२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

रत्ननगर । रत्ननगर नगरपालिकाले सोमबार काठमाडौँलगायत देशभरका सहरमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद् घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्दै दुईदिने शोक बिदा घोषणा गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार, भदौ २४ र २५ गते नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), शैक्षिक संस्था तथा सम्पूर्ण संघसंस्थाहरुमा शोक बिदा रहने छ ।

नगरप्रमुख प्रलाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “काठमाडौँलगायत विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएको घटनाले हामीलाई अत्यन्त मर्माहत बनाएको छ । मृतकका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग अपिल गर्दछौँ ।”

नगरपालिकाले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यो विषम परिस्थितिमा संयमता, धैर्यता र शान्ति कायम गर्न सबैमा अपिलसमेत गरेको छ ।

चितवन । चितवनका संस्थागत विद्यालयहरू मंगलबार बन्द गरिएको छ । मंगलबार निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र संस्थागत विद्यालय अभिभावक संघ, चितवनले संयुक्त अपिल जारी गर्दै विद्यालय बन्द रहने घोषणा गरेको हो ।

प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ– ‘भदौ २३ गते काठमाडौँलगायत विभिन्न सहरहरूमा भएका प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारणको निधन भएकोप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत विद्यार्थी तथा सर्वसाधारणप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

जारी गरिएको अपिलमा आफ्ना बाबुनानीहरूलाई घरमै सुरक्षित र संयमित राख्न अभिभावकसँग अनुरोध गरिएको छ भने घाइतेहरूको उपचारमा कुनै कमि हुन नदिन र वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान निकाल्न आग्रह गरिएको छ ।

महानगरका विद्यालय दुई दिन बन्द

यसैबीच, भरतपुर महानरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै यस विषम परिस्थितिमा भरतपुर महानगरभित्रका सामुदायिक, संस्थागत र मन्टेस्वरीलगायतका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।

सूचनामा ‘पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत, मन्टेस्वरीलगायतका सम्पूर्ण शिक्षण संस्था भदौ २४ र २५ गते दुई दिन बिदा हुने व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।