
चितवन । जनस्वास्थ्य कार्यालय चितवनले चितवनमा हैजासम्बन्धी सतर्कता अपनाउन अनुरोध गरेको छ । सो कार्यालयले सोमबार सूचना जारी गर्दै चितवन हैजाको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
पर्सा र चितवन जिल्लाबीच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको सङ्क्रमण फैलिने जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । वीरगन्जमा हैजाले महामारीको रुपमा लिएको छ । अहिलेसम्म यस रोगबाट विरगञ्ज महानगरपालिका वडा नं.-३, ११, १२, १३ र १६ का १९४ जना बिरामी परेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।
हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । गर्मी समय, दूषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनवासीलाई उच्च सतकर्ता अपनाउन कार्यालयले अनुरोध गरेको हो ।
हैजा एक सङ्क्रमण रोग हो । जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ । उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै, कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुनपानीले हात राम्ररी धोएरमात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्ती पकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।
हैजा लागेको व्यक्तिमा अचानक बारम्बार पातलो पखाल लाग्ने, बान्ता हुने, शरीर कमजोर हुने, खुट्टा बाउँडिने कमजोर महसुस हुनेजस्ता लक्षण देखिने बताइएको छ । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
यसैबीच, भरतपुर अस्पतालले पनि सतकर्ता अपनाउन अनुरोध गरेको छ । यस रोग छिटो फैलने भएकाले घर, छिमेक टोलमा सरसफाइमा ध्यान दिन तथा पानीको मुहान र स्रोतमा ध्यान दिन अस्पतालले अनुरोध गरेको हो । तारन्तार पातलो दिशा हुने, वान्ता हुने, शरीर कमजोर भएमा स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरेको छ ।
कालिका । कालिका नगरपालिका वडा नं-७ मा रहेको जुटपानी प्रहरी चौकीमा प्रहरी निरीक्षक मनिष श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् ।
श्रेष्ठलाई नगरप्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवा, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा पदस्थापन गरिएको हो ।
शान्ति–सुरक्षाको आवश्यकता र स्थानीयको मागअनुसार कालिका नगरपालिकाको पहलमा सो चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि गर्ने प्रक्रिया अघि बढाइएको छ । अबदेखि प्रस्तावित इलाका प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी निरीक्षक स्तरका अधिकृतले निर्वाह गर्नेछन्।
४६ वर्षअघि स्थापना भएको कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकी अब इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि हुने भएको छ ।
इलाका प्रहरी कार्यालयका लागि आवश्यक मापदण्ड पूरा गर्ने प्रक्रिया सुरू भइसकेको र यसले कालिका क्षेत्रमा शान्तिसुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको नगरप्रमुख रेग्मीले बताए ।
प्रहरी निरीक्षक मनीष श्रेष्ठले जुटपानी चौकीको कमान्ड सम्हालेका छन् । उनी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट जुटपानी चौकीमा सरूवा भएका हुन् । हाल चौकीमा १० जना प्रहरी खटिएका छन् । सोही चौकीमा अस्थायी ट्राफिक प्रहरी पोस्टसमेत रहेको छ, जहाँ एक जना प्रहरी कार्यरत रहेका छन् ।
रत्ननगर । रत्ननगर नगरपालिकाले बर्दघाट नगरपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाललाई २७औँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्वागत गरेको छ ।
नयाँ हाकिम खनाललाई ढाकाटोपी र माला लगाएर नगरमा स्वागत गरिएको हो । यस्तै, हालै मात्र राक्सिराङ गाउँपालिका, मकवानपुरबाट सरुवा भई आएका लेखा अधिकृत प्रदीप पौडेललाई पनि कार्यक्रममा स्वागत गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिकामा काम गर्न कुनै पनि दबाब र प्रभाव नरहेको प्रष्ट पार्दै ढुक्क भएर कार्यसम्पादन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरे ।
रत्ननगर नगरपालिका गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा देशभर तेस्रो र यो वर्ष दशौँ स्थानमा रहेको बताउँदै नगरप्रमुख सापकोटाले आफ्नो सीप, क्षमता र अनुभव जनसेवा प्रवाहमा लगाउन अनुरोध गरे ।
यस्तै, नगरउपप्रमुख यादवप्रसाद पाठकले आफूहरु निर्वाचित भएर आएदेखि तेस्रो प्रशासकीय अधिकृतका रुपमा खनालको स्वागत गर्दै विधि पालन गरी संस्थागत विकासलाई ध्यान दिन आग्रह गर्दै नगरवासीलाई छिटोछरितो सेवा प्रवाह गर्न जोड दिए । उनले हुन सक्ने काम समयमै गर्न र कानुनले गर्न नहुने भनेको काम नगर्न सुझाव दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खनालले कानुन तथा तोकिएका जिम्मेवारी पूरा गर्न आफ्नो प्रमुख दायित्व रहेको र समग्र कार्यपालिकाको मार्गनिर्देशनमा रही नगरवासीका चाहना र आवश्यकता चाहना पूरा गर्ने बताए ।
उनले समग्र नगरबाट प्रदान हुने सेवा प्रवाह चुस्तदुरुस्तनतिजामुखी प्रविधिमैत्री बनाउँदै विकास व्यवस्थापन तथा आकस्मिक व्यवस्थापनमा पारदर्शिता, जवाफदेहितासहित सुशासन कायम गर्न अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रशासन शाखा प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा नगरप्रवक्ता एवम् रत्ननगर–१ क वडाध्यक्ष कुलप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा १७औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नगर विकास योजना पुस्तिका (रातो किताब)को लोकार्पण गरिएको थियो ।
कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा साउन महिनाको मासिक समीक्षा तथा प्रगति विवरणबारे छलफल तथा जेई सङ्क्रमणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १६ वटै वडाका आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख तथा स्वास्थ्यचौकी प्रमुखहरुले आआफ्नो वडामा भए–गरेका स्वास्थ्यसम्बन्धी अद्यावधिक विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वास्थ्यसम्बन्धी प्रगति विवरण समयमै अद्यावधिक गर्न र नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए ।
उनले स्वास्थ्यकर्मी साथीहरुको लगाव, क्षमता र अनुभवका कारण स्वास्थ्य क्षेत्रमा रत्ननगरको नतिजा परिणाममुखी रहेको र आगामी दिनमा पनि आपसी सहयोग र राय लिई स्वास्थ्यसेवाका सूचकहरुको अद्यावधिक गर्न आग्रह गरे ।
स्वास्थ्य शाखा प्रमुख एवम् जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणबारे समीक्षा गर्दै कमिकमजोरी सुधार गरी अगाडि बढ्न सबै स्वास्थ्यकर्मीहरुमा आग्रह गरे ।
सो अवसरमा जनस्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले स्वास्थ्यकर्मीहरुलाई आपसी सहयोग र समन्वय गरी रजिस्टरमा विवरण अद्यावधिक गर्न सुझाव दिए । उनले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणमाथि समीक्षा गर्दै आवश्यकीय सहजीकरण गरेका थिए ।
सो अवसरमा समग्र स्वास्थ्य संस्थाहरुको अवस्था र सुधार गर्नुपर्ने विषयहरु समेटिएको माग पत्र पिठुवा स्वास्थ्यचौकी इन्चार्ज नरहरि श्याम शर्माले सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलसमक्ष पेस गरे ।
कार्यक्रमका अध्यक्षसमेत रहेका संयोजक खरेलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको तर्फबाट राखिएको माग पत्रका सम्बन्धमा आगामी कार्यपालिका बैठकमा प्रस्तुत गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा किटजन्य रोगबारे सचेतना तथा जेई सङ्क्रमणसम्बन्धी अभिमुखीकरण गरिएको थियो । बकुलहर रत्ननगर अस्पतालका डा. सन्देश रौनियारले अभिमुखीकरण कार्यक्रममको सहजीकरण गरेका थिए ।
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरू भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ ।
काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघका छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।
नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने ।
अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।
कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइको समयमा मानवअधिकारको संरक्षण : विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवर्द्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।
त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवर्द्धन गर्ने प्रस्ताव पास गरिएको छ ।
युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनर्स्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।
त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरेको कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य : विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षणमार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।




