
नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु भएको छ। गत साउन २० देखि हालसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको जानकारी दिए।
मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकामा त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए। ‘संक्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौं पठाउनुपर्छ’, उनले भने, ‘नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ।’
जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म १४ जना संक्रमित भएका जनाउँदै तिवारीले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उल्लेख गरे। ‘सङ्क्रमित दुवै बिरामीको काठमाडौंमा उपचार भइरहेको छ’, उनले भने, ‘जापानिज इन्सेफलाइटिस संक्रमित व्यक्तिको सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उनीहरूको अवस्था गम्भीर बन्न थाल्छ।’
उनका अनुसार संक्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका चार र हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक÷एक जना छन्।
‘संक्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ’, उनले भने, ‘जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएकाको छिमेकीको नमूना संकलन गर्दा तीन जनामा संक्रमण पुष्टि भए पनि उहाँहरूको अवस्था सामान्य छ।’ सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमा बसिरहेको उनले जानकारी दिए।
प्रयोगशाला प्राविधिक निरीक्षक तिवारीका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ। धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुने गरेको उनको छ।
जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्म बिरामीको मृत्युसमेत हुनसक्ने निरीक्षक तिवारीले बताए। यो रोग हाँस, कुखुरालगायत चराचुरुङ्गी र सुँगर, बङ्गुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उनले जानकारी दिए।
तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताए। जिल्लामा जापानिज इन्सेफलाइटिसबाट एक महिनामा तीन जनाको मृत्यु भएपछि कार्यालयबाट समुदायमा सचेतना फैलाउने काम भइरहेको उनले उल्लेख गरे।
टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थी एवं नागरिक समाजको सहकार्य र समन्वयमा यो रोग लाग्ने सम्भावना, जोगिने उपायलगायत विषयमा सचेतना फैलाइएको तिवारीले बताए। लामखुट्टेको टोकाइबाट जोगिन हाँस, कुखुरा तथा सुँगुर, बङ्गुर खोर, समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने उनको भनाइ छ।
गत आर्थिक वर्ष २०८१र८२ मा यस रोगबाट तीन जना संक्रमित भएकामा आव २०८०/८१ मा १२ जना संक्रमित हुँदा चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
काठमाडौँ । आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले हाललै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० ९पहिलो संशोधन २०८२०’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकाअनुसार विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो सुविधा स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्यरूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने बताए ।
उनले भने, “हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बिमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ । यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्नेछ ।”
यसका लागि हालका सेवाग्राहीलाई आउँदो असोज मसान्तभित्र बिमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाइएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।
नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।
प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ ।
एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।




