
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा निजी क्षेत्र लगानी सुनिश्चत हुने गरी बनाउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय शिक्षा विधेयकका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमा निजी विद्यालयका सञ्चालकले विधेयकमा गैरनाफामूलुक बनाउने कुरा अमान्य भएको जनाउँदै लगानी सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
उच्च विद्यालय तथा माध्यामिक विद्यालय सङ्घ नेपालका (हिसान) का कार्यवाहक अध्यक्ष युवराज शर्माले सबैलाई सम्बोधन गर्ने खालको विधेयक नआउने भन्दै विधेयकलाई निजी शिक्षण संस्थालाई कमजोर बनाउने नहुने बताए ।
उनले राज्यले निजी क्षेत्रलाई स्थान दिने देखिने पनि शिक्षा विधेयकले निजी लगानीका विद्यालयमा पनि असर गर्ने बताए । विधेयकले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर हुन्छ भन्नेमा शङ्का उत्पन्न भएको बताए ।
उनले विधेयक शिक्षामा युगान्तकारी परिवर्तन खालको नभएको भन्दै अझ संशोधन गर्नुपर्ने बताए । उनले पाठ्यक्रम सुधारका कुरा विधेयकमा राख्नुपर्नेमा जोड दिए ।
उनले निजी विद्यालयलाई अझ उत्तरदायी बनाउँदै निजी विद्यालयको लगानी सुनिश्चित गर्नुपर्ने बताए । हिसानका कार्यवाहक अध्यक्ष शर्माले निजीले सामुदायिक विद्यालय व्यवस्थापन गर्ने कुरा विधेयकमा राख्नुपर्नेमा जोड दिए ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याव्सन) का अध्यक्ष कृष्ण अधिकारीले सरकारले शिक्षालाई धान्छ भने आफूहरुले अन्य व्यवसाय गर्ने बताए । उनले विधेयकमा निजी क्षेत्रको लगानी सुनिश्चित नगरे विद्यालय बन्दसम्मको आन्दोलन गर्ने जानकारी दिए ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (एनप्याव्सन) का अध्यक्ष सुवास न्यौपानेले विधेयकले शिक्षाको गुणस्तर सुधार्न ध्यान नदिएको बताए । उनले अहिलेको २१औँ शताब्दिको शिक्षालाई मार्गदर्शन गर्न नसक्ने बताए । “हामीले सबै पैतृक लगानी गरेर निजी विद्यालय बनाएका छौँ । तर अहिले आएर विधेयकमा कम्पनी अन्तर्गत गैरनाफामूलुक भनेर निजी विद्यालयलाई परिभाषित गरिएको छ” उनले भने, “निजी विद्यालय गैरनाफामूलक बनाउने कुरा विधेयकमा अमान्य रहेको छ । यसलाई संशोधन गर्नुपर्दछ ।”
प्याब्सनका निवर्तमान डिके ढुङ्गानाले कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने नपाइने बताए । उनले निजी क्षेत्रको योगदान शिक्षामा धेरै रहेको भन्दै विधेयकका सम्बन्धमा राजनीतिक नेतासँगको भेटमा विधेयक संशोधनको आश्वासन पाएको बताए । इजोनका अध्यक्ष ईश्वरराज ढकालका अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीति (ग्लोबल सेक्युरिटी इनिसियटिभ)मा समर्थन गरेको विषयमा सरकारको धारणा माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले ग्लोबल सेक्युरिटी इनिसियटिभमा समर्थन गरेको र प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको सम्झनामा आयोजित ‘परेड’मा नेपालको सहभागिता सम्बन्धमा सरकारको धारणा माग गरेका हुन् ।
प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले चिनियाँ पक्षले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई)मा नेपालको समर्थन रहेको र भ्रमणदलमा सहभागी नेपाली अधिकारीको ‘होइन’ भने अभिव्यक्तिबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए ।
“चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा जिएसआईमा नेपालले समर्थन गर्छ भनेर उल्लेख गरिएको छ”, सांसद पाण्डेले भने, “प्रधानमन्त्रीको भ्रमण दलका नेता र मन्त्रीले यसमा नेपालको समर्थन छैन भन्दै आउनुभएको देखिन्छ । सत्य के हो यो प्रष्ट हुनुपर्छ ।”
सांसद पाण्डेले नेपालको प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले भाग लिनु नेपालले अङ्गीकार गर्दै आएको असंलगन परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको विरोधमा भएको बताए । “यसबारे प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जानकारी गराउनुपर्छ”, उनले भने ।
उनले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसमक्ष असहमति राखेकामा धन्यवाद दिए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि यसैगरी आपत्ति जनाउन उनले आग्रह गरे ।
“लिपुलेक कालापानी भारत र नेपालबीचको विषय भन्दै चीन पन्छिएको भन्ने विषय बाहिर आएको छ, हामीले सधैँभरि चीनलाई असल छिमेकी मानेका छौँ । भारत र नेपालको मात्र मामिला हो भनेर चीन पन्छिन मिल्दैन”, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीतिमा सहमति जनाएको भन्ने बारेमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । “यो नेपालले अङ्गीकार गरेको असंलग्न परराष्ट्र नीतिबाट फरक हो, यदि नेपालले सोसम्बन्धी समर्थन गरेको भए आगामी दिनमा घातक परिणाम निम्तन सक्छ”, उनले भने, “प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा आफूहरूको असहमति नरहेको उल्लेख गर्दै त्यस्ता माध्यमलाई नियमनमा ल्याउनुपर्ने बताए । “सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिन हुँदैन, सामाजिक सञ्जाल नियमनसम्बन्धी न्यायालयको फैसला कार्यान्वयन गर्न कूटनीतिक प्रयास गर्नुपर्छ”, उनले भने ।
विपद् व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको कमजोरी स्पष्ट भएको जनाउँदै सांसद चौधरीले वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन नसक्नु विडम्बना भएको बताए । “वीरगञ्जमा हैजा फैलिएको डेढ हप्ता बितिसक्दा पनि स्रोत पत्ता लागेको छैन, जनता त्रासमा छन्, तर सरकार मौन छ”, उनले भने ।
सौराहा । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराहा एक हो । यहाँ आउने जो कोहीले सौराहाको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।
निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ। यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन्।
सौराहास्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू (बच्चाहरू) हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ। प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ। हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ। यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरा लगायतले गर्दै आएका छन् ।
प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहाकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो। उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए। प्रसाईंले भने, ‘त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ।’
रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उनले बताए। ‘आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन। घाइतेजस्तो पनि देखिएको थिएन। हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो। त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ। अनि उपचार र पालन–पोषण गरिएको हो।’
त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए। बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो। बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ।
केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताए । ‘यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन। उनले भने, ‘यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ। घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ।’
गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ। यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन्। पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौंस्थित सेन्टर चिडियाखाना पठाइएको छ। यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छ।
वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ। हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन्। गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उनले बताए।
हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ। छवटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सकेका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न छन्।
उनले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्छन्। ‘बच्चा अवस्थामा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन सुरु गरिन्छ,’ महतराले भने, ‘मैले हासम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडाहरू हुर्काइसकेको छु। यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि बिस्तारै तङ्ग्रिँदै छन्।’
यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई सुरुमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा सडौलाले बताए। उनका अनुसार, सामान्य गाई–भैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन। त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने भनाइ छ ।
बच्चाहरूका बचपनमै बढी कुरा सिक्ने भएकाले माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंको भनाइ छ ।
उनले भने, ‘कोशीमा लगिएका गैँडालाई पनि त्यही उद्देश्यका लागि नयाँ बासस्थानमा लगिएको हो। माउ गैँडासँग हुँदा बच्चाले खान, हिँड्न र शत्रुबाट जोगिने सीप सिक्छ, तर मानव संरक्षणमा हुर्काइएका यिनीहरूले आमा गैँडाको मार्गदर्शन नपाउने भएकाले, अन्य गैँडाको हूलसँग घुलमिल हुन केही कठिनाइ हुन्छ।’
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताए । मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको उनले बताए ।
“आम नागरिकलाई सुरक्षित छु भन्ने महसुश गराउनु नै हामी सबैको कर्तव्य हो । आम नागरिकको नजिक रहेर उनीहरुको सुखदुःखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारीताको मापन पनि हो । नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस्”, सचिव दुवाडीले भने, “सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाइ प्रहरी सङ्गठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौँ ।”
समाजमा आपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले भने, “अपराधका नयाँ नयाँ श्रृङ्खला बढिरहेका छन् । सबै अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जरुरी छ ।”
त्यसैगरी नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताए । “सकेको राम्रो गर्छु तर, नराम्रो गर्ने छैन”, उनले भने, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।”
अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए ।
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरू गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ । आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन, उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ”, उनले भने, “सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।”
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डायरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए । “मन्त्रालयले गरेको एक अध्ययनअनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन्”, उनले भने, “तर, कति वटा बन्द हुन्छन् यकिन छैन ।”
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरूङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।
उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।
मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।
मन्त्री गुरूङले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।”
मन्त्री गुरूङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए । उनले सिधा कुरा डटकमको मुद्दामा अदालतले फैसला गर्दा सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ ।
“सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौँ”, मन्त्री गुरूङले भने, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन ।”
रत्ननगर । स्काइराइडर आवासीय माध्यमिक विद्यालयले जिल्लास्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
जिल्ला ब्याडमिन्टन संघले भदौ १४ र १५ गते आयोजना गरेको प्रतियोगितामा स्काइराइडरबाट सहभागी पाँच जना विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका थिए । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए ।
प्रतियोगितामा तीन उमेर समूहमा खेलाइएको थियो । १३ वर्षमुनिको छात्रतर्फ युसफ गुरूङले प्रथम र ग्याब्रियल लामाले द्वितीय स्थान हासिल गरे । छात्रातर्फ पूर्वी ताम्राकारले प्रथम र अनुष्का भारतीले द्वितीय स्थान प्राप्त गरे । यस्तै, १५ वर्षमुनिको उमेर समूहको छात्रतर्फ पनि युसफ गुरूङ प्रथम र ग्याब्रियल लामा द्वितीय भए । छात्रातर्फ पूर्वी ताम्राकारले पुनः प्रथम स्थान हासिल गरिन् । १७ वर्षमुनिको छात्रातर्फ सुदिप्ती श्रेष्ठले तृतीय स्थान प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रमेश पुरीले बताए ।
सम्मान कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक प्रमुखअतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा रत्ननगर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष किरण लामा, रत्ननगर नगर खेलकुद समितिका सहसंयोजक सौगात भुजेल, विद्यालयका निर्देशक दुर्गाकुमार पुरी, सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठ, केशवराज पाठकलगायतको सहभागिता रहेको थियो।
चितवन । चितवनको रत्ननगर-६, बछौली घर भई हाल अस्ट्रेलिया बस्दै आएका आरजु गिरीको गजल भिडियो नेपाली गजलबहार युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गजल भिडियोमा गायिका तथा सङ्गीतकार बबिना भट्टराईले स्वर र सङ्गीत दिएकी छन् । गजलमा लालकाजी श्रेष्ठको एरेन्ज रहेको छ । स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजल ‘को हौ तिमी’ वरिष्ठ ध्वनि इन्जिनियर महेश्वरमान राजभण्डारीले रेकर्ड तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
एजे अजुले निर्देशन गरेका गजल ‘को हौ तिमी’को भिडियो सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् । भिडियोमा बबिना आफैँ फिचर्ड भएकी छिन् । ‘को हौ तिमी’ गजलको भिडियोमा प्रिया नगरकोटीले शृङ्गारसहित भुवन गन्धर्व तबला, सञ्जीव बराइली गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् ।
गायिका तथा सङ्गीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएकोमा खुसी साट्दै भन्छिन्, ‘आरजु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्नो अमूल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा स्रोताहरुलाई अनुरोध गर्दछु ।’
गजलकार आरजु गिरीले गायिका तथा सङ्गीतकार बबिना भट्टराईप्रति कृतज्ञ हुँदै प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्, ‘म कसरी खुसी व्यक्त गरौँ अलमलमा परेको छु । यो मीठो साथको लागि हाम्रो युगको सशक्त गायिका एवम् सङ्गीतकार आदरणीय बबिनाजी एवं सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
भरतपुर । गुरूङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘पुर्खाको थलो’ चितवनमा पनि प्रदर्शन हुने भएको छ । पोखरा र हङ्कङमा प्रदर्शन भइसकेको चलचित्रलाई चितवनमा पनि प्रदर्शन गर्न लागेको निर्माण पक्षले जनाएको छ ।
यही भदौ २१ गते शनिबार नारायणगढस्थित इन्द्रदेव सिनेमामा बिहान ११ बजे विशेष प्रदर्शन गर्न लागेको चलचित्रको बजार व्यवस्थापक एवम् कलाकार अमिर गुरूङ (बन्दीपुरे ठागु)ले जानकारी दिए ।
‘अहिले चलचित्रको प्रचारप्रसारसँगै दर्शकलाई हलसम्म बोलाउने काममा तीव्रता दिइरहेका छौँ’, बुधबार नारायणगढमा भएको पत्रकार भेटघाटका क्रममा उनले भने, ‘यसअघि प्रदर्शनमा दर्शकले दिएको प्रतिक्रियाको आधारमा पनि चितवनको प्रदर्शन सफल हुने हामीले अपेक्षा गरेका छौँ ।’
ओमप्रकाश गुरूङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको चलचित्र मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको हो । मुनालको यो आठौँ चलचित्र हो । पछिल्लो समय बिदेसिने प्रवृत्तिको विकास हुँदै जाँदा गाउँघरमा देखिएको सामाजिक परिवर्तनलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ । माया, प्रेमसँगै सामाजिक परिवेशमा निर्माण भएको चलचित्रले गुरूङ समुदायको संस्कृतिलाई जोडेर बोल्ने प्रयास गरेको छ ।
कुविना गुरूङसँगै दिल घले, उत्तरबहादुर गुरूङ, खिमकुमारी गुरूङ र जोगमाया गुरूङको लगानीमा तयार भएको चलचित्रमा पिटर गुरूङ, खेमेन्द्र गुरूङ र जलन गुरूङले छायाङ्कन गरेका छन् । चलचित्रमा गणेशमान घले, लक्ष्मी गुरूङ, ओमप्रकाश गुरूङ, डिबी गुरूङ, लालशोभा गुरूङ, गणेश गुरूङ, शुष्मा गुरूङ, उत्तरबहादुर गुरूङ, कविता गुरूङ, अमिर गुरूङ, खिमकुमारी गुरूङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरूङ, जोया गुरूङ, सुनदेवी गुरूङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
गुरूङ संस्कृतिमा आधारित चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओमप्रकाश गुरूङ लामो समयपछि पर्दामा पुनर्आगमन भएका हुन् । उनले यसअघि नै तीनवटा चलचित्र निर्देशन गरिसकेका छन् ।
चलचित्रमा गमबहादुर गुरूङ (गोरे)को र विनोद रसाइलीले संगीत संयोजन गरेका छन् । नृत्य निर्देशन भने नेत्रबहादुर गुरूङले गरेका छन् ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं-१५ मा रहेको माधवपुर माध्यमिक विद्यालयमा बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ चितवन टाइगर्सको आयोजना, वडा कार्यालयको सहयोग र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहकार्यमा आयोजित उक्त शिविरमा ४४२ जना विद्यार्थीको आँखा जाँच गरिएको छ।
लायन्स क्लब अफ चितवन टाइगर्सका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विवेक लामिछानेका अनुसार, वरिष्ठ नेत्र सहायक आयुष पौडेलको नेतृत्वमा पाँच जनाको टोलीले आँखा जाँच गरेको थियो । शिविरमा ९ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको र ६ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ ।
दुई दिनसम्म चलेको शिविरमा मंगलबार २५२ जना विद्यार्थीको आँखा जाँच गरिएको क्लबका अध्यक्ष शालिकराम बास्तोलाले जानकारी दिए । शिविरको उद्घाटन वडा नं-१५ का वडाध्यक्ष आशिक तामाङले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले शिविरले दृष्टिसम्बन्धी समस्या र विशेषगरी बालबालिकाको आँखासम्बन्धी समस्याको समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । “हाम्रो वडाले जनताको स्वास्थ्यलाई सधैं प्राथमिकतामा राखेको छ। यो शिविरले स्थानीय बासिन्दालाई गुणस्तरीय आँखा उपचारमा सहज पहुँच प्रदान गरेको बताए ।
कार्यक्रममा वडा सदस्य सुकमाया परियार, विद्यालयका प्रधानाध्यापक रमेश भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्य मदन भुजेल, क्लबका संस्थापक अध्यक्ष ओमलाल सापकोटा, डिष्ट्रिक ३२५ आर का क्लष्टर चिफ शिव पुरीलगायतको उपस्थिति थियो । संस्थाका सचिव मुक्तिनाथ सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए भने संयोजक विवेक लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।





