
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय वा ९० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा नपर्ने प्रावधानको पुनःस्मरण गराएको छ ।
विभिन्न स्थानीय तहले परिचयपत्र अनिवार्य रहेको भन्दै सेवा प्रवाहमा कठिनाइ भएको बताउँदै आएपछि विभागले उक्त प्रावधान स्मरण गराएको हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रयोजनका लागि ज्येष्ठ नागरिकले दुःख पाएको तथा अशक्तलाई पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक रहेको भन्ने गुनासो पछि विभागले थप स्पष्ट पारेको हो ।
सरकारले २०८१ असार २० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो ।
सामाजिक सुरक्षा भत्ता, बिमा निवृत्तिभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा कारोबारमा परिचयपत्र अनिवार्य गरिएको छ ।
विभिन्न स्थानीय तह, सेवा प्रदायक निकायबाट अशक्त तथा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्बर माग गरिएको र सोका लागि कष्टपूर्वक सेवा इकाइमा पुग्न परेको भन्ने सूचना र गुनासो प्राप्त भएकाले विभागले सोमबार एक सूचनामार्फत स्पष्ट पारेको विभागका निर्देशक मुकेशकुमार केशरीले जानकारी दिए ।
भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुनः सुरूवात गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो । नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रुपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो । यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उनले जानकारी दिए ।
गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताए । सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ । अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा पोखरेलले विस्तारित सेवामार्फत उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताए ।
अस्पतालमा न्यूरो (नसा), हेड एण्ड नेक (नाक–कान–घाँटी), थोरासिस (छाती) जिआई (पेट) ब्रेस्ट (स्तन), युरोलोजि (मूत्रासय), गाइनोलोजी (पाठेघर), अर्थाेपेडिक्स (हाडजोर्नी), प्लास्टिक शल्यक्रिया हुने गर्दछ । तीमध्ये प्लाष्टिकबाहेकका सबै शल्यक्रिया विस्तारित सेवामा हुनेछन् ।
कार्यकारी निर्देशक डा पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामीमध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताए । उनका अनुसार सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष चार हजार शल्यक्रिया गरिएको थियो ।
सन् २०२३ मा बहिरङ्ग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या एक लाख ६२ हजार थियो । सन् २०२४ को तथ्याङ्क आइनसके पनि निरन्तर बिरामीको सङ्ख्या बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा सुरू गरेको हो ।
रत्ननगर । रत्ननगर नगरपालिकाले ‘नेपाल आइडल सिजन–६’ को फाइनलमा पुगेकी चितवनकी चेली दर्शना गान्धारीलाई सफलताको शुभकामनासहित हौसला प्रदान गरेको छ ।
‘नेपाल आइडल सिजन–६’ को टप फाइभमा पर्न सफल भएकी नवप्रतिभा दर्शनालाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, वडाध्यक्ष किरण महतो, सजना महतो, कार्यपालिका सदस्य राम रिमाल, सुशासन समितिका संयोजक धीरेन्द्रप्रसाद घिमिरे, लेखा अधिकृत प्रदीप पौडेल, राजस्व शाखा प्रमुख लीलानाथ अर्याललगायतले खादा लगाएर शुभेच्छा प्रकट गरेका हुन् ।
चितवनकी चेलीलाई स्थानीय सरकारको हैसियतले साथ, प्रयास र हौसला प्रदान गर्न सो कार्यक्रम राखिएको रत्ननगर कला मन्दिरका अध्यक्षसमेत रहेका कार्यपालिका सदस्य राम रिमालले बताए ।
गायिका दर्शनाले लामो समयसम्मको प्रयास र सङ्घर्षबाट उत्कृष्ट पाँचमा पुग्न सफल भएको भन्दै रत्ननगर नगरपालिकाबाट पाएको शुभेच्छाबाट आफूमा हौसला थपिएको बताइन् ।
रत्ननगर । नेपाल सरकारले पूर्वी चितवनको खैरहनीसहित देशका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी तथा सहायक प्रवक्ता रवीन्द्र आचार्यले चितवनको खैरहनीसहित देशका २३ स्थानमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यो निर्णयलाई प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयन प्रक्रिया अगाडि बढाउने छ ।
गृह मन्त्रालयका अनुसार यी २३ इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना मन्त्रालयको वार्षिक बजेटमा समावेश छ । यसका लागि आवश्यक भौतिक संरचना निर्माण र कर्मचारी व्यवस्थापनका लागि दरबन्दी सिर्जना प्रक्रिया सुरू हुनेछ । अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि कार्यालय स्थापनाको कामले गति लिने बताइएको छ ।
यी कार्यालयहरू जनसंख्या, भौगोलिक सुगमता र सेवा पहुँचमा देखिएको असमानता समाधान गर्न स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी दिनमा थप इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने दीर्घकालीन योजना पनि बनाएको छ ।
नयाँ कार्यालयहरू स्थापना हुने स्थानहरूमा चितवनको खैरहनी, ताप्लेजुङको सिरिजङ्गा, खोटाङको हलेसी, ओखलढुङ्गाको घोराखोरी, सिरहाको सुखीपुर, धनुषाको धनुषाधाम, सर्लाहीको बलरा, पर्साको पोखरिया, सिन्धुलीको दुधौली, काठमाडौँको टोखा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, बझाङको देउरा, अछामको साफेबगर, डोटीको बिपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली, सङ्खुवासभाको हेदङ्गवा, रुपन्देहीको गैडहवा, तनहुँको भिमाद र अर्घाखाँचीको सितगङ्गा रहेका छन् ।





