
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषणा गरेको छ ।
उनले डुम्रे बजारमा सुनचाँदीका गरगहना चोरी गरेर मुग्लिन बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य २२ लाख रुपैयाँबराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी पठाएका थिए ।
यस्तै, घोप्टे भिर, पानीधारा र रिद्धिखोलामा एकैपटक पहिरो खसेर सडक आवतजावत बन्द भएको अवस्थामा सम्बन्धित निकायहरूसँग समन्वय गरेर प्रहरी परिचालन गरी ट्राफिक व्यवस्थापन मिलाइ समयमै बाटो खुलाएका थिए ।
यस्तै, इच्छाकामना गाउँपालिका वडा नं ५,स्थित तीन नम्बर पुलबाट मानसिक सन्तुलन ठीक नभएकी महिलाले आत्महत्या गर्ने प्रयास गरेकोमा निजलाई सकुशल उद्धार गरी सम्बन्धित आफन्तको जिम्मा लगाइ पठाइएको र सुख्खा पहिरो आइ मुग्लिन नारायणगढ सडकखण्डको विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा आवश्यक समन्वय गरी उक्त पहिरो हटाइ सडकमा सवारीसाधन सञ्चालन गर्न सफल भएका थिए ।
सङ्गठनको नीति निर्देशनअनुसार दिइएको जिम्मेवारी वफादार, लगनशील र अनुशासित भई प्रशंसनीय एवं उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गरेका कारण उनलाई साउन महिनाका उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्पादित उत्कृष्ट कार्यको कदरस्वरुप ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने अभिप्रायले तयार पारिएको ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि-२०७७’ बमोजिम उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
भरतपुर । लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको गार्गी कन्या गुरुकुलमा भोजन गराएको छ ।
संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताए । उनले आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५–आरका गर्भनर नवराज सापकोटाले लायन्स क्लबको कार्यक्रम सामाजिक विकासमा केन्द्रित रहेको बताउँदै आवश्यकताको आधारमा अघि बढ्ने बताए ।
यस्तै, संस्थापक अध्यक्ष अधिकारीले विश्वव्यापी सञ्जालमा जोडिएको लायन्सले सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
गुरुकुलका महासचिव रामप्रसाद वस्तीले सबैको साथ र सहयोगबाट गुरुकुल सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा निवर्तमान गर्भनर दीनानाथ न्यौपाने, प्रथम गर्भनर प्रभाकर पण्डित, द्वितीय गर्भनर दीपेन्द्र खतिवडा, पूर्वगर्भनर सिद्धार्थलाल चुके, क्याबिनेटका कोषाध्यक्ष विकास पौडेल लगायतको उपस्थिति रहेको थियो ।
चितवन । जापानिज इन्सेफलाइटिसबाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।
शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ। सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो।
उनले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । ‘हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ। यो रोग विशेष गरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ,’ डा. गौतमले भने।
उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइ सकिएको छ।
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।
जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताए । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ ।
यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगर(बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।





