२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

भक्तपुर । चक्रे मिलन भनेर चिनिने मिलन गुरूङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबारै धरौटीमा छाड्न आदेश दिएको थियो ।

२०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेस्टुरेन्टमा मनीष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाडौँको महाराजगञ्जस्थित साम्बाला होटलबाट मध्यराति चक्रे मिलन पक्राउ परेका थिए । प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो ।

शुक्रबार नै बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

बागमती । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभा चामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सपथग्रहण गराए ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारी बिना विभागीयमन्त्री र कृष्णा तामाङ खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बनेका थिए ।

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवार दिइएको छ । यस्तै, मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी विकास मन्त्री, डा दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गरेका थिए ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय तथा पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा डेंगु सचेतना तथा लामखुट्टेको बासस्थान खोज र नष्ट अभियान सुरू भएको छ ।

अभियानमा वडाध्यक्ष हेमराज थापाले डेंगु रोग लाग्न नदिन बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र विकल्प रहेकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले डेंगु रोगको लक्षण, रोकथामका उपायहरूबारे जानकारी गराएका थिए । उनले स्थानीयस्तरमा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियान हरेक दुई हप्ताको शुक्तबार सञ्चालन गरिने बताए ।

वडा सचिव मञ्जु पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु रीता विक, सरिता गुरुङ, चीजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, वनदेवी टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र दवाडी, वनदेवी आमा समूहका अध्यक्ष अप्सरा दाहाल, हात्तीगाडे टोल विकास संस्थाका अध्यक्ष गीता गिरी, वडाअन्तर्गतका विभिन्न राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका तथा वडावासीहरूको सक्रिय सहभागिता रहेको थियो ।

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर कार्यसमितिको आयोजनामा नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज तथा थारु महिलाहरुको जितिया पावनीको अवसरमा दरखाने तथा उद्यमशील महिला सम्मान कार्यक्रम रत्ननगर–१ निपनीस्थित होटल स्टारमा सम्पन्न भएको छ ।

कांग्रेस रत्ननगर कार्यसमितिका कार्यवाहक सभापति कमलनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सचिव तथा कार्यक्रम संयोजक अनिता अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमका प्रमुखअतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अन्जनी श्रेष्ठले नेपाली कांग्रेसले महिला सशक्तीकरण, समावेशीकरण र महिला अधिकारको मुद्दालाई जोड दिँदै आएको र पार्टीमा नेतृत्व गर्ने अवसर प्रदान गरेको बताइन् । नारीहरु सशक्तरुपमा एकजुट हुनसके मात्रै राज्यबाट अधिकार प्राप्त हुने उनको भनाइ थियो ।

रत्ननगरमा कांग्रेसका महिला दिदीबहिनीहरुको उत्साहजनक उपस्थिति हेर्दा कांग्रेसको लोकप्रियता अझै बढेको अनुभूति भएको उनले बताइन् । नेतृ श्रेष्ठले जहाँ महिलाको सम्मान र कदर हुन्छ त्यहाँ विकास र समृद्धि पनि हुने भन्दै महिला दिदीबहिनीहरुको उत्साहजनक उपस्थितिमा उद्यमी महिलालाई सम्मान गरेकोमा कांग्रेस रत्ननगर कार्यसमितिप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ, संविधानसभा सदस्य सावित्रीदेवी चौधरी, कांग्रेस नगर सभापति एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल महिला संघ जिल्ला समितिका कोषाध्यक्ष रीता काप्रीले तीज गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा, कांग्रेस चितवनका उपसभापतिद्वय राजीव न्यौपाने, शालिग्राम शर्मा, सीता रिजाल, दिनेश अधिकारीलगायत, बागमती प्रदेश कार्यसमिति सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापति गोविन्द गौतम, महाधिवेशन प्रतिनिधि, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्यमशीलता, आत्मनिर्भरता र समुदायको आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको कदर गर्दै १७ महिला तथा संस्थालाई ‘उद्यमशील महिला सम्मान’ गरिएको थियो ।

सम्मानित हुनेहरुमा विष्णु लामा, फूलमाया श्रेष्ठ, पवित्रा श्रेष्ठ, तारा अर्याल, विद्या खत्री, उषामाया चौधरी, सरस्वती चौधरी, भगवती भट्ट लामिछाने, सरला भट्ट, चण्डिका ढकाल, गोमादेवी अधिकारी, कोपिला श्रेष्ठ, विष्णुमाया तामाङ, विविमाया घलान, प्रगतिशील महिला उद्यमी समूह, सिद्धि गणेश महिला दुना टपरी उद्योग र सियोन फुड एण्ड फ्रोजन प्रोडक्ट इन्डस्ट्रिज रहेका छन् ।

कार्यक्रममा करिब दुई हजारको संख्यामा महिला सहभागी भएका थिए । उनीहरुले एकापसमा नाचगान गरी रमाइलो गर्दै दर खाएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।