
रत्ननगर । रत्ननगर नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा मानव बेचबिखनविरूद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा कानुनी सचेतनासम्बन्धी अन्तर्क्रिया गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि कार्यवाहक नगरप्रमुख बालकृष्ण चापागाईंले सूचना प्रविधिको विकाससँगै मानव बेचबिखनको स्वरुप बदलिँदै गएको अवस्थामा समाजका हरेक तप्कामा मानिस सचेत हुनुपर्नेमा जोड दिए ।
मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध भएको बताउँदै यो सामाजिकरुपमा निन्दनीय र कानुनीरुपमा दण्डनीय भएकोले समाजको कलङ्कका रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार र राज्यका निकायहरुले सक्रियतापूर्वक काम गर्न जरूरी रहेको बताए ।
मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधलाई जरैदेखि उन्मूलन गर्न, पीडितलाई उचित न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन नसकिए यस दुष्चक्रमा परेर कैयौँ मानव बेचबिखनको सिकारमा पर्ने जोखिम रहेको उनले बताए । आफ्नो वडामा विद्यार्थीमार्फत जनसमुदायमा सचेतना फैलाउन विद्यालयहरुमा मानव बेचबिखन, लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रञ्जन अवाले आफ्नो कार्यालयमा दैनिक दुई–तीनवटा सामाजिक सञ्जालमार्फत हुने साइबर अपराध, यौन हिंसा, हनी ट्रयाप र ह्याकरमार्फत भइरहेका ठगीसम्बन्धी उजुरी पर्ने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोग गर्दा निकै चनाखो हुनुपर्नेमा जोड दिए ।
अहिले विदेशबाट सञ्चालित सामाजिक सञ्जालमार्फत हुने अपराध र ठगीका घटनामा अनुसन्धान गर्न कानुनी जटिलता रहेकोले सरकारले नियमनका लागि सामाजिक सञ्जाल नेपालमै दर्ता गरी सम्पर्क व्यक्ति तोक्नका लागि पछिल्लो कदम चालेको बताए ।
‘प्रहरीमा उजुरी परेपछि ३५ दिनभित्र घटनाको अनुसन्धान गरी अदालत पठाउनुपर्ने हुन्छ’, उनले भने, ‘नेपालमा कार्यालय नभएका सामाजिक सञ्जालमार्फत भएका घटनाको बारेमा पत्राचार गर्दा भारत, सिंगापुर हुँदै अमेरिकाबाट जवाफ आउँदा ३५ दिन कटिसकेको हुन्छ ।’ त्यसैले, सामाजिक सञ्जालहरु नियमन हुँदा कुनै घटनाको अनुसन्धान गर्दा सम्पर्क कार्यालय वा व्यक्तिबाट चाँडै रेस्पोन्स हुने उनले बताए ।
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबरजस्ता प्लेटफर्मको प्रयोग गरी अपराधीहरुले प्रेम सम्बन्ध गाँस्ने, व्यक्तिगत विवरण सङ्कलन गर्ने, चिठ्ठा परेको भन्दै प्रलोभन देखाउने, गोप्य अङ्गको भिडियो खिचेर बार्गेनिङ गर्ने, उपहार पठाइदिने भन्दै पैसा जम्मा गर्न लगाउने, बैंक एकाउन्टमार्फत रकम चोरी गर्नेजस्ता घटना भइरहेको भन्दै हरेक परिवारका सदस्य चनाखो हुनुपर्ने समय आएको उनले बताए । उनले चाडबाडको समयमा घरबाहिर जाँदा आफन्त वा छिमेकीको जिम्मा लगाउन सुझाव दिए ।
आफ्ना छोराछोरीले कस्ता सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्, कहाँ जान्छन्, कस्तो व्यक्तिको संगतमा छन् र आमाबाबुलाई ढाँटेर कस्तो गतिविधिमा लागेका छन् भन्ने कुरा अब सबैले जान्न आवश्यक रहेको उनले बताए । मोबाइलमा ‘लोकेसन ट्रयाक’ गरेर पनि यसबारे जानकारी राख्न आवश्यक भइसकेको उनले बताए ।
कार्यक्रममा उनले आफ्नो कार्यालयमा उजुरी परेका र प्रकाशमा आएका केही घटनाक्रमबारे उदाहरण प्रस्तुत गरेका थिए । उनले विभिन्न गिरोहले वैदेशिक रोजगारका नाममा गाउँका सीधासाधा युवा र युवतीलाई प्रलोभन देखाएर मानव तस्करी हुने गरेका दृष्टान्तसमेत प्रस्तुत गरे ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा रहेका कानुनी प्रावधानबारे आफ्नो प्रस्तुति दिएका थिए । मानव बेचबिखनले डरलाग्दो रुप लिइरहेको भन्दै उनले चिन्ता प्रकट गरे । सुरूवातमा भारतका कोठीहरुमा चेलीबेटी बेचबिखन हुने गरेकोमा अहिले बालबालिका, युवा, महिला सबै जोखिममा रहेकोले मानव बेचबिखन भन्ने गरिएको उनले बताए ।
पहिले अशिक्षित र ग्रामीण क्षेत्रका युवतीहरु बेचबिखनमा पर्ने गरेकोमा अहिले शिक्षित र जानेबुझेकै मानिसहरु पनि दलालको फन्दामा पर्ने गरेको उनले बताए । नेपालबाट भिजिट भिसामार्फत दलालहरुले युएई, कुबेतलगायतका देशमा पु¥याउने गरेको र यसरी श्रम सम्झौताबिना अवैधरुपमा बिदेसिएकामध्ये २० प्रतिशत महिला यौन हिंसा र बेचविखनमा पर्ने गरेको उनले सुनाए ।
मानव बेचबिखनका घटनामा अपराधबाट हुने सजायभन्दा दलालहरुले लिने लाभ बढी रहेको अवस्था चित्रण गर्दै उनले समाजका हरेक वर्ग समूहमा यसबारे जनचेतना फैलाउन अपरिहार्य रहेको बताए । कोही पनि हिंसा र बेचबिखनमा नपरुन् भन्ने उद्देश्यले स्थानीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र प्रहरी कार्यालयमा महिला सेल रहेकाले शङ्कास्पद व्यक्ति, गिरोह र अवैधरुपमा विदेश पठाउने दलालविरूद्ध जानकारी दिन सकिने उनको भनाइ थियो ।
कार्यपालिका सदस्य एवम् लक्षित वर्ग महिला व्यवस्थापन समितिका संयोजक बबिताकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तथा सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा घिमिरेले गरेकी थिइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, महिला समूह, आमा अमूह, बचत तथा सहकारी संस्था एवम् विभिन्न सामाजिक संघसंस्थामा आबद्ध २०० बढी महिलाको सहभागिता रहेको थियो ।
रत्ननगर । रत्ननगर-३ वडा कार्यालय र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको संयुक्त आयोजनामा स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरको पहिलो दिन १०३ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा ३० जनाको स्तन क्यान्सर परीक्षण गरिएको आधारभूत स्वास्थ्यकेन्द्र इन्चार्ज निर्दोषी घिमिरेले जानकारी दिइन् । शिविरमा एक जनामा पाठेघरको मुखको क्यान्सर पाइएको छ भने १२ जनामा पाठेघरको मुखमा सङ्क्रमण र महिनामारी समयमै नहुने १३ जनाको उपचार गरिएको छ ।
स्तनबाट पिप र रगत बग्ने समस्या भएका ३ जना, स्तनमा गठागुठी देखिएका ७ जना र स्तन दुख्ने समस्या भएका ६ जनाको उपचार गरिएको घिमिरेले बताइन् ।
वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुखअतिथि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य शिला अधिकारी रहेकी थिइन् । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र उपनिर्देशक डा. उमेश नेपालको विशेष उपस्थिति थियो ।
सो अवसरमा प्रमुखअतिथि अधिकारीले क्यान्सरजस्तो प्राणघातक रोगबाट महिलाहरूलाई जोगाउन शिविर सञ्चालन गरिएको बताइन् । वडाध्यक्ष खरेलले स्तन र पाठेघरमा हुन सक्ने क्यान्सर रोकथामका लागि घरआँगनमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको स्पष्ट पारे ।
शिविरमा प्रसूति रोग विशेषज्ञ डा. मञ्जु पाण्डे र स्तन शल्य चिकित्सक डा. अनुप भट्टचनको नेतृत्वमा चिकित्सकहरूको टोलीले महिलाहरूको परीक्षण गरेका थिए ।
आधारभूत स्वास्थ्यकेन्द्रमा सञ्चालित कार्यक्रममा वडा सदस्य शिव खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य बैसखनी थरुनी, महिला स्वास्थ्य स्वयंसेविका समन्वय समिति रत्ननगरकी अध्यक्ष मीना गिरी, लेखक तथा साहित्यकार कमल अर्याललगायत टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता थियो ।
रत्ननगर । रत्ननगर–१० मा रहेको जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा छ महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुखअतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले चितवन स्वास्थ्य नगरीको रूपमा स्थापित भएको सन्दर्भमा एकता शिशु निकेतनले हरेक वर्ष आयोजना गर्ने रक्तदान कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भने, “यो विद्यालयले विद्यार्थीहरूमा मानवताको भावना जगाउनुका साथै रेडक्रसका हरेक गतिविधिमा देखाएको सक्रियता र सहयोगप्रति हामी आभारी छौँ ।”
कार्यक्रममा विद्यालयका प्राचार्य तथा जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनका संरक्षक बालहरि देवकोटाले रेडक्रसका हरेक कार्यमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । उनले आगामी दिनमा पनि रक्तदान र मानवसेवाका कार्यमा निरन्तर जोडिने प्रतिबद्धता व्यक्त गरे ।
जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनकी अध्यक्ष अर्जिना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विजयराज खनाल, रेडक्रस उपशाखा रत्ननगरकी अध्यक्ष अनु गौतम, आशाबहादुर गुरूङ, कृष्ण आचार्यलगायतले मन्तव्य राखेका थिए ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ अन्तर्गत सिर्जना टोल सुधार समितिको पाँचौँ अधिवेशनले तिलक पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एलिना पराजुली, सचिवमा डिल्लीप्रसाद आचार्य, सहसचिवमा देवी पौडेल र कोषाध्यक्षमा शंकर क्षेत्री चयन भएका छन् । यस्तै, सदस्यहरुमा दिल्लीप्रसाद सुवेदी, दिल्लीप्रसाद पौडेल र शर्मिला बिडा रहेका छन् ।
यस्तै,लेखनाथ पौडेलको संयोजकत्वमा कृष्णदेव गौतम र गोमा रेग्मी सदस्य रहने गरी लेखासमिति चयन गरिएको छ ।
रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ज्येष्ठ सदस्य देवदत्त उपाध्याय, रत्ननगर टोल अध्यक्ष कपिल श्रेष्ठ, सरस्वती टोलका अध्यक्ष टीकाराम ढकाल र जागृति टोलका अध्यक्ष विष्णु पौडेललगायतको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष तिलक पौडेलले टोल सुधार, सरसफाइ, पूर्वाधार विकास र सामुदायिक समृद्धिका लागि सक्रियतापूवर्क काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै टोलवासीलाई सहकार्य र समर्थनका लागि आग्रह गरे ।
रत्ननगर । रत्ननगर–१५ वडा कार्यालयले सुत्केरी र गर्भवती महिलालाई आइतबार पौष्टिक आहार वितरण गरेको छ । सो वडाले १० जना सुत्केरी र ६ जना गर्भवती गरी १६ जनालाई कुखुराको भाले, दुई किलो नौनी घ्यु, एक क्रेट अन्डा, एक किलो मह, मुङको दाल, चनालगायत सरसफाइका सामग्री प्रदान गरेको हो ।
आधारभूत स्वास्थ्य सेवाकेन्द्रमा आयोजित कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहारलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पौष्टिक आहार वितरण गरिएको बताए । उनले स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अन्डा, नौनी घ्युलगायत सामग्री खरिद गरी वितरण गरिएको जानकारी दिए । यसबाट स्थानीय उत्पादनलाई पनि प्रोत्साहन गर्न टेवा मिल्ने उनले बताए ।
‘सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी हो’, उनले भने, ‘पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै मह¤वपूर्ण छ ।’ माधवपुरवासीको सुखदुःखमा वडा कार्यालय सधैँ साथमा रहेको अनुभूति दिलाउन सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स–रे लगायतका आधारभूत स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य सेवाकेन्द्रकी प्रमुख रोजिना गिरीका अनुसार विभिन्न चरणमा १५५ जना सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिसकिएको छ ।
कार्यक्रममा वडा सदस्यहरू शिव तिवारी, इमप्रसाद पन्त, लीलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, सामुदायिक महिला स्वास्थ्य स्वय्सेविका लगायतको उपस्थिति थियो । वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेको कार्यक्रम स्वास्थ्य सेवाकेन्द्रकी प्रमुख रोगिना गिरीले सञ्चालन गरेकी थिइन् ।
चितवन । ओमप्रकाश गुरूङ निर्देशित चलचित्र ‘पुर्खाको थलो’ नारायणगढमा प्रदर्शन गरिएको छ । गुरूङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्रलाई पोखरा र हङ्कङपछि चितवनमा प्रदर्शन गरिएको हो । चलचित्र हेर्न इन्द्रदेव सिनेमा आएका दर्शकले हल भरिभराउ थियो ।
अपेक्षाअनुसार दर्शकको उपस्थितिले चलचित्रकर्मीमा उत्साह थपिएको चलचित्रका बजार व्यवस्थापक एवम् कलाकार अमिर गुरूङले जानकारी दिए । सामाजिक कथावस्तुमा तयार भएको चलचित्रको कथावस्तु र प्रस्तुतीकरणमा सकारात्मक प्रतिक्रिया पाउँदा चलचित्रकर्मीमा हौसला थपिएको उनले बताए ।
चलचित्रको कथा लेखन र सम्पादनसमेत ओमप्रकाश गुरूङले नै गरेका छन् । मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण भएको आठौँ चलचित्र पुर्खाको थलोले देश छाडेर विदेश जाँदा देखिने गाउँले परिवेशलाई मुख्य कथा बनाएको छ । माया, प्रेम, द्वन्द्वजस्ता विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न निर्देशक सक्षम देखिएका छन् ।
कुविना गुरूङसँगै दिल घले, उत्तरबहादुर गुरूङ, खिमकुमारी गुरूङ र जोगमाया गुरूङको लगानी रहेको चलचित्रलाई पिटर गुरूङ, खेमेन्द्र गुरूङ र जलन गुरूङले खिचेका हुन् । गणेशमान घले, लक्ष्मी गुरूङ, ओमप्रकाश गुरूङ, डिबी गुरूङ, लालशोभा गुरूङ, गणेश गुरूङ, शुष्मा गुरूङ, उत्तरबहादुर गुरूङ, कविता गुरूङ, अमिर गुरूङ, खिमकुमारी गुरूङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरूङ, जोया गुरूङ, सुनदेवी गुरूङलगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्र प्रदर्शन गर्न सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई छोटो कार्यक्रम आयोजना गरेर सम्मान गरिएको थियो । साथै चलचित्र प्रदर्शनका लागि चितवन आएका निर्देशक ओमप्रकाश गुरूङलाई पनि चितवने गुरूङहरुले फेटा लगाएर सम्मान दिएका थिए ।




