
पेरिस । युक्रेन विवादको समाधानका लागि भइरहेका वार्ताका क्रममा रूसले मंगलबार आफ्नो सुरक्षा र युक्रेनमा रहेका रुसी भाषी समुदायका अधिकारहरू सुनिश्चित गर्ने कुनै पनि शान्ति सम्झौता आवश्यक हुने बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूको सोमबार वासिङ्टनमा भएको बैठकपछि शान्ति वार्ताको सम्भावनाप्रति आशा जागेको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद पनि गरेका थिए ।
तर, रूसले युक्रेनमा जारी द्वन्द्वको समाधान गर्दा ‘रूसको सुरक्षा चासो’ सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ । रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले दुई राष्ट्रपतिबीच हुने सम्भावित भेट ‘धेरै नै व्यवस्थित र सावधानीपूर्वक’ तयार पारिनुपर्ने बताए । यदि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ता हुन्छ भने त्यो तीन वर्षअघि सुरू भएको यो जटिल द्वन्द्वको पहिलो महत्त्वपूर्ण संवाद हुनेछ ।
युद्धमा हजारौँ मानिसहरूको ज्यान गइसकेको छ र अहिलेको अवस्था स्थिर हुँदै जाँदा पनि पूर्ण शान्ति टड्कारो देखिएको छैन । ट्रम्पले वार्तामार्फत युद्ध समाप्त गर्ने प्रयास गरिरहेका छन् भने युरोपेली नेताहरूले पनि यसमा सक्रियता देखाइरहेका छन् ।
लाभरोभले रुसी टेलिभिजनलाई दिएका अन्तर्वार्तामा युक्रेनमा बसोबास गर्ने रुसी भाषी समुदायका अधिकारहरूको संरक्षण नभएसम्म कुनै सम्झौता स्वीकार्य नहुने बताए ।
यसैबीच, फ्रान्स र बेलायतको संयुक्त पहलमा किएभका करिब ३० साझेदार राष्ट्रहरूको भर्चुअल बैठक आयोजना गरिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँले यसलाई ‘विस्तृत जानकारी आदानप्रदानका लागि’ आयोजना गरिएको बताए र जेनेभामा वार्ता हुनसक्ने सम्भावनाको संकेत गरे । माक्रोँले युक्रेनको डोनबास क्षेत्रमा केही भूभागबारे दबाबको विषयमा युरोपेली चासो व्यक्त गरे ।
किएभमा सामान्य जनताले वार्ताप्रति मिश्रित भावना राखेका छन् । ३२ वर्षका एक गोदाम कर्मचारी अन्तोनले भने,“मूल समस्या पुटिन नै हुन् । उनी वार्ता चाहँदैनन् र ट्रम्पलाई पनि अवस्था कसरी सम्हाल्ने थाहा छैन ।”
तर, मस्कोमा केही नागरिकले शान्तिपूर्ण समाधानका लागि आशा व्यक्त गरेका छन् । २३ वर्षीय व्याचेस्लाभले भने,“हामी पारस्परिक लाभका आधारमा सहमत हुन सक्ने आशा राख्छौँ ।” उनले थपे, “यो वार्ता युद्धको सुरूदेखि नै भएको भए राम्रो हुने थियो ।”
ट्रम्पले अलास्कामा पुटिनसँग भएको भेटपछि सोमबार सामाजिक सञ्जालमार्फत पनि पुटिनलाई जेलेन्स्कीसँग वार्ताको तयारी गर्न फोन गरेको जानकारी दिएका छन् । उनले दुई राष्ट्रपतिबीच त्रिपक्षीय शिखर बैठक गर्ने योजना रहेको उल्लेख गरे ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले पुटिनले आगामी दुई हप्ताभित्र जेलेन्स्की सँग द्विपक्षीय वार्ता गर्न सहमति जनाएका जानकारी दिए । जेलेन्स्कीले आफू प्रत्यक्ष भेटका लागि तयार रहेको बताउँदै वासिङ्टनको वार्ता युद्ध अन्त्यतर्फ एक महत्त्वपूर्ण कदम भएको बताए ।
अमेरिका र युरोपेली राष्ट्रहरूबीच युक्रेनलाई १०० अर्ब अमेरिकी डलरको हतियार सहायता उपलब्ध गराउने योजना छ भने जेलेन्स्कीले आगामी १० दिनभित्र सुरक्षा ग्यारेन्टीका औपचारिक सम्झौताहरू हुने बताए ।
अन्त्यमा, युरोपेली नेताहरूले ट्रम्पको पुटिनप्रतिको सम्भावित रुचि र व्यवहारप्रति चासो व्यक्त गरेका छन्, जसले वार्ताको सफलतालाई अझै चुनौतीपूर्ण बनाइरहेको छ । एएफपी
चितवन । ब्लक ब्लस्टर चलचित्र ‘एन्जिला’ का दुई बालकलाकार इनोभ गुरुङ र नमीक्षा मगरको ‘रोधीघर’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चलचित्र एन्जिलामा यी बालकलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । चलचित्र क्षेत्रमा निकै नै सम्भावना बोकेका यी दुई बाल कलाकारले आफ्नो गुरुङ र मगर समुदायको भेषभूषामा सजिएर कौडा नृत्य प्रस्तुत गरेका छन् ।
बाल कलाकार इनोभ गुरुङले कार्टुन क्रुजबाट नृत्य प्रशिक्षण लिएका हुन् भने एक्टिङमा गिरिराज घिमिरेलाई आफ्नो गुरुको रुपमा लिन्छन् उनी । पढाइमा पनि उनी जेहेनदार विद्यार्थीको रूपमा चिनिन्छन् । उनी भन्छन् – ‘पढाई सँगसँगै नाटक गर्न र हेर्न, भ्रमण गर्न, किताब पढ्न र नृत्य गर्न मनपर्छ । मलाई भविष्यमा एउटा कुशल कलाकार बन्न मन छ ।’
इनोभ गुरुङले हालसम्म थुप्रै टिभी सिरियल, लघु चलचित्र, स्टेज कार्यक्रम र चलचित्रहरूमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् । पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको यस गीतमा साहिल स्वयंले सङ्गीत दिएका छन् ।
साहिल लिम्बू र रोजिना बस्नेतको स्वरमा सजिएको यस गीतको भिडियो विजय मगरले निर्देशन गरेका छन् । म्युजिक भिडियो सनम तामाङ र उनको टिमले खिचेको हो भने सनमले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि अभिनय गरेका छन् ।
भिडियोमा निर्देशक विजय मगरले बाल्यकालको प्रेम कथालाई जीवन्त बनाएका छन् । जसमा सुमिन गुरुङ र चाहना मगरलाई रोमान्टिक प्रेमी जोडीको रूपमा प्रस्तुत गरिएको छ िभिडियोमा सन्जिला सुमित्राको कोरियोग्राफी रहेको छ ।
रत्ननगर । जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरमा गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघले निर्माण गरेको सो मूर्तिको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र संघका अध्यक्ष शंकर गिरीले संयुक्तरुपमा अनावरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिङ्गे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउन सहयोग पुग्ने बताए । उनले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरूवात गरेको भन्दै आगामी पुस्ताका लागि पनि सिकाइको विषय बन्न सक्ने बताए ।
संघका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासका लागि सकारात्मक सन्देश प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय परिसरभित्र गैँडाको मूर्ति निर्माण गरिएको जानकारी दिए । उनले चितवन जिल्लाको पहिचानको रुपमा स्थापित एकसिङ्गे गैँडाको मूर्ति प्रशासन कार्यालयमा स्थापना गर्दा जिल्लाप्रतिको माया जागृत हुनुका साथै यसले सफारी पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले संघले सामाजिक उत्तरदायित्व वहन गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा गैँडाको मूर्ति निर्माण गरेको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख गोविन्द पुरी, भरतपुर महानगरपालिका वडा नं–१० का वडाध्यक्ष परमेश्वर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु गोपालराज कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर विसुराल, संघका उपाध्यक्ष रामशरण नेपाल, कार्यसमिति सदस्य रघुनाथ भट्टेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र शर्मा आचार्यले गरेका थिए ।
कालिका । कालिका नगरपालिका वडा नं–३ मा रहेको जनहित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाका लागि छात्रवृत्ति तथा पोसाक वितरण गरिएको छ । नेपाल दलित महिला उत्थान संघ (एडवान)ले छात्रवृत्ति तथा पोसाक सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङ प्रमुखअतिथि रहेका थिए । सो अवसरमा प्रमुखअतिथि तामाङले एडवानले महिला सशक्तिकरण र विपन्न बालबालिकाको लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा एडवानकी अध्यक्ष विन्दु परियार, सामाजिक सहजकर्ता कमला पन्थी, सुनिता दरै, शिक्षक अभिभावक संघका अध्यक्ष सीता तामाङ, प्रधानाध्यापक भरतराज रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका सल्लाहकार संयोजक रत्नलाल घलान, सल्लाहकार पदमबहादुर तामाङ, पूर्वजिशिअ एवम् समावेशी शिक्षा विज्ञ रमाकान्त शर्मा, व्यवस्थापन समितिका सदस्य सीता थापामगर, सहायक प्रधानाध्यापक कमला पाण्डे, शिक्षकहरु कल्पना पाठक, मनकुमारी थापामगर, डिल्लीप्रसाद पौडेल, सरस्वती तामाङ, सन्तोषी लामिछाने, राजु पराजुली, अर्चना बोम्जन, सुमिना मगर, केमी शर्मिला घलान वाइवा, तुलीमाया दोङलगायतको सहभागिता रहेको थियो ।
यस्तै, एडवानले आधारभूत विद्यालय कालिका–३ मा पनि विद्यालय पोसाक वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दीननाथ अर्यालको अध्यक्षता एवम् कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एडवानकी अध्यक्ष विन्दु परियारले बालबालिकालाई पोसाक वितरण गरेकी हुन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सोविता न्यूरे, अभिभावक एवम् शिक्षकहरुको सहभागिता रहेको थियो ।
भरतपुर । विद्युत व्यवसायी संघ चितवनको आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
संघका अध्यक्ष विष्णुप्रसाद चालिसेको अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष वामदेव शर्मा (घिमिरे) प्रमुखअतिथि रहेका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, पूर्वअध्यक्ष एवं सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, विद्युत व्यवसायी महिला समूहकी अध्यक्ष रीतादेवी सुवेदी, संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन संघका तृतीय उपाध्यक्ष खगराज अधिकारीले गरेका थिए भने सञ्चालन सचिव नारायण वंशीले गरेका थिए ।
सो अवसरमा सहभागी दिदीबहिनीहरूले तीज गीतमा नाचगान तथा दर खाएर उल्लासपूर्वक पर्व मनाएका थिए । उपस्थित सबैले एकापसमा तीजको शुभकामना आदान–प्रदान गर्दै नेपाली नारीहरूको संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । विद्युत व्यवसायी संघ–चितवनले हरेक वर्षजस्तै यस वर्ष पनि तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
वासिङ्टन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका छन् ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलोपटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताए ।
‘मैले पुष्टि गरेँ, र सबै युरोपेली नेताहरूले मलाई समर्थन गरे, हामी पुटिनसँग द्विपक्षीय बैठकका लागि तयार छौँ’, शिखर सम्मेलनपछि जेलेन्स्कीले भने । रुसले लगातार प्रगति गरिरहेकाले जेलेन्स्की अहिले युद्ध अन्त्यका लागि क्षेत्र हस्तान्तरण गर्न दबाबमा छन् । ह्वाइट हाउसको बैठकअघि, ट्रम्पले युक्रेनलाई क्रिमिया त्याग्न र नाटोमा सामेल हुने आफ्नो लक्ष्य छोड्न दबाब दिएका थिए ।
यी दुवै पुटिनका प्रमुख माग हुन् । तर जेलेन्स्कीले ट्रम्पलाई युद्धको अवस्थाबारे स्पष्ट चित्र प्रस्तुत गर्न सक्षम भएका थिए । उनले ओभल अफिसमा ट्रम्पसँग एक्लै भेट गरेका थिए । यो हाम्रो बैठकहरूमध्ये सबैभन्दा राम्रो थियो, जेलेन्स्कीले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भने, ‘मैले नक्सामा समेत सबै अमेरिकी सहकर्मीहरूलाई युद्धको मैदानको अवस्थाबारे धेरै कुरा देखाउन सकेँ ।’
युक्रेनलाई क्षेत्रीय छूट दिनुभन्दा बरु शिखर सम्मेलन सुरक्षा ग्यारेन्टीको व्यवस्थामा केन्द्रित भएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पत्रकारलाई जानकारी दिए । ट्रम्पले पनि ‘संयुक्त राज्य अमेरिकासँगको समन्वयमा विभिन्न युरोपेली देशहरूले ग्यारेन्टी प्रदान गर्ने’ बताएका थिए ।
जेलेन्स्कीले भने, संयुक्त राज्य अमेरिका युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा सहयोग गर्ने, समन्वय गर्ने र सहभागी हुने देशहरूमध्ये एक होस् भन्ने स्पष्ट सङ्केत दिन्छ भन्ने महत्त्वपूर्ण छ । उनका अनुसार ती योजनाहरू अर्को हप्ता वा दस दिनभित्र कुनै न कुनै रूपमा औपचारिक हुनेछन् । एएफपी/रासस
काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ ।
हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हो ।
कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले बताएको छ ।
हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरूमध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । ती बन्धकहरुलाई दुई चरणमा मुक्त गर्नेछ ।
प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ । त्यस अवधिमा स्थायी युद्धविरामबारे वार्ता अघि बढाइने बिबिसीले जनाएको छ ।
तर, यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएका थिए ।
भरतपुर । चितवनबाट प्रकाशित हुने ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको पाँचौँ वार्षिकोत्सव सोमबार मनाइएको छ । बि एण्ड बि मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कार्यक्रमको उद्घाटन गर्दै सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले अहिलेको परिस्थितिमा पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाएजस्तै भएको बताए ।
देशमा हरेक व्यवसाय धरासायी भएको अहिलेको विषम परिस्थितिमा पत्रिकालाई नियमित गर्नु निकै ठूलो साहस भएको उनको भनाइ थियो ।
कार्यक्रममा बि एण्ड बि नेटवर्क प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक बबिलाल तामाङले ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको बारेमा प्रकाश पारेका थिए । उनले पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक महानुभावहरु, पत्रिकासँगै जोडिएका सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
विसं २०७८ साल भाद्र २ गतेदेखि पत्रिकाको प्रकाशन आरम्भ भएको हो । जिल्लाबाट प्रकाशित उक्त साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ग वर्गमा वर्गीकरण भएको छ भने तामाङ समुदायबाट यो नै पहिलो भएको दाबी गरिएको छ ।
कार्यक्रममा अध्यक्ष तामाङले प्रमुख अतिथि हरिप्रसाद अधिकारीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी, न्यूजप्रवाह साप्ताहिकका सम्पादक मेकना तामाङ, तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष तुलमान गुरुङ, एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका कार्यवाहक अध्यक्ष सन्तोष तामाङ, चितवनका पोष्टका सहसम्पादक केशव भट्टराई, पत्रकार रोहिणी त्रिपाठी, विना तामाङ, एस एण्ड पी कम्पनीका सञ्चालक निर्मला प्रधानलगायत विभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।




