
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो ।
विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो । नक्सा बनाउन रु २२ लाख हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको उनले बताए ।
यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ ।
दीर्घकालिन प्रभावका महत्त्वपूर्ण काम भइरहेको उनले बताए । भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्त्वपूर्ण कामअघि बढेको उनको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् ।
रत्ननगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रत्ननगरको आयोजनामा दुईदिने प्रशिक्षक प्रशिक्षण (स्कुलिङ) कार्यक्रम सोमबारदेखि रत्ननगरमा सुरू भएको छ ।
माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुखअतिथि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम दाहालले गरेका थिए ।
कार्यक्रममा प्रदेश कोषाध्यक्ष सङ्गीता भट्टराई, नगर इन्चार्ज एवम् प्रदेश सदस्य पूर्णबहादुर अम्गाईं (सुबोध), रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, दीपक शाही, ऋषिराम चापागाईं, सरोज भण्डारी, निवर्तमान अध्यक्ष श्याम बराल, नगर उपाध्यक्ष गणेश पौडेल, जीवनलाल श्रेष्ठ, विष्णु पोख्रेललगायतको उपस्थिति रहेको थियो ।
नगर सचिव मोहन भट्टराईले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, संगठन र नेतृत्व, सत्ता सञ्चालन र उत्पादन, कम्युनिस्ट आन्दोलनको इतिहास (विश्व र नेपाल), संगठन सञ्चालन पद्धति (बैठक, माइन्युट र प्रतिवेदन), प्रशिक्षण पद्धति र कला, प्रभावकारी निर्वाचन परिचालन कला तथा सामाजिक सञ्जाल र संगठन (एआई÷आइटी) लगायतका विषयमा प्रशिक्षण गरिने नगर उपाध्यक्ष गणेश पौडेलले जानकारी दिए ।
कार्यक्रममा नगर कमिटी सदस्य तथा पार्टीका वडा कमिटीका अध्यक्षहरु तथा सचिवहरुको सहभागिता रहेको छ । कार्यक्रममा सूर्य सुवेदी ‘पथिक’, ऋषिराम चापागाईं र होमप्रसाद भट्टले प्रशिक्षण दिनेछन् ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत सोमबार उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरू गरेको बताएकी छन् । ‘यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ’, मन्त्री डा राणाले उल्लेख गरेकी छन् ।
यसैगरी, गत असोजमा दोहामा आयोजित ‘एसियन कोअपरेसन डाइलग’ (एसिडी) सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् ।
इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतसँग भेटेरै डा राणाले विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासबीच युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाएको स्मरण गरेकी छन् ।
उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
यस्तै, इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी मन्त्री डा राणाले सोही आग्रह गरेकी थिइन् । त्यस क्रममा उनले हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिइन् ।
यसैगरी, इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट मन्त्री डा. राणाले आग्रह गरेकी थिइन् । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहँदा मन्त्री डा राणाले त्यहीबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।
उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
मन्त्री डा. राणाले नेपाल सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै विपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गरेकी छन् ।
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व भएकमो उनको भनाइ छ । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका भन्दै मन्त्री राणाले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेको जानकारी पनि गराएकी छन् ।
भरतपुर । गायिका गंगा सुवेदीको गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक भएको छ । कम्पोजर एरेन्जर, साथै गीतको भावलाई शब्दमा ढाल्न र गीतको बीचमा स्वर भर्ने कार्य राजेन्द्र बजगाईंले गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि महत्त्वपूर्ण सहयोग गरेका छन् ।
यो गीत केवल सिर्जना मात्र होइन, सुवेदी परिवारले भोगेको गहिरो पीडा र जीवनका कठोर अनुभूतिहरूको दस्तावेज हो । गंगाको बुबा २०८० साल फागुन २५ गते अकस्मात् संसारबाट बिदा भए । त्यो क्षणले परिवार र गंगाको सम्पूर्ण जीवनमा उतारचढाव ल्याइदियो । घरको मूल आधार, परिवारको भरोसा, सङ्घर्षको प्रेरणा श्रोत बुबाको वियोगपछि सुवेदी परिवार अत्यन्तै विक्षिप्त बनेको स्मरण गंगाले गरेकी छिन् ।
यस वर्षको बाबाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय बुबालाई उपहार स्वरूप सम्झनास्वरुप गंगाले ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । साङ्गीतिक क्षेत्रमा गंगाको यो पहिलो सिर्जना हो । जीवनको सबैभन्दा पिडादायी समयमा छचल्किएका शब्दहरू गीतमा उतारिएको छ ।
चितवन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनको आयोजनामा पहिलो जेएलसिटी जापानी भाषा स्पीच कन्टेस्ट–२०८२ आइतबार भरतपुरस्थित होटल नारायणी ल्यान्डमार्कमा सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूले जापानी भाषामा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगितामा बान्जाई एजुकेसनल कन्सल्टेन्सीका विद्यार्थी समीर श्रेष्ठ प्रथम, हेल्पफुल एजुकेसनल इन्स्टिच्युटका विद्यार्थी दीपसन पाण्डे द्वितीय र इमेज इन्स्टिच्युटका विद्यार्थी प्रदीप कँडेल तृतीय भएका छन् । यस्तै, सान्त्वना पुरस्कार सेन्ट्रल कलेज अफ भोकेसनलका विद्यार्थी संकृति क्षेत्रीले प्राप्त गरेकी छन् ।
कार्यक्रमको सभापतित्व नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईले गरेका थिए । प्रमुखअतिथिका रूपमा नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई उपस्थित भएका थिए भने विशिष्टअतिथिमा नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय महासचिव दीपकराज भुसाल तथा केन्द्रीय प्रथम सचिव भवनाथ हुमागाईं सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन विशाल थापा र ऋषि कँडेलले संयुक्तरूपमा गरेका थिए भने कार्यक्रमको प्रतियोगीहरुको व्यवस्थापन उज्ज्वल आचार्यले गरेका थिए । कार्यक्रमको संयोजन प्रज्ज्वल पौडेलले गरेका थिए ।
नेपाल शैक्षिक परामर्श संघ चितवनका अनुसार यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई जापानी भाषा सिक्न थप प्रेरणा दिने, सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्ने र युवा प्रतिभा उजागर गर्ने उद्देश्य लिएको छ ।
चितवन । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित रहेका नन्दनको आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।
नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदीतनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन् ।
नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।
उनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।
नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय थिए । चार गीतिसङ्ग्रह, एक लघु काव्य र एक कविता सङ्ग्रह प्रकाशित छन् । विसं २०११ सालमै ‘झटारो’ गीतिसङ्ग्रह प्रकाशन गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन् ।
दर्जनौँ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् । उनका गीतिसङ्ग्रहहरु अञ्जली (२०२३), सपनीबाट ब्यूँझेर (२०२३), बिपनीका पाइलाहरु (२०५२), ऐना भित्रको आकाश (२०६३), सिद्धार्थको गृह त्याग लघुकाव्य (२०७४) र पत्रम पुष्पम (कवितासङ्ग्रह) २०७७ प्रकाशित भएका छन् । यस्तै, राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।
उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिकाहरु पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका हुन् ।
नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोलसिमल’ भन्ने गरेका थिए । विसं १९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए ।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौँ साहित्यिक संघसंस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारलगायतका पुरस्कार र सम्मानबाट सम्मानित स्रष्टा हुन् ।
नन्दनको अन्त्येष्टि सोमबार नै देवघाटमा गरिनेछ । उनको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
चितवन । गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागूऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राइममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो । प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ ।
विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो । उनले भने, “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।” लागूऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसूर÷अभद्र व्यबहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए ।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । उनले भने, “चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाई समेत पक्राउ गरी कारबाही गरिएको छ ।”
कालिका । कालिका नगरपालिका वडा नं–३, शान्ति चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
मिलन चोकबाट जनहित स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४० प १०११ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा साइकलयात्री कालिका–३ बस्ने ४५ वर्षीय मानबहादुर गुरूङ, स्कुटर चालक कालिका–६ बस्ने ३० वर्षीया सविना लामिछाने र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ३५ वर्षीया अम्बिकाकुमारी थापा घाइते भएका हुन् ।
स्कुटर चालकको नारायणी सामुदायिक हस्पिटल भरतपुरमा उपचार भइरहेको छ भने गुरूङ र थापाको एलाइभ हस्पिटल भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन प्रहरी बिट पदमपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




