२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

भक्तपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ ।

आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गरे ।

मन्त्री थापाले भने, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौँ, त्यसैले प्रदेशका १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमाभित्र समेटेर बिमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी कार्यक्रम लागू गर्ने भएका हाैँ, त्यसका लागि बजेटको व्यवस्था गरिसकेका छौँ ।”

उनले पत्रकार स्वास्थ्य बिमाका लागि मन्त्रालयले रु २० लाखको बजेट चालु आर्थिक वर्षका लागि व्यवस्था गरेको जानकारी दिँदै यसका लागि कार्यविधि तयार भइरहेको बताए । बिमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउँदै पत्रकारलाई पाँच जनाको परिवार मानेर समूहमा आबद्ध गराएर बिमाको प्रिमियम सरकारले तिर्नेगरी व्यवस्था गर्ने तयारी भएको उनले बताए ।

मन्त्री थापाले पत्रकारको स्वास्थ्य सुरक्षामा बिमाले दीर्घकालीन रूपमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसैवर्षदेखि सञ्चालन हुने जानकारी दिए ।

मन्त्री थापाले १३ जिल्लाका १३ प्रादेशिक अस्पताल मात्रै नभइ अब दूरदराजका विकट क्षेत्रका नागरिकलाईसमेत सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर आमनागरिकले सरकार गाउँगाउँ पुगेको महसुस गर्नेगरी कार्ययोजना अगाडि बढाइएको बताए । स्वास्थ्य सामग्री, औषधि, उपकरण लिएर आफैँ गाउँगाउँ पस्ने गरेको भन्दै उनले जनताले परिवर्तनलाई अनुभूति गर्नेगरी सबैले काम गर्नुपर्नेमा जोड दिए ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगर नगर कमिटीको आयोजनामा तीज तथा जितिया पर्वको अवसरमा दर खाने र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर-१ स्थित हरिहर ब्याङ्केटमा आयोजित कार्यक्रम नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले महिला दिदीबहिनीहरूको सक्रियताले मात्र एमालेलाई पुरानो सशक्त अवस्थामा फर्काउन सकिने बताउँदै पार्टी निर्माणमा जुट्न आग्रह गरे । एमाले कमजोर भए देश कमजोर हुने भन्दै उनीहरूले ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार पार्न आगामी निर्वाचनमा एमालेको जित अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रमका प्रमुखअतिथि थपलियाले रत्ननगरमा महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले एमालेको प्रभाव थप बलियो बन्दै गएको अनुभव भएको बताए । उनले नयाँ भनिएका राजनीतिक दलहरूले जनतालाई झुटा आश्वासन दिइरहेको आरोप लगाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेले सबै तहमा जित हासिल गर्ने दाबी गरे ।

“तीजमा महिलाहरूले निराहार व्रत बसेर कठिन परिस्थितिको सामना गरेजस्तै, हरेक तहमा मेहनत र लगनशीलताका साथ पार्टी निर्माणमा जुटेमा एमालेलाई कसैले घेराबन्दी गर्न सक्दैन”, उनले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभा बरालले देशका हरेक परिवर्तनमा महिलाहरूको प्रमुख योगदान रहेको उल्लेख गर्दै महिलाहरूको सहभागिता बिना कुनै पनि परिवर्तन सम्भव नभएको बताइन् । उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले देशहितमा जारी अध्यादेशहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गराउँदै महिलाहरूलाई थप सक्रिय हुन प्रेरित गरिन् ।

यस्तै, एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठकले चौतर्फी घेराबन्दीका बीच पनि एमाले आफ्नै गतिमा अगाडि बढिरहेको बताउँदै कुनै पनि शक्तिले एमालेलाई कमजोर बनाउन नसक्ने दाबी गरे ।

पार्टी जिल्ला उपसचिव ज्वाला पुरी वनले निर्वाचनमा महिलाहरू निर्णायक शक्ति रहेको भन्दै एमालेलाई संरक्षण र सशक्तीकरण गर्न आग्रह गरिन् ।

कालिका । महिलाहरूको महान् पर्व तीजको अवसरमा कालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले आइतबार तीज विशेष गीत प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष हरिकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले तीज पर्वले नेपाली समाज र संस्कृतिलाई जोड्न र आफन्तजनलाई भावनात्मक सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताइन् । यस्तै, महिला सशक्तीकरण, अधिकार र सामाजिक न्यायका निम्ति मह¤वपूर्ण भूमिका खेल्ने भएकाले संस्कृतिका नाममा बढिरहेको विकृतिलाई पनि निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विशिष्टअतिथिहरु कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्तान र पदमपुर सबडिभिजन वन कार्यालयका बालकृष्ण खनाल, सामुदायिक वन महासंघ वन उपभोक्ता समूहकी अध्यक्ष विष्णुकुमारी सापकोटा लालीगुरास टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, संस्थाका पूर्वअध्यक्ष सरोज गुरूङलगायतले मन्तव्य राखेका थिए ।

वन, वन्यजन्तु तथा वातावरण संरक्षणको सन्देशसहित आयोजना गरिएको प्रतियोगितामा गडुवा टोल विकास संस्थाले प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, लालीगुराँस टोल द्वितीय भई ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र सगरमाथा टोल विकास संस्था तृतीय भई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।

सान्त्वनातर्फ सिन्धुपाल्चोक टोल विकास संस्था र कामना टोल विकास संस्थाले जनही एक÷एक हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत भए ।

प्रतियोगिताको निर्णायकमा गायक दशरथ सापकोटा र गायिका जुना डल्लाकोटी रहेका थिए । कार्यक्रम सञ्चालनको कार्यालय सचिव बुद्धि बमजनले गरेका थिए ।

चितवन । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट मात्रै छुट्याए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ ।

भरतपुर महानगरपालिकामा आठ वर्षको अवधिमा एक हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन् । यसबाहेक संघ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन् ।

महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे गरिएको थियो । दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किमि सडक बनेको छ । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमिभन्दा बढी सडक बन्ने छ ।

‘विकासको पहिलो आधार सडक नै हो’, उनले भनिन्, ‘कतिपयले कालोपत्रे गरेर विकास होइन भनेको सुनिन्छ । सडकले नै अन्य विकासलाई जोड्छ । समयको बचत हुन्छ । ट्रान्सपोर्टेसनमा लाग्ने लागत घटेर जान्छ । सबै क्षेत्रलाई सहज बनाउँछ ।’

महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यकरण गर्ने नीति लिएको छ । निर्माण भएका सडकको दाया–बाया वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्डपथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग पहलमा निर्माण भइसकेको छ ।

महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्डपथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ ।

महानगरको चक्रपथ ८८ किलोमिटर छ । सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।

रत्ननगर । हरितालिका तिजको अवसरमा रत्ननगर–१६, पिठुवामा आयोजना गरिएको बृहत् तीज गीत प्रतियोगिता शनिबार सम्पन्न गरिएको छ । “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने शीर्षकमा आयोजित प्रतियोगितामा वडाभित्रका विभिन्न टोल विकास संस्था तथा संघसंस्थाबाट ११ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा जौबारी टोल विकास संस्थाले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, भानु मेमोरियल आवासीय माध्यमिक विद्यालय द्वितीय हुँदै १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने खैरेटी टोल विकास संस्था तृतीय स्थानमा रही १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

सान्त्वना पुरस्कारतर्फ वनदेवी टोल विकास संस्था, हात्ती गाडी टोल विकास संस्था र नमुना कुँवर टोल विकास संस्थाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, उत्कृष्ट नृत्यतर्फको उपाधि पनि जौबारी टोल विकास संस्थाकी आयुष्मा बजगाईंले जितेकी छन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा कार्यक्रम संयोजक पुरुषोत्तम लामिछानेले कार्यक्रमसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पिठुवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेल, पिठुवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्र घिमिरे, राप्रपाका वडाध्यक्ष डिल्ली गौतम, पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ, वडा सचिव मञ्जु पौडेल, जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारी, पिठुवा गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश घलान, सामाजिक व्यक्तित्व जयन्द्रकुमार श्रेष्ठ, वडास्तरीय जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष प्रेमप्रसाद पन्त, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरि पनेरु, भद्रकाली माविका प्रधानाध्यापक चिरञ्जीवी खनाललगायतको सहभागिता रहेको थियो ।

वडा सदस्य रीता विकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपहार कोइरालाले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने उद्यमी महिलाद्वय मुना कोइराला र सन्तोषी पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका वडाध्यक्ष हेमराज थापाले वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने योजनाअनुरूप तीज गीत प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक सूचकहरू पूरा गर्दै निकट भविष्यमा वडा वातावरणमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।