
भरतपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो ।
पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
भरतपुर । चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा विचौलियाहरुले प्रलोभनमा पारी जमिन खरिद गर्न थालेका छन् । खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै गएका कारण विचौलियाहरुले जमिन खरिदबिक्री गर्न थालेका हुन् ।
चेपाङ समुदायसँग आफ्नो नाममा थोरै जमिनमात्रै हुने नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताए । उनले २० प्रतिशत चेपाङसँग मात्रै आफ्नो नाममा जमिन भएको जनाउँदै बाँकी ८० प्रतिशत ऐलानी र अरुको जमिनमा खेती गरी जीविकोपार्जन गर्ने गरिएको उल्लेख गरे ।
पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा घडेरी किन्ने लहर चलेको छ । खानी, प्राकृतिक सुन्दरता, अनुकूल मौसमलगायत कारणले ग्रामीण क्षेत्रका जमिनको मूल्य बढ्दै गएको सङ्घका केन्द्रीय अध्यक्ष चेपाङले बताए । तराईमा बढ्दो गर्मी र नजिकै पहाडमा शीतलताले पाइने भएकाले पनि पहाडी क्षेत्रमा जमिनको मूल्य बढेको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय दुई जनाको जमिन प्रलोभनमा पारेर ठगी गरिएको भन्दै सङ्घमा निवेदन परेको छ । यसका अतिरिक्त ‘तिम्रो जमिनमा आफैँ बस्न र खेती गर्न पाउँछौँ’ भन्दै प्रलोभनमा पारेर जग्गा पास गर्ने प्रचलन बढ्दो रहेको उनले बताए ।
“चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङमा मात्रै ४४ ठाउँमा खानी दर्ता भएको तथ्याङ्क छ । कालिका नगरपालिका–९ मा मात्रै नौ वटा चुनढुङ्गा खानी दर्ता भएका छन्”, सङ्घका अध्यक्ष चेपाङले भने ।
सङ्घका महासचिव शन्तबहादुर चेपाङले विचौलियाले यहाँ जमिनको प्रचलित मूल्यभन्दा धेरै सस्तोमा किनबेच गर्ने गरेको पाइएको बताए । उनले भने, “एक वर्षमा फिर्ता हुन्छ भन्दै पास गर्नेहरु पनि भेटिएका छन् । तर ती जमिन तीन–चार तहमा बिक्री भएर गइसकेको फेला परेका छौँ ।”
सङ्घका चेपाङका अनुसार चितवनमा ३५ हजार ६३७ जनसङ्ख्या यो समुदायको छ भने देशभर ८४ हजार ३६४ छ । चितवनको कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–१०, ११, १२ र १३, इच्छाकामना गाउँपालिकाका–१, २ र ६ वडामा चेपाङ जातिको बाहुल्यता छ ।
गोरखाको गण्डकी र शहीद लखन गाउँपालिका, मकवानपुरको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा चेपाङको बाहुल्यता छ । यस्तै धादिङको बेनिघाट रोराङ, थाक्रे र गजुरीमा चेपाङ बसोवास रहेको उनले जानकारी दिए ।
सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले खानी क्षेत्रमा चेपाङको जमिन भएको भन्दै विचौलिया र ठेकेदार बसेर जमिनको मूल्य तोक्ने, चेपाङ समुदायसँग सस्तो मूल्यमा किनबेच गर्ने गरेका बताए । उनले भने, “यो यो ठाउँमा खानी छ भनेर पत्ता लगाउँछन्, बाहिरै बसेर जग्गाको कारोबार गर्दछन् ।”
यो समस्या बढ्दै गएमा चेपाङ भूमिहीन बन्नेक्रम अझै थपिने उनको भनाइ छ । राज्यले भूमिहीन हुनेगरी जग्गा बेच्दै गर्दा यस कार्यलाई विपन्न समुदायलाई ठगिनबाट बचाउनुपर्ने उनको माग छ । रासस
रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को लागि कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख एवम् वडा सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा गर्नुपर्ने कार्यसम्पादन सम्झौता हस्तान्तरण गर्दै नगरप्रमुख प्रलाद सापकोटाले कार्यसम्पादन छिटोछरितो ढङ्गले सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ जिम्मेवारीअनुसार सबै कर्मचारीले आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।
नगरप्रमुख सापकोटाले नगरपालिकाले सम्पादन गर्ने कामकारबाही पेपरलेस हुनुपर्ने भएकाले सचिवहरु कम्प्युटरमा दक्ष बन्न सके सेवाग्राहीले छिटो सेवा पाउने भएकाले अनिवार्य कम्प्युटरको ज्ञान लिन अनुरोध गरे ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले विभिन्न विभागीय प्रमुख एवम् वडा सचिवहरुलाई कार्यसम्पादन सम्झौता हस्तान्तरण गर्दै नगरप्रमुखले दिएको लक्ष्यअनुसार सम्झौतामा उल्लेख भएका बुँदाहरु विद्यमान कानुन एवम् स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार कार्यान्वयन गर्न निर्देशन दिए । उनले कर्मचारीहरुले गर्ने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कृत र कारबाही हुने बताए ।
प्रशासन शाखा प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, लेखा अधिकृत प्रदीप पौडेल, स्टोर शाखा प्रमुख डिम्मेश्वरी पौडेल, वडा सचिवको तर्फबाट वासुदेव रिजाललगायतले प्रमुख प्रशासकीय अधिकृतले प्रदान गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
चितवन । छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौँको अनामनगरमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गरे ।
बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको समालोचक रेग्मीले जनाइन् ।
‘यो पुस्तक यति सुललित किसिमले लेखिएको छ,’ उनले भनिन्, ‘पढ्दै जाँदा पुस्तक छाड्नै मन लाग्दैन, कतिखेर सक्कियो, त्यो पनि पत्तै हुन्न ।’
समाजमा मानिस मात्र नभएर यहाँका प्राणीहरु पनि कसरी अनाथ बन्छन् भन्ने विषयलाई पनि बडो मार्मिक किसिमले प्रस्तुत गरिएको उनले बताइन् । ‘पुस्तक पढिरहँदा म थुप्रै ठाउँमा भावुक बनेकी छु,’ समालोचक रेग्मीले भनिन्, ‘यो पुस्तक तपाईंहरुलाई पढ्न म ढुक्कसाथ सिफारिस गर्न सक्छु ।’
कार्यक्रममा लेखक अमर न्यौपानेले उपन्यास ‘विविशारा’ लेखक छवि वैरागी घिमिरे जस्तै रहेको रोचक टिप्पणी गरे । उपन्यास पढ्दा कतै पनि झिजोलाग्दो नभएको र एकदुई बसाइमै पढिसकिने गरी उत्कृष्ट बनेको उनको भनाइ छ ।
‘उपन्यास विविशाराले मलाई एक किसिमको साहित्यिक स्वाद दियो,’ उनले भने, ‘यसको भाषाशैली र प्रस्तुतिले मलाई असाध्यै छोयो । पुस्तकहरुको संसारमा यसले आफूलाई पृथक् किसिमले उभ्याउने मेरो विश्वास छ ।’
लामो समयको खोज, अनुसन्धान र साधनापछि उपन्यास ‘विविशारा’ प्रकाशनमा ल्याएको लेखक छवि वैरागी घिमिरेले बताए । साहित्यकार बाबु त्रिपाठीले पनि पुस्तक पढेपछि समाजमा कति किसिमका अनाथ हुने रहेछन् भनेर सोच्न बाध्य बनाउने बताए ।
के छ विविशारामा ?
कुनै–कुनै कथाव्यथा भोग्नेलाई मात्र होइन, देख्ने–सुन्नेलाई पनि सहन गाह्रो हुन्छ । यो नियतिको प्रहारले मरणासन्न बनेको निर्दोष भुइँमान्छेको त्यस्तै कथा हो, जसमाथि नियतिभन्दा ठूलो प्रहार मान्छेबाट हुन्छ । अझ भनौं, दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो विपनको कथा हो ।
संसारमा अलौकिक प्रेम अझै मरेको छैन; विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुसीको जीवन पनि छ भन्ने विषयलाई उपन्यासले आफ्नो मूल कथ्य बनाएको छ ।
यो घटनाभित्रको घटना पनि हो । उपन्यास पढिरहँदा लाग्छ— जीवन मात्र एक्लो छ । यहाँ यस्ता पात्रहरुको कोलाज छ, जो कोही नभएर अनाथ त छन् नै, सबथोक भएर अनाथ बनिरहेका पनि यहीँ छन् ।
को हुन् छवि वैरागी ?
छवि वैरागी घिमिरे सशक्त छन्दकवि एवम् आख्यानकार हुन् । रेडियो सञ्चारकर्मीका रुपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा छन् । साधकका रुपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।
उनको पछिल्लो कृति किनारीकृत माइली चम्पू खण्डकाव्य चर्चित छ । विविशारा उनको दोस्रो उपन्यास हो । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
रत्ननगर । रत्ननगर-१० मा रहेको श्री सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कालिका नगरपालिकाका नगरप्रमुख एवम् सहकारीका संस्थापक अध्यक्ष विनोद रेग्मीले औपचारिक कार्यक्रमबीच गरेका थिए ।
साधारण सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष धर्मध्वज लम्सालले आर्थिक कारोबारसँगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व र संस्थागत विकासलाई प्राथमिकतामा राखेर योजना बनाइने बताए । गत वर्षको घाटालाई परिपूर्ति गर्दै यस वर्ष संस्थाले नाफा आर्जन गरेको भन्दै उनले सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सबिता आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लीलानाथ अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । गत वर्ष २ लाखभन्दा बढी घाटा व्यहोरेको सहकारीले यस आर्थिक वर्षमा २० लाख ८५ हजार ९८७ रुपैयाँ नाफा आर्जन गरेको र गत वर्षको घाटा परिपूर्ति गरी १८ लाख ५१ हजार ६२२ रुपैयाँ खुद नाफा गरेको अर्यालले बताए ।
संस्थाको शेयर पुँजी ८९ लाख ७९ हजार २०० रुपैयाँ र बचत २ करोड ३ लाख ६० हजार ४११ रुपैयाँ रहेको सचिव अनिता अर्यालले जानकारी दिइन् । यस वर्ष संस्थाको कुल खर्च ४५ लाख ५९ हजार रुपैयाँ भएको उनले बताइन् ।
सो अवसरमा प्रमुखअतिथि नगरप्रमुख रेग्मीले सहकारीले विधि, नियम र कानुनको पालना गरी कार्य गर्नुपर्नेमा जोड दिए । उनले आर्थिकरूपमा कमजोर शेयर सदस्यहरूको पहिचान गरी उनीहरूमा लगानी गर्न र सहकारीको विकासका लागि शेयर सदस्यहरूले पनि मेहनत गर्नुपर्ने बताए ।
रत्ननगर । रत्ननगर-१२ मा रहेको पञ्चकन्या हाइट चिसापानी टोल विकास संस्थाले २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै धार्मिक जिप सफारी आयोजना गरेर उदाहरणीय कार्य गरेको छ । संस्थाले टोलका ज्येष्ठ नागरिकलाई मायाको चिनो, सहज हिँडडुलका लागि लौरोलगायत सामग्री प्रदान गरी सम्मान गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकलाई रत्ननगरका प्रमुख धार्मिकस्थलहरूको भ्रमण गराउँदै जिप सफारी आयोजना गरिएको संयोजक सुवास घिमिरेले बताए । सोही अवसरमा संस्थाले वडा नं १२ का दुई उत्कृष्ट विद्यार्थी विवेक शर्मा (कक्षा १२) र अञ्जली घिमिरे (स्नातक तह)लाई पनि सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुखअतिथि वडा नं-१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले टोलले सामाजिक सन्देशमूलक कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “जबसम्म हामीले अग्रज आमाबुबालाई सम्मान गर्न सक्दैनौँ, तबसम्म हामीले चाहेजस्तो समाज निर्माण गर्न सकिँदैन।” वडा कार्यालय ज्येष्ठ नागरिकको सहयोगका लागि सधैँ तयार रहेको उनले प्रतिबद्धता जनाए ।
टोल विकास संस्थाका अध्यक्ष विकासनाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भागवत वाचिका विदूषी विमला वली, मेलमिलाप संयोजक भरत पाण्डे, विभिन्न टोलका अध्यक्षहरूलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रशान्त गुरूङले गरेका थिए ।
कालिका । सपना भिलेज सोसल इम्प्याक्ट र कालिका नगरपालिकाको लागत साझोदारीमा कालिका–१ का २०० घरधुरीमा बायोमास चुलो वितरण गरिएको छ ।
कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्दानको अध्यक्षतामा भएको कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका बोर्ड अफ डाइरेक्टर वर्षा पुरीको प्रमुख आतिथ्यता तथा इम्प्याक्टका प्रोग्राम डाइरेक्टर सुजन बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।
वडा सदस्य सरस्वती खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
सपना भिलेज, स्थानीय उपभोक्ता तथा नगरपालिकाको साझेदारीमा वडा नं–१ मा २०० घरधुरीलाई चुलो वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनका अनुसार यसअघि सो वडामा ७९ घरधुरीमा बायोमास चुलो वितरण गरिएको थियो ।
धुवाँ कम गर्ने चुलो स्थानीयवासीले राम्रोसँग प्रयोग गर्दै आएको र स्वास्थ्यमा समेत सुधार आउनुका साथै दाउराको बचत हुने उनले बताए । उनले धुवाँ कम गर्ने चुलोले करिब ८० प्रतिशतसम्म धुवाँ घटाउने र थोरै दाउराबाट पनि खाना पकाउन सकिने भएकाले यसको माग बढ्दो रहेको बताए ।
वडाका कर्मचारी रेखा अम्गाईंले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु जीवन लामा, ओमकार खड्का, वडा सचिव रामबहादुर लुवार, समाजसेवी भरत पोखरेल, तिलक थापा मगरलगायतको सहभागिता रहेको थियो ।
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले आन्दोलनरत निजी विद्यालयका सञ्चालक र शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रस्तावित शिक्षासम्बन्धी विधेयक संशोधन गर्न माग गरेको छ ।
संघले विज्ञप्ति जारी गरी विधेयकमा प्रस्तावित गैरनाफामूलक र पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्था निजी तथा आवासीय विद्यालयहरुको अस्तित्व, लगानी र भविष्यप्रति सशङ्कित हुने अवस्था सिर्जना गर्ने भन्दै संशोधन गर्न माग गरेको हो ।
संघका अध्यक्ष शंकर गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी विद्यालयहरुले लिएको शुल्कबाट पूर्वाधार निर्माणमा ठूलो रकम खर्च हुने गरेको तर लगानीअनुसार मुनाफाको सुनिश्चितता नहुने हो भने शिक्षामा भविष्यमा निजी क्षेत्र निरूत्साहित हुने अवस्था आउने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “निजी विद्यालयको स्तरअनुसार शुल्क निर्धारण हुने भएकाले सामुदायिक र निजी विद्यालयले समान छात्रवृत्ति दिनुपर्ने व्यवस्था व्यावहारिक छैन ।”
त्यसैगरी, २०७७ मा संशोधन गरिएको छात्रवृत्ति ऐनले सामुदायिक विद्यालयमा मात्र अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षा तथा प्राविधिक तालिम परिषद्अन्तर्गत छात्रवृत्ति पाउने व्यवस्था गरेको विषयलाई संघले विभेदकारी भनेको छ ।
यसले शिक्षा प्राप्त गर्ने संवैधानिक समान अधिकारको उल्लङ्घन गर्ने संघको भनाइ छ । निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान पुर्याउँदै आठ खर्ब रूपैयाँबराबरको लगानी र पाँच लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको भन्दै संघले राष्ट्रको सीमित लगानीबीच पनि गुणस्तर कायम गर्न निजी तथा आवासीय विद्यालयले महत्त्वपूर्ण योगदान दिइरहेको जनाएको छ ।
संघले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दल, सांसद् र सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पहलमा विभेदकारी प्रावधान हटाई विद्यालय शिक्षा ऐन, २०८२ समन्यायिक सामाजिक न्याय र गुणस्तरीय शिक्षासहित पारित गर्न माग गरेको छ ।
रत्ननगर । गोरखा रत्ननगर सम्पर्क समाजको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले वेदप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा युवराज पाण्डे, सचिवमा सूर्यमणि ढकाल, सहसचिवमा भरत पाण्डे, कोषाध्यक्षमा पूर्णमान श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरूमा रामकृष्ण लम्साल, समिता सिंखडा, कमला श्रेष्ठ, ज्योति गुरूङ र महेशप्रसाद ढकाल निर्वाचित भएका छन् ।
बागमती प्रदेश, चितवन क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यता एवम् रत्ननगर १० का वडाध्यक्ष कलाधर पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाण्डेले रत्ननगरमा रहेका सम्पूर्ण गोर्खालीहरूलाई एकताबद्ध गरी सामाजिक कार्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
रत्ननगर । लेखक कमल अर्यालको नयाँ कृति ‘सिलायात्रा’ सार्वजनिक भएको छ । चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारे अनुसन्धान गरेर तयार पारिएका ११ वटा लेख समावेश गरिएको सो कृतिमा तथ्य, इतिहास र भावनाको सिला खोज गरिएको लेखक अर्यालले बताए ।
लेखक अर्यालले चितवनको पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेका स्थलहरूको अध्ययन सामग्री ‘सिलायात्रा’मा समेटिएको बताए ।
रत्ननगर वाङ्मय प्रतिष्ठान एवम् वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरे, प्रमुखअतिथि वरिष्ठ साहित्यकार केदारनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र उदय अधिकारीले पुस्तकको एकैसाथ विमोचन गरेका हुन् ।
समीक्षक कपिल अज्ञातले ‘सिलायात्रा’लाई खोजमूलक कृति भन्दै अर्यालको गद्य लेखन सशक्त देखिएको टिप्पणी गरे । उनले भने, “अर्यालले अनुसन्धानमार्फत चितवनका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सामग्री संकलन गर्नुभएको छ । यसले उहाँको साहित्यिक यात्रालाई सहज बनाएको छ ।”
कार्यक्रममा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने उदय अधिकारी, डा. चेतराज रेग्मी लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए । सो अवसरमा जगन्नाथ पण्डित, रामेश्वर रिजाल, टिएन अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा कवि तथा गजलकार राजेन्द्र घायल, यमुना अधिकारी न्यौपाने, समिता पौडेल न्यौपाने, प्रेम कँडेल, अशोक भुसाललगायतले रचना वाचन गरेका थिए ।




