
रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवन क्षेत्र नं-१ क्षेत्रीय समितिको आयोजनामा बिहीबार हरितालिका तीज तथा जितिया पर्वको शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम गरिएको छ । क्षेत्रीय अध्यक्ष बलराम खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य रामहरि कँडेलले गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेताहरूले देशप्रतिको चिन्ता व्यक्त गरे । गणतन्त्रको अव्यवस्थित अवस्थाले भ्रष्टाचार र बेथिति चरम सीमामा पुगेको भन्दै उनीहरूले देशलाई माया गर्ने शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुखअतिथि कँडेलले ठूला दलहरूको रवैयाका कारण मुलुक संकटमा परेको बताए । जनता सचेत हुनुपर्ने समय आएको उल्लेख गर्दै उनले सत्ताको गलत क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे ।
क्षेत्रीय अध्यक्ष खनालले गणतन्त्रको चेपमा मुलुक फसेको भन्दै महिला शक्तिहरू एकजुट भएर राष्ट्र जोगाउन लाग्नुपर्ने बताए । बढ्दो भ्रष्टाचार र बेथितिका कारण मुलुक संकटमा रहेको उल्लेख गर्दै उनले जनताले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाका बागमती प्रदेश कोषाध्यक्ष माधव भट्टराई, जिल्ला अध्यक्ष रुद्र ढकाल, बागमती प्रदेश ‘क’ समितिका अध्यक्ष सुशील चौधरी, ‘ख’ समितिका अध्यक्ष हरिशरण भट्टराई, रत्ननगर नगर समितिका अध्यक्ष सन्तोष लामा, खैरहनी समितिका कार्यवाहक अध्यक्ष कृष्ण तिवारी, राप्ती समितिका अध्यक्ष मीरा बर्तौला, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रत्ननगरकी अध्यक्ष मीना प्रधानलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन नेता श्याम पोखरेलले गरेका थिए भने क्षेत्रीय उपाध्यक्ष मन्जु बर्तौलाले स्वागत मन्तव्य राखेकी थिइन् ।
सोही अवसरमा महिलाहरूबीच नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा रञ्जिता श्रेष्ठ प्रथम, सरिता श्रेष्ठ द्वितीय, किलिना मगर र क्रिष्टिना मगर तृतीय भए । पार्वती मगर र दुर्गा नेपालले सहजीकरण गरेको उक्त प्रतियोगिताको निर्णायकमा विमला थापामगर र हरिकला परियार रहेका थिए ।
रत्ननगर । रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच गरिब तथा विपन्न नागरिकको उपचार सहायतासम्बन्धी सम्झौता भएको छ ।
नगरभित्र अलपत्र परेका, गरिब तथा विपन्न नागरिकलाई रोगको निदान तथा औषधि उपचारमा सहयोग गर्ने उद्देश्यले नगरप्रमुख प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलबीच स्वास्थ्य उपचारसेवा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
रत्ननगर नगरपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार चितवन जिल्लाभित्र रहेका अलपत्र गरिब तथा विपन्न नगरवासीको रोगको निदान तथा औषधि उपचारको कार्यक्रम कार्यान्वयनका लागि सो सम्झौता भएको हो ।
सम्झौताअनुसार प्रथम पक्ष (नगरपालिका)ले उपचारका लागि पठाउँदा नगरप्रमुख, कार्यवाहक नगरप्रमुख वा दुवैको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतले गरिब तथा विपन्न बिरामीको सिफारिससहित पठाउनपर्ने सर्त राखिएको छ ।
नगरपालिकाले प्रमाणित गरेको सिफारिसबमोजिम न्यूनतम एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म उपचारमा छूट हुनेछ । भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छूट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । बिमा नगरेका, बिमा रकम सकिएका तथा सरकारका अन्य निःशुल्क कार्यक्रममा नसमेटिएका नागरिकहरुले यो सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतामा दोस्रो पक्ष अर्थात भरतपुर अस्पतालले उपचार सेवा प्राप्त गरेका हरेक बिरामीको छुट्टाछुट्टै विद्युतीय अभिलेख राख्ने छ । यसरी बिरामीले प्राप्त गरेको उपचार सेवाको विवरणसहित अस्पतालले त्रैमासिकरुपमा माग गर्न सक्नेछ । र, सोही मागबमोजिम नगरपालिकाले रकम भुक्तानी गर्ने सम्झौता गरिएको छ ।
भदौ ५ गतेदेखि लागू भएको यो सुविधा आवश्यकताअनुसार प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र नवीकरण गरिने छ । सम्झौताको साक्षीका रुपमा नगर उपप्रमुख यादवप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकत दीपा घिमिरे र भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यले हस्ताक्षर गरेका छन् ।
नगरप्रमुख सापकोटाले सरकारी अस्पतालमै गुणस्तरीय उपचार र स्वास्थ्यसेवा प्राप्त हुने भएकाले नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालसँग सम्झौता गरी नागरिकको उपचार पाउने हक सुनिश्चित गरेको बताए ।
रत्ननगर । रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु खुवाएको छ । चिकित्सालयले बिहीबार ३९० जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराएको हो । जसमा २१४ जना बालक र १७६ जना बालिका रहेका छन् ।
यो कार्यक्रम २१ महिनाअघिदेखि रत्ननगरमा सञ्चालनमा छ । चिकित्सालयकी प्रमुख डा. कोपिला अधिकारीले यो कार्यक्रमले बिहीबार राष्ट्रिय मान्यता प्राप्त गरेको बताउँदै खुसी व्यक्त गरिन् । उनले स्वर्णविन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधक क्षमता वृद्धि, बुद्धि र स्मरणशक्तिको विकास, पाचन प्रणालीमा सुधार, शारीरिक शक्ति र आयु वृद्धि गर्नुका साथै समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन् ।
स्वर्णविन्दु जडीबुटी, घिउ र थोरै मात्रामा सुनको भस्म मिसाएर बनाइने आयुर्वेदिक औषधि हो । यो औषधि प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन बालबालिकालाई खुवाउने प्रक्रियालाई स्वर्ण प्राशन विधि भनिन्छ ।
डा. अधिकारीका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई महिनामा एकपटक यो औषधि खुवाइन्छ, जसले उनीहरूको स्वास्थ्य र बौद्धिक क्षमता अभिवृद्धिमा सहयोग पुर्याउँछ ।
रत्ननगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यो कार्यक्रमलाई निरन्तरता दिँदै थप बालबालिकालाई समेट्ने योजना बनाएको छ । स्थानीय अभिभावकहरूले पनि यो कार्यक्रमले आफ्ना बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
चितवन । जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्षयताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिँदैनन् ।
नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तर, अहिले राहत र उद्धारमा जानु परेको छैन ।
यसरी यहाँका स्थानीहरू बर्सातको समयमा पनि चैनसँग सुत्न पाएको भने धेरै भएको छैन । ४ वर्षअघि शिलान्यास गरी सुरु भएको आयोजना तटीय क्षेत्रको मुख्य प्रभावित क्षेत्रमा तटबन्ध कार्य सम्पन्न भएपछि अवस्था फेरिएको हो ।
भरतपुरको ९ वटा वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको कार्य सम्पन्न भइसकेको नारायणी नदी नियन्त्रण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश लम्सालले जानकारी दिए । अहिले नदीले कटान गरिरहेको स्थानहरूमा मर्मतको काम भने भइरहेको उनको भनाइ छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले तटीय क्षेत्रमा बस्ने नागरिकका लागि मेगा प्रोजेक्ट तटबन्धले १ लाख बढी लाभान्वित भएको बताइन् । महानगरमा निर्वाचित भएर आएपछि हजारौं आयोजना निर्माण भएका छन्, तर, एक नम्बर प्रोजेक्ट नारायणी तटबन्ध नै हो–महानगर प्रमुख दाहालले भनिन् । सुरक्षित भरतपुर निमार्णको जग नारायणी तटबन्ध हो, उनले भनिन्,’ ‘सबैभन्दा प्रभावकारी आयोजना तटबन्ध भएको छ। नदी उकास भएको छ, पर्यटकीय करिडोर निर्माण भएको छ । १०० वर्षको लागि ढुक्क हुने वातावरण तटबन्धले गरेको छ ।’
भरतपुर महानगरले वर्षा सुरु हुन साथ विपत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तटबन्ध निर्माणले जन धनको सुरक्षाको ग्यारेण्टी गरिदिएको छ । भरतपुर महानगरपालिका प्रमुख दाहालले निर्वाचनको समयमा गरेको बाँचा पुरा गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
भरतपुर दुई ठूूला नदी र राष्ट्रिय निकुञ्जले घेरिएकोले यहाँका जनताका लागि बरदान र अभिशाप दुवै भए पनि यसको सही सदुपयोग गर्न महानगरले तटबन्ध निर्माण गरेको उनको भनाइ छ । भरतपुर यही नदी र निकुञ्जका कारण पर्या–पर्यटनको देशकै प्रमुख पर्यटकीय केन्द्र रहेको प्रमुख दाहालले बताइन्
नारायणी तटबन्धको ५ वटा प्याकेज रामघाट–काभ्रेघाट ५ किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५ दशमलव ७ किमी, बेलुवा–मेघौली गोलाघाट ३ दशमलव ५, नारायणी पुलदेखि उत्तरतर्फ ७०० मिटर, सेतीदेवि सामुदायिक वनमा ४०० मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ ।
पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धको कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेको छ । महानगरपालिकाले नारायणी तटबन्धको कार्य सम्पन्न गरेसँगै अब राप्ती नदीको तटबन्धमा कदम चाल्ने बताएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ मा १११ जोडीले सम्बन्धविच्छेद गरेका छन् ।
नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार १६ वडामध्ये वडा नम्बर १४ मा सबैभन्दा धेरै अर्थात् १६ जोडीले सम्बन्धविच्छेद गरेका छन् भने वडा नम्बर ३ मा सबैभन्दा कम दुई जोडीले यस्तो निर्णय लिएका छन् ।
सम्बन्धविच्छेदको तथ्याङ्कअनुसार वडा नम्बर १ मा ८, वडा नम्बर २ मा १०, वडा नम्बर ४ मा ३, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा ४, वडा नम्बर ७ मा ४, वडा नम्बर ८ मा ४, वडा नम्बर ९ मा ३, वडा नम्बर १० मा ८, वडा नम्बर ११ मा ११, वडा नम्बर १२ मा ११, वडा नम्बर १३ मा ९, वडा नम्बर १४ मा १६, वडा नम्बर १५ मा १० र वडा नम्बर १६ मा ५ जोडीले सम्बन्धविच्छेद गरेका छन् ।
यसैगरी, यो अवधिमा नगरपालिकामा अन्य घटना दर्तामा ९५२ जनाको जन्मदर्ता भएको छ, जसमा ४४१ महिला र ५११ पुरुष छन् । जन्मदर्तामा वडा नम्बर १२ अगाडि छ, जहाँ ९१ जनाको जन्मदर्ता भएको छ, जबकि वडा नम्बर २ मा सबैभन्दा कम २७ जनाको जन्मदर्ता भएको छ ।
मृत्युदर्तातर्फ ४७६ घटना दर्ता भएका छन् । वडा नम्बर १२ मा ४९ जनाको मृत्युदर्ता भएको छ भने वडा नम्बर ८ मा सबैभन्दा कम २१ जनाको मृत्युदर्ता भएको छ ।
विवाहदर्तातर्फ ६२३ जोडीले विवाह दर्ता गराएका छन् । वडा नम्बर १२ मा ५८ जोडीको विवाहदर्ता भएको छ भने वडा नम्बर २ मा सबैभन्दा कम २३ जोडीले विवाह दर्ता गरेका छन् ।
बसाइँसराइको तथ्याङ्कमा रत्ननगरमा आउनेको सङ्ख्या जानेको भन्दा धेरै छ । एक वर्षमा ५३५ परिवार (१,७३१ जना) रत्ननगरमा बसाइँ सरेर आएका छन् भने २०७ परिवार (५४८ जना) बाहिर गएका छन् ।
रत्ननगर । ब्लड डोनर्स सोसाइटी नेपालले रत्ननगरका रमेश नेपाललाई केन्द्रीय सदस्य पदमा नियुक्त गरेको छ। सोसाइटीको विधान, नियमावली तथा कार्यकारी समिति बैठकको निर्णयअनुसार नेपाललाई केन्द्रीय सदस्यमा नियुक्ति गरिएको हो ।
रक्तदानजस्तो मानवसेवामूलक कार्यलाई प्रभावकारी, व्यवस्थित र देशव्यापी बनाउने उद्देश्यले नेपालको सामाजिक सेवाप्रतिको समर्पण, दीर्घ अनुभव र प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उनलाई यो जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ ।
ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्षसमेत रहेका नेपालले आफ्नो कार्यकालमा संस्थाप्रति निष्ठा, आस्था र कर्तव्यपरायणताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नियुक्तिसँग सम्बन्धित थप कार्यविधि र जिम्मेवारीबारे आगामी बैठकमा जानकारी गराइने सोसाइटीले बताएको छ ।
खैरहनी । पूर्वी चितवनको प्रतिष्ठित सामुदायिक कलेज भुनावीशंकर कलेजले माध्यमिक तहको शिक्षा पूरा गरी विश्वविद्यालय तहको अध्ययन गर्न आएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
विभिन्न विद्यालयबाट विद्यालय शिक्षा पूरा गरी स्नातक तहमा व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कलेजमा अध्यापन भइरहेको व्यवस्थापनतर्फ बिबिएस र शिक्षातर्फ अङ्ग्रेजी, नेपाली, गणित, जनसंख्या र स्वास्थ्य विषय एवम् अन्य प्रस्तावित विषयको बारेमा जानकारी दिइएको थियो । अभिमुखीकरणकै सिलसिलामा व्यवस्थापन तथा शिक्षा सङ्कायका कार्यक्रम प्रमुखद्वय राजु चौधरी र तेजप्रसाद तिमल्सिनाले ती विषयले भविष्यमा जीवन पद्दतिसँग कसरी प्रभाव पार्छन् भन्ने विषयमा सहजीकरण गरेका थिए ।
कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक के.एन. सिलवालले विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले ज्ञान, सीप र व्यवहारको समन्वय गर्न सक्ने दक्ष नागरिक उत्पादनमा स्थापनादेखि प्रयत्नशील रहेको र कलेजबाट उत्पादित विद्यार्थीहरू स्वदेश तथा विदेशमा उच्चकोटीको रोजगारीमा रहेको धारणा राखे ।
कार्यक्रममा व्यवस्थापन समितिका सदस्य रामेश्वर पोखरेलले आफ्नै घरआँगनमा रहेको सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्राप्त गर्न भुवानीशंकर कलेज उत्कृष्ट छनोट हुने धारणा राखे ।
सहायक कलेज प्रमुख चेतराज रेग्मीले कलेजमा नगर, प्रदेश र विश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध हुने छात्रवृत्तिको विवरण प्रस्तुत गर्नुका साथै संसारभरका सफल मानिसहरूको तथ्याङ्क प्रस्तुत गर्दै उनीहरूको विषय र पठनस्थान छनोटले जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।
कार्यक्रमका प्रमुखअतिथि कलेज सञ्चालक समितिका अध्यक्ष अमृत मैनालीले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै स्थानीयको सक्रियतामा सञ्चालित भुवानीशंकर कलेज उन्नत शैक्षिककेन्द्र रहेको र यसको जगेर्नामा सबै स्थानीयहरूको निरन्तर सहयोगको उच्च प्रशंसा गरे ।
कलेज प्रमुख नवराज भट्टराईले भुवानीशंकर कलेज पूर्वी चितवनमा सर्वलुलभ शुल्कमा प्रविधिमैत्री ढङ्गबाट गुणस्तरीय शिक्षा प्रदान गरी असल नागरिक उत्पादनमा प्रतिबद्ध रहेको बताए । उनले कक्षा ११ देखि स्नात्तकोत्तरसम्मको अध्यापन हुने यस कलेजमा निकट भविष्यमा बिबिए, बिएएलएलबी, बिआइटी र बिएचएमजस्ता सेमेष्ट प्रणालीका विषयहरू सञ्चालन हुने जानकारी दिए ।
खैरहनी । खैरहनी नगरपालिका वडा नं-१० स्थित कठार माविका विद्यार्थीलाई वडाध्यक्ष कुलप्रसाद भुसालले क्यालकुलेटर प्रदान गरेका छन् ।
खैरहनी-१३ का वडाध्यक्ष भुसालले सो विद्यालयका १९० जना विद्यार्थीलाई एक एक थान क्यालकुलेटर दिएका हुन् । भुसालले यसअघि आफ्नै वडाका विद्यार्थीलाई क्यालकुलेटर दिइसकेका छन् ।
वडाध्यक्ष भुसालले अध्यक्ष भएबापत प्राप्त गर्ने सुविधा, भत्ताले कठार माविको कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई क्यालकुलेटर प्रदान गरेका हुन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच क्यालकुलेटर प्रदान गर्दै अध्यक्ष भुसालले सरकारबाट प्राप्त हुने सुविधाबापतको रकम विद्यार्थीको सिकाइलाई सघाउ पुर्याउने उद्देश्यका साथ प्रदान गरेको बताए ।
“कतिपय विद्यार्थी क्यालकुलेटर किन्ने अवस्थामा छैनन्, यो सहयोग ठूलो पनि होइन”, अध्यक्ष भुसालले भने, “शिक्षण सिकाइमा सघाउन मद्दत हुने अपेक्षासहित शैक्षिक सामग्रीको रूपमा रहेको क्यालकुलेटर विद्यार्थीलाई उपहार स्वरुप दिएको हुँ ।”
“विकास भनेको पिच बाटो, ढल भवन निर्माण गर्नु होइन, सबैभन्दा ठूलो विकास मानवीय स्रोत साधनको हो”, अध्यक्ष भुसालले थपे, “समाजको एउटा सामाजिक नागरिक र आफ्नो जिम्मेवारीअनुसार सक्ने सहयोग गरेको छु, यसलाई अन्यथा नसोच्न आग्रह गर्दछु ।”
नगरपालिकाबाट प्राप्त गर्ने रकम सकेसम्म घर नलैजानेमा आफू प्रतिबद्ध रहेको भन्दै उनले आफूमा कुनै महत्त्वकांक्षा नरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद सिलवालले अध्यक्ष भुसालले गरेको सहयोग व्यक्तिगतरुपमा सानो देखिए पनि शिक्षण सिकाइमा ठूलो अर्थ राख्ने भन्दै धन्यवाद दिए ।
आफ्नो विद्यालयमा गरिब, विपन्न समुदायका बालबालिका अध्ययन गर्दै आएको भन्दै प्रधानाध्यापक सिलवालले भौतिक संरचना सन्तोषजनक रहे पनि अन्य कुराहरुको अभाव रहेको बताए ।
वडाध्यक्ष भुसालले आफ्नो सुविधाबापतको रकम गरिब, विपन्न समुदायमा छात्रवृत्ति, शैक्षिक पोसाक, खाद्यान्नलगायतका सामान पनि सहयोग गर्दै आएका छन् ।
भरतपुर । लागूऔषध ट्रामाडोलसहित सात जना चितवनबाट पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–९, पारस बसपार्कस्थित न्यू धौलागिरि थकाली भान्साघर एण्ड लजबाट मङ्गलबार १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा माडी नगरपालिका–१ बस्ने २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका–५ बस्ने २१ वर्षीय शान्ति गुरूङ, पर्साको ठोरी गाउँपालिका–२, टाउन बस्ने २१ वर्षीय विनायक तामाङ, भञ्ज्याङ बस्ने २५ वर्षीय सूर्य लामा, सोही ठाउँ बस्ने १८ वर्षीय प्रदीप लामा, २४ वर्षीय प्रदीप न्यौपाने र भारतको बिहार राज्य पश्चिम चम्पारण बस्ने २४ वर्षीय आर्यन कुमार रहेका छन् ।
पक्राउ परेकाहरुमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको खनालले बताए । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको उनले जानकारी दिए ।
प्रहरीले एक हजार ७४० पत्ता लागूऔषध ट्रामाडोल बरामद गरेको हो । एउटा पत्तामा १० क्याप्सुल हुन्छ । चितवन लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ ।





