ नम्बरको पैदलयात्री बच्चाहरूलाई ठक्कर दिँदा राप्ती–६ बस्ने ६ वर्षीया करिश्मा प्रजा, ६ वर्षीया आशिमा चौधरी र ६ वर्षीय निर महतो घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते करिष्मा प्रजाको पुरानो मेडिकल कलेज (सिएमसी) भरतपुरमा, आशिमा चौधरी र निर महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मोटरसाइकल चालक राप्ती–१० बस्ने २९ वर्षीय सुरेश मोक्तान इलाका प्रहरी कार्यालय, भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रत्ननगर । रत्ननगर नगरपालिकाले नगरवासीको शान्ति सुरक्षा र अमनचैन कायम राख्ने उद्देश्यले इलाका प्रहरी कार्यालय, रत्ननगरलाई तीन थान पल्सर (१२५ सिसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

नगरपालिकाले बुधबार एक समारोहबीच ती मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी र इप्रका रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवालाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले नागरिकको नजिकको सरकार स्थानीय सरकार रहेकाले नागरिकलाई सुरक्षाको अनुुभूति दिलाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीसँग समन्वय गरी अगाडि बढेको बताए ।

उनले पूर्वी चितवन लागूऔषधको हब बन्दै गएकोले आपराधिक गतिविधिसमेत हुन सक्ने अवस्थालाई मध्यनजर गरी घर–घरमा शान्ति सुरक्षा प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले मोटरसाइकल प्रदान गरिएको बताए ।

रत्ननगरमा करिब एक लाख आठ हजार जनसंख्या रहेको र विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आउने क्रम पनि उत्तिकै बढेकोले सुरक्षा चुनौती थपिँदै गएको र पूर्वपश्चिम राजमार्गमा दुर्घटनासमेत बढिरहेको सन्दर्भमा नगरपालिकाले प्रदान गरेको मोटरसाइकलबाट प्रहरीलाई आवश्यकता परेको ठाउँसम्म पुग्न सहज हुने विश्वास व्यक्त गरे ।

समारोहमा प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरी कार्यालयलाई मोटरसाइकलको आवश्यकता महसुस गरी हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्दै विकास र स्रोतसाधनबाट प्रहरीलाई काम गर्न हौसला मिल्ने बताए ।

नेपालकै मध्यभागमा रहेको चितवनमा थुप्रै खालका अपराध हुने र हुन सक्ने अवस्थालाई आकलन गरी स्थानीय सरकारहरुसँग समन्वय गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले पर्यटकीय क्षेत्र सौराहामा विश्वभरका पर्यटकको आगमन हुने भएकाले यस क्षेत्रमा शान्ति सुरक्षाका कार्यलाई भरोसायोग्य बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले ७४ प्रहरी युनिटमार्फत सक्रियतापूर्वक काम गरिरहेको उल्लेख गरे ।

यस्तै, इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवाले राजमार्गको बेल्सीदेखि टिकौली जंगलको बीच भागसम्म रत्ननगरको कार्यक्षेत्रभित्र रहेको र यस क्षेत्रमा दुर्घटनालाई मध्यनजर गर्दै तीनवटा प्रहरी बिट स्थापना गरी काम गर्दै आएको बताए ।

दुर्घटना, चोरी तस्करी, अपराध र लागूऔषध नियन्त्रणका लागि प्रहरी परिचालन गर्न नगरपालिकाले प्रदान गरेको मोटरसाइकल अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘तीनवटा मोटरसाइकल माग गर्दा एउटा त अवश्य पाइएला भनेर मेयरसाबसँग प्रस्ताव गरेको थिएँ, उहाँले तीनवटै पास गर्नुभयो ।’ यसबाट पनि स्थानीय सरकार र जनप्रतिनिधिहरु शान्ति सुरक्षाको सवालमा संवेदनशील रहेको पुष्टि भएको उनले बताए ।

उनले आवश्यक प्रविधि, उपकरण, सवारीसाधन र भौतिक विकास भएमात्रै प्रहरीको मनोबल उच्च हुने बताउँदै इलाका प्रहरी कार्यालय रत्ननगरको भौतिक विकास र कार्यालय रहेको जग्गा प्रहरीको नाममा चाँडै ल्याउनका लागि पनि आवश्यक समन्वय गरिदिन नगरपालिकासँग माग गरे ।

नगर उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण प्रशासन शाखा प्रमुख सबिता अर्यालले गरेकी थिइन् । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर गिरीले शान्ति सुरक्षा, बजार व्यवस्थापन, पार्किङलगायतका काममा आफ्नो संघले नगरपालिका र प्रहरीसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा, रत्ननगरका प्रहरी निरीक्षक मनीष श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रत्ननगर नगरसमितिको आयोजनामा तीज तथा जितिया पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय महासचिव एवम् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल रहेकी थिइन् ।

यस्तै, कार्यक्रमको विशिष्ट अतिथिहरूमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घनश्याम दाहाल ‘अविनाश’, केन्द्रीय सदस्य कञ्चन खनाल र प्रदेश कोषाध्यक्ष सङ्गीत भट्टराई तथा अतिथिहरूमा प्रदेश सचिवालय सदस्य पूर्णबहादुर अमगाईं ‘सुबोध’, दीपक शाही सुरेश, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष शर्मिला गोले र नेकपा (माओबादी केन्द्र) रत्ननगर नगरसमितिका अध्यक्ष मेघनाथ पौडेल लगायत रहेका थिए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रत्ननगरकी अध्यक्ष चन्द्रकला पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव चन्द्रकला पौडेलले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष सीता नेपालले गरेकी थिइन् ।

कार्यक्रममा दिदीबहिनीहरूले आफ्नै रचनामा आधारित मौलिक तीज गीतहरू तथा थारु समुदायको परम्परागत झाम्टा नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक विविधता, मौलिकता र उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो ।

५०० जनाभन्दा बढी महिला दिदीबहिनीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा महिला एकता, सांस्कृतिक संरक्षण र सामाजिक सन्देश दिएको अध्यक्ष चन्द्रकला पनेरुले जानकारी दिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।