२०८३ जेष्ठ २६ मंगलवार
२०८३ जेष्ठ २६ मंगलवार

काठमाडौँ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ ।

शनिबार साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।

कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा शुक्रबार विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले शुक्रबार राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए ।

भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।

भरतपुर । बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीको अध्ययन गरी समस्या समाधानका लागि प्रदेश सरकार लाग्ने बताएकी छन् ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समस्या ग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने बताइन् । बागमती प्रदेश सरकारले सहकारीको समस्या समाधानका लागि विशेष पहल गर्ने उनले बताइन् । समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गरिने उनले बताइन् । उनले भनिन्, “समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गर्नेगरी अध्ययन गरेर काम गछौँ ।”

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताइएको थियो । सभापति खनालले समस्याग्रस्त सहकारीको समस्या औँल्याएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए । अहिले देशभर यो समस्या रहेको बताउँदै उनले समस्या समाधानका लागि बागमती प्रदेशबाट महत्त्वपूर्ण काम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमअघि नवनियुक्त मन्त्री पौडेलले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपीको शालिकमा माल्यार्पण गरेकी थिइन् ।

यस्तै, शनिबार उनलाई भरतपुर–१, देवद्धार देवघाटधाममा रहेको वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमले पनि बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

परिषद्का केन्द्रीय सदस्य एवम् परिषद्बाट सञ्चालित समावेशी गुरुकुलका संयोजकसमेत रहेकी मन्त्री पौडेललाई परिषद् परिवारले सम्मान गरेको हो । आश्रम परिसर वागीश्वरीमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले आध्यात्मिक परिषदबाट सञ्चालित, गौशाला गुरुकुल, प्राकृतिक चिकित्सालगायतका प्रकल्पहरुले ऐतिहासिक भूमि बागीश्वरीको संरक्षण अभियानमा टेवा पुगेको बताउँदै यस्ता महत्त्वपूर्ण क्षेत्रको संरक्षणमा लागिपर्ने बताइन् ।

सो अवसरमा बोल्दै परिषद्का संरक्षक ईमा माता (नागकन्या)ले राष्ट्रगुरु योगी नरहरिनाथले मातृशक्तिलाई सदैव अगाडि बढाउन लाग्ने विगत सम्झिइन् । उनले नवनियुक्त मन्त्री पौडेलले गुरुदेवको समाज रुपान्तरणको अभियान पछ्याएकोमा खुसी व्यक्त गर्दै समावेशी गुरुकुलले नै समाजका विभेद चिर्न सहयोग पुग्ने बताइन् ।

परिषद्का अध्यक्ष अशोक पोखरेलले परिषद्का केन्द्रीय सदस्य एवं परिषद्बाट सञ्चालित समावेशी गुरुकुलका संयोजक मन्त्रीजस्तो गरिमामय स्थानमा पुग्न सक्नु गौरवको क्षण भएको बताए । उनले मन्त्री पौडेलले राजनीतिसँगै यस्ता भूमिहरु चिनाउने अभियानलाई पनि सँगसँगै डो¥याउन सकेको भन्दै खुसी व्यक्त गरे ।

गुरुकुलका प्राचार्य खिमनाथ चालिसेले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस चितवनका पार्टी सभापति राजेश्वर खनाल, परिषद्का संरक्षकहरु शान्तप्रसाद पोखरेल, शैलेन्द्र पिया, उपाध्यक्ष सुकमाया भुजेल, महासचिव दुर्गाप्रसाद भण्डारी, परिषद् सहसचिव मित्रराज केसी, कोषाध्याक्ष रीना कोइरालालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री पौडेलले गुरुकुलका बटुकको लागि स्टेसनरी सहयोग गरेकी छन् । सो गुरुकुलमा सबै जातजातिका समावेशी विद्याथीहरु आवासीय सुविधाका साथ अध्ययन गर्दै आएका छन् ।

रत्ननगर । राधामाधव समिति नेपालको आयोजना एवम् सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका समन्वय समिति रत्ननगरको समन्वयमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बकुलहर रत्ननगर अस्पतालका बिरामीहरुलाई फलफूल तथा नवजात शिशुलाई न्यानो कपडा वितरण गरिएको छ ।

राधामाधव समिति नेपालका अध्यक्ष हरिशरण पाठकको अध्यक्षता एवम् रत्ननगर–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवाली, रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, नर्सिङ प्रमुख अम्बिका पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाल, बकुलहर रत्ननगर अस्पतालका जनस्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका समन्वय समिति रत्ननगरका संयोजक रीना गिरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्वयंसेविका मीना पौडेलले गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्यकेन्द्रका इन्चार्ज, स्वास्थ्यकर्मीहरु, अस्पतालका डाक्टर तथा नर्स एवम् स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

अस्पतालका आकस्मिक र अन्य वार्डहरुका बिरामीहरुलाई फलफूल, जुस र नवजात शिशुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु सचेतना तथा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान रत्ननगर–२ स्थित बकुलहर रत्ननगर अस्पताल परिसरबाट सुरू गरिएको छ ।

कार्यक्रममा डेंगु रोगबारे जानकारी दिँदै स्वास्थ्य शाखा माधवप्रसाद पौडेलले बकुलहर रत्ननगर अस्पताल परिसरबाट सुरू भएको यो अभियान प्रत्येक दुई साताको एक दिन शुक्रबार पारेर १६ वटै वडाका लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन हुने बताए ।

उनले रोग लाग्नुअगावै सचेतना र घर वरपरको सरसफाइ गर्दै लामखुट्टेको वृद्धि विकास रोक्नेतर्फ सबै नगरवासी लाग्नुपर्ने र यस अभियानमा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

यस्तै, बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवालीले समाजलाई आक्रान्त पार्ने चुनौतीका रुपमा डेंगु रोग रहेकोले सबै तहका सरकारले हातेमालो गर्दै लामखुट्टेको चक्रलाई तोड्दै अभियान सफल पार्न आग्रह गरे ।

रत्ननगर–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले डेंगु नियन्त्रणका लागि दिनहुँ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । आफू विगतमा डेंगुबाट पीडित भएकाले यसको पीडा भोगेको अनुभव सुनाउँदै हरेक घर, टोल, समुदाय र स्वास्थ्य संस्थाको समन्वयमा दैनिकरुपमै अभियान सञ्चालन गर्नुपर्ने र त्यसका लागि आफ्नो वडाको साथ सहयोग रहने बताए ।

अभियानमा १६ वटै वडाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । नगरपालिकाले १६ वटै वडामा माइकिङ गरी नगरवासीलाई सचेतना प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । अभियानअन्तर्गत अस्पताल क्षेत्र, टाँडी बजारलगायतका स्थानमा लामखुट्टेको बासस्थान नष्ट गरिएको थियो ।

भरतपुर । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको तीन दिनमै युट्युबमा ३० लाख ३० हजारभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको सो गीतमा १ लाख ६९ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।

तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् । गत वर्ष पनि उनको तीज गीत ‘आइन आमा यो तीजमा‘’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो ।

माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आएकी छन् । कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उनका हरेक लोकदोहोरी गीत सफल छन् ।

सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी‘’ मा लैङ्गिक असमानताले निम्ताएको नारी वेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ–

‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको‘’

गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई समात्न सफल भएको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झल्को दिएको छ । यतिबेला हरेक ठाउँमा उनकै गीत घन्किरहेको छ ।

भरतपुर । लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘छड्के तिलहरी’ सनराइज म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्द सुधा मरहट्ठाले लेखेका हुन् भने सङ्गीत तथा एरेञ्ज किरण कँडेलको रहेको छ । गीतको निर्माणमा अनुराग परिहारको विशेष योगदान रहेको छ ।

भिडियोमा अस्मिता रन्पाल, विपना शर्मा, तुलराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय देख्न सकिन्छ। दिनेश मुस्कानको निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका हुन् । सम्पादन र कलर मिलन विश्वकर्माले गरेका छन् ।

गीतले परम्परागत नेपाली आभूषण ‘छड्के तिलहरी’लाई सांस्कृतिक र भावनात्मक कथामा बाँधेर प्रस्तुत गरेको छ। लोकधुन र आधुनिक शैलीको संयोजन भएको यस गीतमा प्रेम, गाउँघरको जीवनशैली र संस्कृतिको मिठास दर्शाइएको छ ।

‘छड्के तिलहरी’ सार्वजनिक भएको केही घन्टामै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भरतपुर । विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनको तयारी गरिरहेको निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति चितवन र शिक्षा समन्वय इकाइ चितवनमा ज्ञापन पत्र बुझाएको छ ।

प्याब्सन चितवनका अध्यक्ष मदन पुरी नेतृत्वको निजी विद्यालय सञ्चालकहरूको एक टोलीले शुक्रबार आफ्ना मागहरू समेटिएको ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पुरीले शिक्षा निःशुल्क गर्ने नाममा सरकारले हचुवाका भरमा ल्याउन लागेको विधेयक लगानीमैत्री नभएको र यसले निजी विद्यालयलाई तहस–नहस बनाउने बताउँदै सरकारले आफ्ना जायज माग पूरा नगरे आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

उनले भने, ‘वार्षिक ७.२ प्रतिशत जिडिपीमा योगदान पुर्‍याइरहेको र चार लाख रोजगारी सिर्जना गरिरहेको क्षेत्रलाई सरकारले अर्घेलो व्यवहार गरेको छ’, उनले भने, ‘निरन्तर बदलिने नीतिले निजी विद्यालयहरू अस्थिरता अन्योलपूर्ण वातावरणमा काम गर्न बाध्य हुनुपरेको छ ।’ उनले राज्यको काम नियमन गर्ने हो तर राज्यले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारीलगायतलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख भएअनुसार विचाराधीन विधेयकमा भएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बानइनेछ’ भन्ने वाक्यांशप्रति प्याब्सनको चर्को आपत्ति रहेको छ । व्यक्तिगत एवम् समूहगतरूपमा लगानी गरी सञ्चालन गरिएका निजी विद्यालयलाई सरकारीकरण गर्न दुई आर्थिक वर्षको सम्पूर्ण बजेटले पनि भ्याउने अवस्था छैन, यस्तोमा सरकारले हचुवाका भरमा विद्यालयलाई गैरनाफामूलक बनाउन असम्भव रहेको छ ।

विधेयकमा समावेश भएको ‘निजी विद्यालयले १५ प्रतिशत पूर्णछात्रवृत्ति दिनुपर्ने प्रावधानप्रति पनि प्याब्सन चितवनले आपत्ति जनाएको छ । ज्ञापन पत्रमा माग गरिएअनुसार अहिले चलिरहेको १० प्रतिशत कायम गर्नुपर्ने र छात्रवृत्तिमा मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क मात्र समावेश गरिनुपर्ने माग राखेको छ । प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलका अनुसार विधेयकमा व्यवस्था भएअनुसारको छात्रवृत्ति लागू हुँदा शुल्क वृद्धि गर्नुपर्ने बाध्यता आइपर्ने र र अहिलको अवस्थामा शुल्क वृद्धि गर्दा अभिभावकलाई थप मार पर्नेछ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले विधेयक विचाराधीन नै रहेकोले अहिले नै आत्तिनपर्ने अवस्था नरहेको र यो अहिले अनुसन्धानकै अवस्थामा रहेको बताएका थिए । त्यस्तै, जिल्ला समन्वय समिति चितवनका एक सदस्यले सरकारले निजी विद्यालयका जायज माग पूरा गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी शिक्षा समन्वय इकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटाले जायज मागहरूप्रति आफू ऐक्यबद्ध रहेको बताएका थिए ।

पालिकागतरूपमा देशभर रहेका प्याब्सन कार्यालयले बिहीबार सम्बन्धित पालिकाहरूमा ज्ञापन पत्र बुझाएका थिए भने शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापन पत्र बुझाइएको अध्यक्ष पुरीले जानकारी दिए ।

उनले भने, ‘हामीले विनम्रतापूर्वक सरकारसमक्ष आफ्ना जायज माग राखेका छौँ, सरकार वार्ताको माध्यमबाट समाधान खोज्न चाहन्छ भने हामी वार्तामा बस्न तयार छौँ, तर बलपूर्वक विधेयक पास गर्न खोजिए आन्दोलनको विकल्प छैन ।’

भरतपुर । गायक गणेश थापाको स्वरमा आधारित नयाँ कृष्ण भजन सार्वजनिक गरिएको छ। भक्तिभावले भरिएको यस भजनमा शब्द अभिषेक सिटौलाले लेखेका हुन् भने संगीत बिपिन घिमिरेले दिएका छन् ।

भजनमा धार्मिक आस्थालाई समेट्दै परम्परागत र आधुनिक संगीत संयोजन गरिएको छ। गीतको एरेञ्ज पुरूषोत्तम सुवेदीले गरेका छन् । कोरस गायनमा अनूमा चौधरी, शिला प्रधान, कुमार केसी र बिपिन घिमिरे सहभागी छन् ।

नेपाली मौलिक बाजा मादल र खैंजडी पोषण घर्ती मगरले बजाएका छन् भने बाँसुरीमा रत्न बी.के. र सारंगीमा मनिष गन्धर्वको वादन रहेको छ। गिटार बिकाश सुनारले सम्हालेका छन् । गीतको रेकर्डिङ, मिक्सिङ तथा माष्टरिङ कुमार केसीले गरेका हुन्। सम्पूर्ण अडियो ‘फिल स्टुडियो’मा तयार गरिएको हो ।

भिडियो निर्देशन जीवन शाहीले गरेका छन् भने छायांकन र सम्पादन सुशील डाँगीको रहेको छ। भजनको निर्माण सबला थापाले गरेकी हुन् ।

निर्माण टिमका अनुसार श्रीकृष्णको महिमा र भक्तिभाव प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यस भजनले विशेषगरी हिन्दू धर्मावलम्बीहरूमा आध्यात्मिक प्रेरणा जगाउने विश्वास गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिक भावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरो सन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारण रह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेको अवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवन जोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाई सुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह र माया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो।

क्षितिज विक्रम खनाल

गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ। बाल्यकालमा उनले माखन चोरी गरेका, ग्वालिनीहरूसँग खेल्दै बाँसुरी बजाएका, साथीहरूलाई रमाइलो गराएका कथा प्रचलित छन्। तर यी रमाइला कथाभित्र पनि गहिरो शिक्षा लुकेको छ। उदाहरणका लागि, गोवर्धन पर्वत कान्छी औंलाले उठाएको कथा केवल चमत्कार मात्र होइन, दम्भी इन्द्रको करप्रणालीविरुद्ध जनतालाई संगठित गर्ने आन्दोलन पनि हो। यसले जनतालाई संगठित भएर अन्यायविरुद्ध उठ्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्दछ। यसरी बाल्यकालमै कृष्णले साहस, नेतृत्व र संगठनको शक्ति देखाएका थिए।

वयस्क भएपछि कृष्णले मथुरामा कंशको वध गरेर अत्याचारको अन्त्य गरे। तर यहाँ उल्लेखनीय कुरा के हो भने, उनले आफैंलाई राजा घोषणा गरेनन्। बरु, कंशकै पिता उग्रसेनलाई फेरि गद्दीमा बसालिदिए। यसबाट कृष्णले नेतृत्वको असली स्वरूप देखाए। नेतृत्व पद वा शक्ति प्राप्ति होइन, जिम्मेवारी, आदर्श र त्याग हो भन्ने शिक्षा उनले आफ्नो व्यवहारबाट दिए। आजको समाजमा जहाँ धेरैजसो नेता स्वार्थका लागि कुर्सीमा टाँसिन्छन्, त्यहाँ कृष्णको यो दृष्टिकोण प्रेरणादायी छ।

महाभारतको युद्ध कृष्णको जीवनको अर्को महत्वपूर्ण अध्याय हो। पाण्डव र कौरवबीचको संघर्ष केवल राजगद्दीको लडाइँ थिएन, यो धर्म र अधर्मबीचको निर्णायक टक्कर थियो। अर्जुन आफ्ना आफन्तहरूसँग युद्ध गर्नुपर्ने अवस्थामा निराश भएका बेला कृष्णले दिएको उपदेश नै भगवद्गीता हो। गीता आज केवल हिन्दू धर्मग्रन्थ मात्र होइन, विश्व दर्शनको महान् ग्रन्थ मानिन्छ। यसले कर्मयोग, भक्तियोग, ज्ञानयोगका सिद्धान्त प्रस्तुत गर्दछ। कृष्णले भनेका थिए—कर्तव्य पालना गर, परिणामको मोह नगर। यो सन्देश आज पनि जीवनलाई सरल, अर्थपूर्ण र संतुलित बनाउन उपयोगी छ। आधुनिक प्रतिस्पर्धा र तनावले ग्रस्त मानिसका लागि गीता नै मानसिक शान्तिको आधार बन्न सक्छ।

कृष्णको जीवनलाई सामाजिक दृष्टिले हेर्दा पनि उनी अद्वितीय देखिन्छन्। संस्कृतको ‘कृष्’ धातुबाट बनेको कृष्ण शब्दको अर्थ जोत्नु, खन्नु, खेती गर्नु हुन्छ। यस हिसाबले कृष्ण कृषक संस्कृतिका आरम्भकर्ता मानिन्छन्। ग्वालाको रूपमा उनले पशुपालनलाई सम्मान दिलाए, दुग्धजन्य उत्पादनलाई मूल्यवान् बनाए। उनले अन्नधान्यको महत्व बुझाए, सञ्चय र उत्पादनलाई व्यवस्थित गरे। यसरी कृषक, पशुपालक र श्रमिकलाई समाजमा प्रतिष्ठा दिने कार्य उनले गरे। आज पनि हाम्रो समाजमा श्रमलाई दोस्रो दर्जामा हेर्ने प्रवृत्ति छ, तर कृष्णले श्रमलाई गौरव दिलाएका थिए। यस अर्थमा उनी केवल भगवान् होइनन्, श्रमिक वर्गका अभिभावक पनि हुन्।

कृष्णको वर्ण कालो थियो। तर उनी आकर्षक थिए। उनको कालो वर्णले तत्कालीन समाजमा विद्यमान सुन्दरताको परिभाषा बदलिदियो। त्यतिबेला गोरालाई मात्र सुन्दर मान्ने प्रवृत्तिलाई कृष्णले उल्टाइदिए। यसरी उनले विविधतालाई स्वीकार्ने दृष्टि समाजलाई दिए। आधुनिक समाजमा अझै पनि जात, भाषा, धर्म, लिङ्ग र वर्णका आधारमा भेदभाव हुने गरेको छ। कृष्णको जीवनले सिकाउँछ—सुन्दरता र मूल्य आन्तरिक गुण र कर्ममा हुन्छ, बाह्य स्वरूपमा होइन। यो दृष्टिकोण आज पनि अत्यन्त सान्दर्भिक छ।

श्रीकृष्णको जीवनसँग जोडिएको अर्को बहसिलो पक्ष हो—उनका श्रीमतीहरूको कथा। कतिपयले यसलाई नकारात्मक दृष्टिले हेर्छन्, बहुविवाहको दोष लगाउँछन्। तर यथार्थमा भौमासुरले अपहरण गरेका हजारौँ युवतीलाई कृष्णले उद्धार गरेर पुनःस्थापित गरेका थिए। त्यस समयमा समाजले यस्ता महिलालाई स्वीकार नगर्ने स्थिति थियो। कृष्णले भने उनीहरूलाई सम्मानका साथ आश्रय दिए। यसलाई केवल विवाहको प्रसङ्ग होइन, सामाजिक पुनःस्थापनाको जिम्मेवारीको रूपमा बुझ्नुपर्छ। आज पनि महिला हिंसा, अपहरण वा बेचबिखनका पीडितलाई समाजले सजिलै स्वीकार गर्दैन। यस्तो अवस्थामा कृष्णको उदाहरणले हामीलाई गहिरो शिक्षा दिन्छ—मानवताको पहिलो कर्तव्य पीडितलाई आत्मसात् गर्नु हो।

कृष्णको जीवन कला, संगीत र प्रेमसँग पनि गहिरो रूपमा जोडिएको छ। उनले मुरली बजाए, रासलीला गरे, वनमालीको प्रतीकमार्फत सौन्दर्यलाई सम्मान दिए। यसरी उनले जीवनलाई कलात्मक बनाए। उनले देखाए—जीवन केवल संघर्ष मात्र होइन, प्रेम, रमाइलो र सौन्दर्य पनि हो। यही कारण कृष्णलाई पूर्ण व्यक्तित्व मानिन्छ। युद्धका बेलामा अर्जुनलाई योग शिक्षा दिने कृष्ण शान्त समयमा मुरली बजाएर गाउँलाई रमाइलो बनाउँथे। यो जीवनको सन्तुलन हो, जुन आजको समाजले पनि सिक्नुपर्ने कुरा हो।

आज हामी आधुनिक समाजमा छौँ। विज्ञान, प्रविधि र विकासको दौड भए पनि समाजमा असमानता, अन्याय, भ्रष्टाचार, हिंसा र विभाजन अझै छन्। यस्तो अवस्थामा कृष्णको जीवन र शिक्षाको महत्व अझ बढ्छ। कंश र इन्द्रविरुद्ध लडेजस्तै हामीले पनि शोषण र अन्यायविरुद्ध आवाज उठाउनुपर्छ। गोवर्धन पर्वत उठेजस्तै जनता संगठित भए जुनसुकै शक्तिशालीलाई पनि परास्त गर्न सकिन्छ। कृषक कृष्णको आदर्शले हामीलाई श्रम र उत्पादनलाई सम्मान गर्न सिकाउँछ। कृष्णको कालो वर्णले विविधतालाई आत्मसात् गर्न प्रेरणा दिन्छ। अपहृत युवतीलाई आश्रय दिने मानवीयता आजका पुनःस्थापनाका प्रयाससँग मेल खान्छ। गीता हाम्रो जीवनलाई मार्गदर्शन गर्न सक्ने दार्शनिक आधार हो। यी सबै शिक्षाले हामीलाई केवल धार्मिक विश्वास नभई सामाजिक चेतना र नैतिक जीवनशैली दिन्छ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदा हामी केवल मन्दिरमा फूल, धुप र नैवेद्य चढाएर मात्र नबसौँ। त्यो श्रद्धा अधूरो हुन्छ यदि हामीले कृष्णको जीवनबाट शिक्षा लिएनौँ भने। कृष्णले देखाएका गुणहरू—साहस, नेतृत्व, त्याग, संगठन, श्रमप्रतिको सम्मान, विविधताको स्वीकृति, प्रेम र कला, मानवताको उदारता—यी सबैलाई हामीले व्यवहारमा उतार्नुपर्छ। यदि हामीले यी गुणलाई आत्मसात् गर्न सक्यौँ भने हाम्रो जीवन मात्र होइन, हाम्रो समाज पनि न्यायपूर्ण, समावेशी र समृद्ध बन्न सक्छ।

यस अर्थमा श्रीकृष्ण केवल भक्तका भगवान् मात्र होइनन्, सम्पूर्ण मानवका गुरु हुन्। उनको जीवन दर्शनले हामीलाई सिकाउँछ—धर्म भनेको अनुष्ठान मात्र होइन, सत्य, न्याय र प्रेममा आधारित जीवन हो। कृष्णलाई अन्धविश्वासका रूपमा होइन, शिक्षाको स्रोतका रूपमा बुझौं। उनको जीवन आदर्शलाई आत्मसात् गरेर हामी आफैँ पनि आफ्नो क्षेत्रमा कृष्ण बन्न सकौँ। यही हो श्रीकृष्ण जन्माष्टमीको वास्तविक महत्त्व।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।