
चितवन । नेपाली कांग्रेसका नेता कैलाश कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरे ।
माया, प्रेम र राजनीतिसँग सम्बन्धित रहेर लेखिएको कविता सङ्ग्रह सार्वजनिक गरिएको लेखक कोइरालाले बताए । उनका अनुसार उक्त सङ्ग्रहमा ५५ वटा कविता समावेश छन् । यसअघि उनका राजव्यूह र शास्त्र उपन्यास प्रकाशित भइसकेका छन् । राजनीतिक क्षेत्रमा क्रियाशील कोइरालाले आफ्नो फुर्सदको समयलाई लेखन क्षेत्रमा लगाएको बताए ।
कांग्रेसका नेता डा कोइरालाले कवितासङ्ग्रहको प्रशंसा गर्दै आगामी दिनमा लेखन क्षेत्रमा सक्रियताका साथ लाग्न लेखक कोइरालालाई शुभकामना दिए । पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भनेर आफूले खाका बनाएको बताउँदै उनले बिपी कोइरालाले बनाएको विधानअनुसार पार्टी सभापतिका लागि मात्र निर्वाचन हुनपर्ने धारणा राखे ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागेश्वरी आध्यात्मिक परिषद्का संरक्षक शैलेन्द्र पिया, बालकुमारी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ, साहित्यकार सृजन अविरल, सूर्य अधिकारीलगायत वक्ताले कवितासङ्ग्रहका बारेमा आ–आफ्नो धारणा राखेका थिए । लेखक कोइराला नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यसमेत हुन् ।
ललितपुर । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार आयोजित परिचर्चा कार्यक्रममा सहभागी कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरूङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद् एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले आफूले उपन्यास पढ्न नभ्याए पनि बखानसिंह गुरूङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक विषयलाई उपन्यासमार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक विषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा जोड दिए ।
यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवम् पुस्तकालय तथा अध्ययन स्रोत केन्द्रका प्रमुख अजयबाबु शिवाकोटीले ऐतिहासिक पात्र बखानसिंह गुरूङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको भन्दै आफू नेतृत्वको विभागले यस्तै इतिहास बोकेका विषयबस्तु्हरुको अध्ययन, अनुसन्धानमा धेरै काम गरिरहेको जानकारी दिए ।
कांग्रेस नेता एवम् विश्लेषक शंकर तिवारीले बखानसिंह गुरूङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटक पटक भएको संघर्ष, २०३८ सालमा गुरूङ मन्त्री बन्दा कानुन, न्याय तथा भूमिसुधार मन्त्री नै रोज्नुको कारणजस्ता विषय खोजीको अर्को पाटो भएको उल्लेख गरेका थिए ।
लेखक, साहित्यकार ठाकुर बेल्वासेले उपन्यास पाउनेबित्तिकै कस्तो होला के होला भन्दै पाटा पल्टाउँदा आफ्नो ध्यान एकाकार भएको भन्दै पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको बताए । उनले यस्लाई इतिहासको दस्तावेजभन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।
साहित्यकार एवम् प्राध्यापक एलबी क्षेत्रीले २०१८ सालमा चितवनमा पञ्चायतविरुद्ध भएको संघर्षको विषय उपन्यासमा समेटिएको भन्दै त्यसबारे कांग्रेसले अझै खोजबिन गर्नुपर्ने सुझाव दिए ।
बखानसिंह गुरूङकी पनातिनी जानुका गुरूङले कतिपय प्रसङ्ग उपन्यासमा समेटिन बाँकी रहेको भन्दै कांग्रेसले आफ्ना बाजेको उचित मूल्याङ्कन गर्न नसकेको गुनासो गरिन् । उपन्यासकार पराजुलीले आफूले बखानसिंह गुरूङको ऐतिहासिक तथ्यमा केन्द्रित भई उपन्यास तयार पारेको जानकारी दिँदै पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गर्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे ।
सौराहा । निकुञ्ज जिप सफारी सौराहाको अध्यक्षमा पर्यटन व्यवसायी ॠषिराम तिवारी चयन भएका छन् । शनिबार सम्पन्न १७ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
यस्तै, समितिको सचिवमा कुमार जोशी र विजय गिरी, कोषाध्यक्षमा कृष्ण भट्ट र टीका गिरी चयन भएका छन् । यसैगरी सदस्यहरुमा अनिल शिवाकोटी, आशिष रेग्मी, तारा लामा श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ तथा लेखा समिति संयोजकमा विनोद तिमिल्सिना र सदस्यमा यौवनकुमार पराजुली चयन भएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष नरेश गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु,सौराहाका पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका कसरा, देवी ताल, टाइगर टप्स, टेम्पल टाइगर, नवलपरासी, अमलटारी, माडीलगायतका क्षेत्रहरुमा जिप सफारी गराइँदै आएको छ । सो संस्थामा १६ वटा जिप सफारीको लागि सञ्चालनमा छन् ।
संस्थाका निर्वतमान अध्यक्ष हरिकृष्ण रेग्मीको अध्यक्षता रहेको कार्यक्रम संस्थाका कोषाध्यक्ष एवम् पर्यटन व्यवसायी गोकर्ण गिरीले सञ्चालन गरेका थिए ।
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ स्थापना दिवसको अवसरमा यही भदौ १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडियो अर्पण १०४.५ मेगाहर्जको संयुक्त सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान ७ः३० बजेदेखि अर्पण साकोसको प्राङ्गढमा सुरू हुने छ ।
संस्थाले पत्रकार सम्मेलनमार्फत रक्तदान कार्यक्रम गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । संस्थाले कारोबार सुरू गरेको दिनलाई आधार मानेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।
कार्यक्रममा १०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको अध्यक्ष पौडेलको भनाइ छ । “रक्तदान : जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, सहकारी सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक टुकानाथ अर्यालले बताए । मेडिकल सिटीको रुपमा परिचित चितवनमा भइरहने रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
संस्थाका सचिव महेश पाण्डेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा संस्थाका पूर्वअध्यक्ष यमन भूषाल, उपाध्यक्ष रामकुमार बजगाईं, सदस्यहरु आयुषचन्द्र श्रेष्ठ र ध्रुवराज लामिछानेको सहभागिता रहेको थियो ।
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा किटजन्य रोग तथा जापानिज इन्सेफलाइटिस (जेई) रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम रत्ननगर–१२, सालघारीमा सम्पन्न भएको छ ।
रत्ननगर–१२ का वडाध्यक्ष एवम् आधारभूत स्वास्थ्यकेन्द्रका व्यवस्थापन समितिका अध्यक्ष सुन्दमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले स्वागत तथा किटजन्य रोगबारे प्रकाश पारेका थिए । उनले रत्ननगर–१२ का एक महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि सालघारीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।
उनले यस वर्ष रत्ननगरमा १६ जनामा डेंगु सङ्क्रमण र २३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको बताए । चितवनमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट चार जनाको मृत्युसमेत भइसकेको अवस्थामा यो रोगको जोखिमबारे सबै सचेत हुनुपर्नेमा जोड दिए ।
यस्तै, जनस्वास्थ्य कार्यालय चितवनका किटजन्य रोगको फोकल पर्सन भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले गत वर्ष रत्ननगरमा ९१० जनामा डेंगु र १३० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिँदै अहिले जापानिज इन्सेफलाइटिसको जोखिमसमेत बढेको बताए । उनले असारदेखि कात्तिकसम्म किटजन्य रोगको सिजन भएकाले सरसफाइ र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताए ।
आधारभूत स्वास्थ्यकेन्द्र आधारभूत रत्ननगर–१२ का इन्चार्ज कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला पनेरुले स्वास्थ्य नै ठूलोे धन भएकाले सरसफाइ र खानपिनमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत नरभूपाल काफ्ले, वडा सचिव शंकर गिरी, व्यवस्थापन समिति सदस्य जनकराज पन्त, भीमसेन पौडेल, नरबहादुर श्रेष्ठ, सन्तबहादुर लामा, नगर स्वास्थ्यकेन्द्र जिरौनाका इन्चार्ज दुर्गा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।




