२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

-अमृत वस्ती

पृष्ठभूमि

‘एक जुगमा एकदिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ…’ कविवर गोपालप्रसाद रिमालको यो शब्द नेपालको राजनीतिक इतिहासमा पटक–पटक चरितार्थ भएको छ र फेरि एकपटक यो शब्द चरितार्थ भएको छ । के साँच्चै भाद्र २३ र २४ को युवा विद्रोह त्यही सामाजिक सञ्जालमाथिको निषेध मात्र थियो ? होइन भने यो विद्रोहको आधारभूमि के थियो ? के यो विद्रोहले नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा आमूल परिवर्तन गर्ला ? अवस्था सामान्यकरण हुँदै गर्दा यो विद्रोहले कुन अवसर गुमायो ? आज आमचासोको विषय यही रहेको छ र यो लेखमा यसै विषयमाथि छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

२००७ सालको क्रान्ति, २०१७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलन, २०५२ सालदेखिको दशवर्षे माओवादी जनयुद्ध र त्यसको जगमा भएको २०६२-०६३ को दोस्रो जनआन्दोलन । प्रत्येक क्रान्तिले राजनैतिक परिवर्तन ल्याएको छ तर त्यसले आमजनताको दैनिकीमा खास परिवर्तन ल्याउन सकेन । नेपालमा कहीँ न कहीँ हरेक क्रान्तिपछि प्रतिक्रान्ति भएको छ । जनताको उल्लास चाहनाहरु हेर्दा हेदै निराशामा परिणत भएका छन् । २०४६ सालपछिको २०४७ सालको नेपालको संविधान विश्वकै उत्कृट पनि भनिएको थियो । तर, त्यसको मसी सुक्न नपाउँदै तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरू गर्‍यो जसमा सत्र हजार नेपालीले ज्यानको बलिदान दिनुपर्‍यो । २०७२ को संविधान झनै संविधानसभाले बनाएको जनताको संविधान भनिएको थियो । तर, त्यसले आमजनताको दैनिकीमा कुनै परिवर्तनको आभाष दिन सकेन । हिजो जनताको घरमा, पायल चप्पल लगाएर सिल्भरको थालमा भात खाने नेताहरु रातारात आलिसान भवनमा बस्ने, प्राडो–पजेरोमा हिँड्ने, आफूलाई राजा महाराजा घोषित गरे । तर, जनताको दैनिकी हिजोभन्दा आज विकराल बन्दै गयो । भ्रष्टाचार कुशासनको जरा यति झाङ्गियो कि कर्मचारीतन्त्र, नेतातन्त्रले मागेको कुन रकम नियम संगत हो कुन भ्रष्टाचार हो जनतालाई बुझ्न गाह्रो हुँदै गयो ।

के हो जेनजी ?

सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई समाजशास्त्रीहरुले पुस्ता जेड वा जी (जेनेरेसन जेड) नामाकरण गरेका छन् । आजको समयमा यो पुस्ता १३ देखि २८ वर्ष उमेर समूहको रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार नेपालमा १० देखि २९ वर्षसम्मको जनसंख्या एक करोड ११ लाख १८ हजार ६ सय अर्थात् कुल जनसंख्याको ३८.१२ प्रतिशत रहेको छ । जेनजी पुस्ता जनसंख्याको सबैभन्दा उत्पादनशील उमेर समूह हो, सबैभन्दा विद्रोही उमेर समूह हो । विश्वमा नै यो पुस्ता डिजिटलमैत्री रहेको छ । बाहिरी समाजभन्दा स्क्रिनमा रमाउने पुस्ता हो । विशेषतः यो भन्दा पहिलाको पुस्ता एक्स र वाईभन्दा राजनैतिक चेतना कम भएको पुस्ता मानिए तापनि उनीहरुमा डिजिटल माध्यमबाट नै विश्वका हरेक खबरमा सचेत छ । विश्वका कुन मुलुक कसरी सञ्चालनमा छन्, कुन मुलुकमा के भइरहेको छ सामाजिक सञ्जालको माध्यमबाट जानकारी लिइरहेका छन् । वास्तवमा सुशासन भनेको के हो ? नेपालमा भइरहेको के छ ? उनीहरु यो विषयमा सामाजिक सञ्जालबाट नै खबरदारी गरिरहेका थिए ।

धेरै मानिसहरुको बुझाइ छ केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएका कारण यो आन्दोलन भएको हो । सामान्यरुपमा यो नजर गलत छैन तर यो आन्दोलन अहिले जुन जेनजी मुभमेन्ट भनिएको छ । यसको पछाडि लामो समय र धेरै कारणहरु छन् । यो पुस्ता देश र जनताले आज जुन दयनीय अवस्था भोगिरहेको छ, त्यसको एकमात्र कारण भनेको देशको नेतृत्व गर्ने राजनैतिक दल, नेता र कार्यकर्ता र कर्मचारी हुन् भन्ने मान्दछन् । देश विकास नहुनु सुशासन कायम गर्न नसक्नु राजनीतिक दल, नेता र कार्यकर्ता र कर्मचारीतन्त्रको मात्र कारण नहोला तर उनीहरुको भूमिका प्रधान नै हो । यसमा कुनै र कसैको विमत्ति छैन ।

यो आन्दोलनको पृष्ठभूमि हेर्न हामीले कम्तीमा २०६२-०६३ को आन्दोलनमा पुग्नु पर्दछ । २०६२-०६३ को आन्दोलनको बेलाको समयमा यो पुस्ताको पहिलो पङ्क्ति ६ देखि ८ वर्षका थिए । उनीहरुलाई अरु थाहा नभए पनि देश भीषण आन्दोलनमा छ भन्ने जानकारी पक्कै थियो । कतिपय उनीहरु माओवादी, सेना, प्रहरीको दमनबाट पिल्सिएका थिए, पीडित थिए । कतिपयले अभिभावक, आफन्त गुमाएका थिए । त्यसपछिको परिवर्तनले नेपाललाई कायापलट गर्छ भन्ने कुरा अभिभावक, आफन्तको छलफल हाउभाउबाट पक्कै थाहा थियो । तर, त्यसको १२ वर्ष देश सङ्क्रमणकालबाट नै गुज्रियो । बल्ल–बल्ल २०७२ मा संविधान बन्यो त्यसपछि झनै अस्थिरताको माहोल बन्यो ।

देशमा सुशासन कायम होला भन्ने आश दिनदिनै निराशामा परिणत भयो । २०७२ को संविधानअनुसारको पहिलो चुनावबाट बनेको सरकारले नै देशलाई अस्थिरतामा धकेल्यो । प्रतिनिधसभा विघटन भनेको छ, आन्दोलन भनेको छ । जताततै कुशासन छ । युवा देश छाड्न आतुर छन् । घूस नदिईकन नागरिकतादेखि पासपोर्ट बनाउन सकेको छैन । विदेश जान श्रम स्वीकृति लिनदेखि शिक्षाको लागि नो अब्जेक्सन लिनसमेत घूस खुवाउनुपर्ने बाध्यता छ । विदेश जान हिँड्यो विमानस्थलमा समेत घूस खुवाउनुपर्ने, आफ्नो देश फर्केर आयो सानो सानो आवश्यकताको सामानमा पनि सरकारले आँखा गाड्ने । घरमा अभिभावकको कुरा पनि यस्तै यस्तै सुन्ने, समाजमा निस्क्यो उही समस्या । राजमार्गको यात्रामा निस्कियो बाटोको अवस्था झनै दयनीय छ । एउटा राजमार्ग निर्माण गर्न दसौँ वर्ष लागेको छ ।

जनताको दैनिकी भयाभह अवस्थामा पुग्दासमेत राजनीतिक दल र नेतृत्वमा चेत आएको देखिएन । उनीहरु केवल राजनीतिक स्वार्थ पूरा गर्नको लागि आरोप-प्रत्यारोप गर्नेबाहेक केही गरेनन् । सरकारमा भएकाको ध्यान सरकार जोगाउन र प्रतिपक्षको ध्यान सरकारमा जान नै आफ्नो शक्ति लगाए । यस्ता साना ठूला कारणले यो पुस्ताको दिल दिमागमा विद्रोहको ज्वारभाटा उम्लिरहेको थियो । जति पनि विसंगति थिए, सामाजिक सञ्जालमा नै पोखिरहेका थिए । एक्कासि सरकारले त्यही असहमतिका शब्द लेख्ने सामाजिक सञ्जाल एकाएक बन्द गरेपछि उनीहरुलाई अब अन्याय सहन हुँदैन भन्ने लाग्यो र सडकमा आए । यो आन्दोलन हुन कम्तीमा पनि २० वर्षको पृष्ठभूमि रहेको छ । केपी ओलीले केवल ट्रिगर दबाएका मात्र हुन्, बारुद भरिएको दुई दशकदेखिको हो ।

नेपालमा भएको यो नै पहिलो आन्दोलन हो जसमा कुनै नेतृत्व थिएन र आन्दोलनकारीको सामाजिक सञ्जाल खुलाउने र भ्रष्टाचार अन्त्य गर्ने भन्ने भन्दा अरु माग पनि थिएन । केपी ओलीको सरकारको राजीनामा पनि थिएन । तर, यी युवाहरुको आन्दोलनमा घुसपैठ भएको सत्य हो । विद्यालय, कलेजको पोसाकमा संसद् भवन छिर्न खोज्ने पक्कै आन्दोलनकारी थिएनन्, घुसपैठ गर्नेहरु थिए । उनीहरु को को थिए नेपाली जनतालाई पक्कै थाहा छ । कोही व्यवस्थाविरोधी थिए, कोही सरकारविरोधी थिए र कोही विध्वंशमा आनन्द लिने खालका थिए । केही विदेशी शक्तिहरु पनि हुन सक्छन् । यो आगोको रापमा पेट्रोल छर्कने कामचाहिँ सरकारको चरम् दमन र पहिलो दिनको १९ जनाको नरसंहार थियो ।

अझै पनि यो जनआन्दोलन थियो कि, कुनै विद्रोह थियो कि, हत्याहिंसा लुटपाट, आगजानी थियो कि कसैले भन्न सकेको छैन । साँच्चै आन्दोलन वा विद्रोह मात्र थियो भने सिंहदरबार, सर्वाेच्च अदालत, जिल्ला अदालतहरु, राष्ट्रपति निवासमा आगजानी हुँदैन थियो । व्यक्ति व्यक्तिका घर छानीछानी जलाउने, निजी व्यवसाय र प्रतिष्ठानमाथि लुटपाट र आगजानी हुँदैन थियो । आन्दोलन वा विद्रोहमा सानातिना र कहिलेकाहीँ ठूलै भए पनि तोडफोड, आगजनी हुन्छ तर नेपालको जस्तो सम्पूर्ण सरकारी, सार्वजनिक सम्पति, व्यक्तिका निजी मल, पसल, घर लुटपाट तोडफोड, आगजनी हुँदैन । यसमा संगठित तत्त्वको घुसपैठ छैन भनियो भने अन्याय हुन जान्छ । यद्यपि यो छानबिनकै विषय हो ।

पृष्ठभूमि जे भए पनि, आन्दोलनकारी जो भए पनि र घुसपैठ जसले गरे पनि केही हदसम्म देशको शासनले एउटा बाटो तयार गरेको छ । केही हदसम्म सर्वमान्य सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार गठन भएको छ । चार सदस्यीय मन्त्रिपरिषद्मा अन्य तीनजना आफ्नो विषयमा सफलता हासिल गरेका पात्रहरु नै छन् यसमा असन्तुष्ट हुनुपर्ने कारण केही छैन ।

छुटेका कुरा

यो सरकार भनेको युवा विद्रोहको जगमा बनेको सरकार हो । यही नै यसको वैधानिकता हो । तर, सरकार बन्दै गर्दा यो अन्तरिम चुनावी सरकार बनेको छ । र, यसले गर्ने भनेको यही संविधानभित्र रहेर गर्ने प्रतिनिधिसभाको नै चुनाव हो । हिजो सरकार स्थिर बन्न नसकेको यही संविधानमा रहेको चुनावी प्रणलीले हो । यही विद्रोहको आँधीबेहरीको बेला पूर्ण समानुपातिक प्रतिनिधिसभा र प्रत्यक्ष कार्यकारी त्यो प्रधानमन्त्री होस् वा राष्ट्रपतिको मद्दा पनि सम्बोधन गर्न सकेको भए राम्रो हुने थियो । यसमा सुझबुझपूर्ण निर्णयको खाँचो थियो तर त्यो पार भइसकेको छ ।

अबको बाटो

यो आन्दोलनमा कोही नेतृत्व थिएन । भोलि चुनावमा जाँदा पनि युवाहरु समूह–समूहमा जाने हो भने फरि यीनै राजनीतिक दलहरुको हातमा नै शासन सत्ता पुग्ने सम्भावना रहेको हुँदा जेनजी विद्रोहको मुद्दा यसै हराउने सम्भावना रहन्छ । अब युवाहरुले आफ्नो मुद्दा लिएर एकत्रित भएर आगामी चुनावमा जाने वातावरण तयार गर्नु पर्दछ या कि फेरि यही पुराना दलहरु सत्तामा पुग्न नसकून् । युवाहरु सत्तामा पुगेर यो संविधानलाई परिमार्जन गर्न आवश्यक छ । भएका राम्रा दफाहरु कायम राख्दै चुनाव प्रणली, शासकीय प्रणाली, संघीय प्रणालीजस्ता कुराहरु जसले छिटो छिटो सरकार परिवर्तन गर्ने र सरकारको साधारण खर्चको गुणात्मक वृद्धि गरेको छ त्यस्ता दफाहरु परिमार्जन आवश्यक छ । देशले प्रसव पीडा भोगेको छ, यसले आगामी पुस्ताजी, अल्फा र बेटाको पनि भविष्य सुखद होस् । रोजीरोटीकै लागि देश छाड्ने बाध्यता कसैको नहोस्, जय जेनजी !

X: @jiamritbabu

चितवन । जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँटोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको छ ।

यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्ने क्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् ।

प्रमुख रेग्मीले भने, ‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरू फर्किए ।’

दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले सुनाए । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरेको उनले सुनाए । आक्रमणका क्रममा केही साथीहरूले मेरो घर जोगाउन कोसिस गरेको बताउँदै उनले भने, ‘छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सीडीओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।’

घटना विवरण सुनाउँदै प्रमुख रेग्मीले भने, ‘सुरुवाती क्षणमा वडा कार्यालयहरू हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने ‘म्यासेज’हरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए ।’ सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन नसकेको भन्दै उनले भने, ‘परिस्थितिले च्याप्दै–च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।’

ठुलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भएको नगरप्रमुख रेग्मीले बताए । उनले भने, ‘एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउ ज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।’

निकै भावुक हुँदै उनले कतैतिरबाट कुनै सहारा नपाएपछि आफूले बाध्य भएर पार्टी छोडेको स्ट्याटस फेसबुकमा लेखेको स्पष्ट पारे । उनले भने, ‘दुई घण्टाभित्र निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा ‘स्ट्याटस’ लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको ‘स्ट्याटस लेखेँ ।’ त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दे भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । नगरप्रमुख रेग्मीले अगाडि थपे, ‘मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्ट्याटस ‘डिलिट’ गरेँ, म पार्टीमै छु ।’

उनले भने, ‘परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो मैले व्यक्त गर्न सक्दिन । पीडादायी अवस्था बन्यो ।’ एमालेहरूलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उनले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बनेको बताए ।

आन्दोलनकारीले उनको घरमा तोडफोड गर्दा झन्डै रु ६ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसो त उनले नेतृत्व गरेको कालिका नगरपालिकाको वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भएका छन् । वडा नं ८ र ९ मा पनि तोडफोड भएको छ । नगर सभा हल पूर्ण रूपमा जलेर क्षति भएको छ । अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।

कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झन्डै रु ८० करोड हाराहारी क्षति भएको आकलन गरिएको प्रमुख रेग्मी बताउँछन् । मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धतासहित सबै ठाउँसम्म पुगिरहेको उनी बताउँछन् ।

जिल्लाको स्थानीय तहहरूमध्ये उत्कृष्ट काम भएको भनिएको नगरपालिकामा जेनजी प्रदर्शनका क्रममा अपूरणीय क्षति पुगी असह्य पीडा व्यहोर्नु परेको भन्दै कालिका नगरपालिकाका प्रमुख रेग्मी सो घटनाबाट पाठ सिकी नगरवासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

#नारायण अधिकारी/रासस

रत्ननगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको रत्ननगर नगरपालिका कार्यालयमा सरसफाइ सुरू भएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीहरुले आइतबारदेखि संयुक्तरुपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाका दुईवटै भवनमा आगजनीबाट क्षति पुगेको छ भने सेवाग्राहीलाई विश्रामका लागि निर्मित अपाङ्गमैत्री संरचना पूरै जलेर खरानी भएको छ । सो विश्रामस्थल सञ्चालनमा नआउँदै सखाप भएको हो । बाँस, खबटा, खर, खडाई र काठको प्रयोग गरी निर्मित सो संरचना वातानुकूलित र वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई विश्राम गर्न बनाइएको थियो ।

आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरण, राजस्व तथा जिन्सी शाखाका सम्पूर्ण सामग्री नष्ट भएका छन् । यस्तै विभिन्न सवारीसाधन, जेनेरेटरलगायतका सामान कबाडीमा परिणत भएको छ ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले शनिबार स्थानीय सरकारलाई पुरानै अवस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए ।

उनले नगरको विकास र नगरवासीको हितमा काम गर्न कत्ति पनि विचलित नभईकन नयाँ ऊर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरप्रमुखको हैसियतमा आफूले पाउने तलब र भत्ताबापतको रकम पनि नगरपालिका र वडा कार्यालयको पुनर्निर्माणमा लगाउने घोषणा गरिसकेका छन् ।

सरसफाइमा नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक यादवप्रसाद पाठक हातमा पञ्जा लगाएर आफैँ सरसफाइमा जुटेका छन् । उनीसहित प्रशासन शाखा प्रमुख सबिता अर्याल, विभिन्न शाखाका प्रमुख, कर्मचारी, नगर प्रहरीलगायतले जलेका सामग्री हटाउँदै सरसफाइमा तल्लीन भएका छन् । सरसफाइमा उपप्रमुख आफैँ खटिएपछि कर्मचारीहरु सुरक्षा मापदण्ड अपनाउँदै आआफ्नो श्रमदान गरिरहेका छन् ।

नगरपालिकाको दुवै भवनसँगै मह¤वपूर्ण कागजात जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको र नगरपालिकाको सरसफाइको काम सकिएपछि सेवा सुरू गरिने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । नगरपालिकाले क्षतिको विवरण सङ्कलन थालेको छ ।

नगरपालिका परिसरमा जलेका फर्निचर, विद्युतीय उपकरण र सवारीसाधन सबै कबाडीमा परिणत भएका छन् । भवनको सरसफाइ, मर्मत, रङ्गरोगन र आवश्यक सामग्रीहरुको प्रबन्ध गर्दा कार्यालय पूर्णरुपमा सञ्चालनमा आउन दसैँअगाडि सम्भव हुने देखिँदैन ।

नगरपालिकाको ज्येष्ठ नागरिक तथा पञ्जीकरण उपशाखा र स्वास्थ्य शाखा भने जोगिएको छ । यी दुई शाखामार्फत प्रदान हुने सेवाचाहिँ छिटै सञ्चालन हुनेछ । ज्येष्ठ नागरिक तथा पञ्जीकरणको काम सुरू गर्न समस्या नभए पनि सरसफाइलगायत भवन मर्मतलगायतका कामले गर्दा सेवा सञ्चालन गर्न केही समय लाग्ने उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटी बताउँछन् ।

यस्तै, नगरपालिकाका १६ वटै कार्यालयमा सरसफाइ थालिएको छ । जनप्रतिनिधि, कर्मचारीलगायतले सरसफाइको काम थालेका छन् । रत्ननगर–१ का सचिव महेश सुवेदीले वडा कार्यालय सरसफाइ भइरहेको र ज्येष्ठ नागरिक तथा पञ्जीकरणको काम भने बकुलहर माविअगाडिको कार्यालयबाट भइरहेको जानकारी दिए ।

रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा दसैँअगाडि सेवा सञ्चालन हुन कठिन रहेको बताउँछन् । आगजनीबाट भवनको छतसमेतमा क्षति भएकाले मर्मतमै समय लाग्ने उनको भनाइ छ ।

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–६, नाम्सी पुलस्थित सडकमाथिबाट खसेको ढुङ्गा लागेर बसमा सवार एक महिलाको मृत्यु भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङको घले गाउँपालिका वडा नं–३ बस्ने ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन् ।

सडकमाथिबाट खसेको ढुङ्गा बसको ढोकाबाट छिरेर कामीको अनुहार र टाउकोमा चोट लागेको थियो । घाइते महिलाको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचारका क्रममा मङ्गलबार बेलुकी ७ः२० बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।

घटनाबारे मृतकका छोरी पूर्णकुमारी कामीलाई खबर भइसकेको र बस तथा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नं–२ बस्ने ३५ वर्षीय तेजकुमार शाही जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।