२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उनले भने, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ ।”

सो सडक क्षेत्रमा भएको झाडी पन्छ्याउने काम पनिसँगै गरिएको उनले जानकारी दिए । सौराहादेखि कुजौली घाटसम्मको जिप सफारी गरिने सडक मर्मतको काम सुरु गरिएको उनले जानकारी दिए ।

निकुञ्जले गत असार १६ गतेदेखि बन्द गरेको जिप सफारी चाडपर्वमा आउने पर्यटक लक्षित गर्दै सञ्चालनको तयारी गरेको हो । निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि सामुदायिक वनमा भने बन्द गरिएको छैन । मगरका अनुसार अहिले ९० किलोमिटर सडकभित्र पर्ने पुल मर्मत, सडकका अवरोध हटाउने काम भइरहेको छ ।

निकुञ्जभित्र जिप सफारीबाट पर्यटकले डुमरिया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहान हुँदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्ने गर्दछन् । चितवन र नवलपरासी आउने पर्यटकको मुख्य आकर्षक निकुञ्ज सफारी हो । यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रु दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।

महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं। २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।

पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् ।

महानगरपालिकाका गाडीमध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उनले जानकारी दिए ।

महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्याङ्क लिने काम भइरहेको छ । कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएका छन् । उनका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन् ।

यसका अतिरिक्त अन्य सामग्रीहरु समेत चोरी भएका छन् । महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घरसमेत जलाएर पूर्णरुपमा क्षति पु¥याएका छन् । यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताए । जे सकिन्छ ती सेवाहरु दिन थालेको उनले बताए । क्षतिको मूल्याङ्कन गरेर मर्मत थालिने उनले बताए ।

काठमाडौँ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न मह¤वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । भारतको मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिलाई लिएर महिला सशक्तीकरणको उदाहरण भनेका छन् ।

सम्बोधनको क्रममा उनले भने,‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको मह¤वपूर्ण उदाहरण हो, आज नेपालका यस्ता हरेक व्यक्तिको सरहाना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’ आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत पनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिइसकेका थिए ।

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई ज्ञापन गरेको छ । आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गर्दै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकामा कार्कीलाई बधाई दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, “चीन र नेपालबीच लामो समयदेखिको मित्रता छ । चीनले सधैँझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको बाटोको सम्मान गर्छ ।”

ग्लोबल टाइम्सका अनुसार, प्रवक्ताले अगाडि भने, “हामी पञ्चशीलको सिद्धान्तलाई बढावा दिन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग अभिवृद्धि गर्न र द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ ।”

‘जेनजी’ प्रदर्शनकारीको मागबमोजिम पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाइएको हो ।

भरतपुर । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी समूहको नाममा भएको आन्दोलनका कारण बन्द रहेका चितवनका शैक्षिक संस्थाहरू आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

शनिबार भरतपुरमा बसेको कार्यालय प्रमुखहरुको वैठकले आइतबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्यीकरण हुँदै गएकोले सम्पूर्ण विद्यालय आइतबारदेखि पूर्ववतरूपमा सञ्चालन गर्न भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भरतपुर महानगर कमिटीले एक सूचना जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन हुने जानकारी दिएको छ । सूचनामा भनिएको छ– ‘देशैभरि धनजनको ठूलो क्षति हुनेगरी भएको आन्दोलनको कारण भदौ २४ गतेदेखि बन्द रहेका विद्यालयहरू सरोकारवाला सबैको सल्लाह, सुझाव तथा समन्वयमा सुरक्षित वातावरण सिर्जना गरी भदौ २९ गते आइतबारबाट पठनपाठन सुचारु गर्ने सहमति भएकोले विद्यालयका गतिविधिहरू यथावतरूपमा सञ्चालन गर्न अनुरोध गर्दछौँ ।’

अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको जेनजी आन्दोलनका कारण विद्यालय बन्द रहँदा अभिभावकहरूमा असमञ्जस्यता पैदा भएको थियो भने कतिपय विद्यालयले अनलाइन कक्षा चलाउने तयारी गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालसहित जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नेपाल आर्मीसहितको जिल्ला सुरक्षा संयन्त्र, सरोकारवाला विद्यालय, चितवन–उद्योग वाणिज्य संघ, यातायात व्यवसायी र निर्माण व्यवसायीसमेतको बैठक आइतबारबाट विद्यालयसहित सबै उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

कुनै कारणवस विद्यालयलगायत कुनै पनि व्यवसाय सञ्चालन हुन नसके स्पष्टीकरण मागिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘हामी सुरक्षा दिन तयार छौँ, निर्धक्क भएर पूर्ववतरुपमा काममा फर्किनुहोस्’, प्रजिअ अर्यालले भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।