
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा सहिद भएका परिवार र घाइतेहरूले सहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताएका छन् ।
आज संवाद डबलीमा आयोजित कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस् भन्नेमा जोड दिएका हुन् । उनीहरूले सहिदले कसैलाई सत्तामा पुर्याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएका बताए ।
प्रदर्शनमा घाइते भएका अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्याउनका लागि प्रदर्शन नगरेको बताए । उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस् कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरे । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर नजाओस् भनेर कामना गरे । घाइतेका आफन्त सरस्वती रावलले घाइतेहरू अस्पतालको शय्यामा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेका बताए ।
जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरूले प्रदर्शन गरेको बताए । उनले विज्ञसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिनलगायत माग जेनजीको रहेको जानकारी दिए ।
कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा राखे ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा ठूलो पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो खसेकाले ३६ घन्टादेखि सडक अवरुद्ध बनेको छ ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ । केही दिनअघि सडकमाथिबाट खसेको ढुङ्गाले लागेर बसमा सवार एक जना यात्रुको मृत्यु भएको थियो । शुक्रबार साँझ साढे ६ बजेदेखि अवरूद्ध भएको सडक सुचारू गर्न शनिबार साँझ ६ः४० बजेसम्म पहिरो पन्छाउने काम गरिएको थियो ।
साँझको समयमा पहिरो खसेको देख्न नसकिने भएकाले शनिबार पहिरो हटाउने कार्य स्थगित गरिएको थियो । आइतबार बिहान ६ बजेदेखि नै पहिरो हटाउने काम सुरू गरिने सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।
यसैबीच, सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।
रत्ननगर । रत्ननगर वडा नं–२, टाँडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्षमा झन्डै दुई करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१-०८२ मा एक करोड ९८ लाख ५० हजार मुनाफा देखिएको छ । ५ करोड ५६ लाख ८७ हजार आम्दानी गरेको सो सहकारीले ३ करोड ३५ लाख ५० हजार खर्च कटाएर एक करोड ९८ लाख ५० हजार मुनाफा गर्न सफल भएको हो ।
एक अर्ब ६८ करोड २७ लाख २२ हजार बचत सङ्कलन गरेको सो सहकारीले ३२ करोड ऋण लगानी गरेको छ । ५ करोड ६० लाख ६४ हजार सेयर पुँजी रहेको सो सहकारीले जगेडा कोषमा ३ करोड ३८ लाख ७ हजार, अन्य कोषमा १ करोड ५७ लाख ११ हजार र कर्जा जोखिम कोषमा १ करोड ६० लाख ८८ हजार रूपैयाँ राखेको छ ।
सहकारीका ज्येष्ठ सेयर सदस्य जीवनाथ लामिछाने प्रमुखअतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नवराज तिमिल्सेनाले नीति तथा कार्यक्रम, सचिव बालकृष्ण दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अरूण शिवाकोटीले अनुमानित बजेत तथा आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक माधव खतिवडाले आन्तरिक तथा बाह्रय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा बाल बचतकर्ता ८ जना, ज्येष्ठ सेयर सदस्य ६ जना, उत्कृष्ट कर्मचारीको रुपमा जुना श्रेष्ठ, उत्कृष्ट बचतकर्ता ८ जना, उत्कृष्ट उद्यमी ८ जना र सामाजिक क्षेत्रका क्रियाशील साहित्यकार तथा गजलकार कमल अर्याल र स्काइराइडर स्कुललाई सम्मान गरिएको छ ।
साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष तिमिल्सेनाले संस्थाले नीति, विधि र प्रविधिलाई आत्मसात् गर्दै सेयर सदस्यहरुको हितमा काम गरिरहेको बताए ।
कार्यक्रममा संविधानसभाका सदस्य शेषनाथ अधिकारी, वडाध्यक्षहरु पोटबहादुर घिमिरे, राजन घिमिरे, होमनाथ रानाभाट, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्दप्रसाद भट्टराई, पेवाका संस्थापक अध्यक्ष दुर्गाप्रसाद पौडेल, स्काइराइडर स्कुलका निर्देशक दुर्गा पुरी, साहित्यकार कमल अर्याललगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष डा. मधुसूदन लामिछानेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव दाहालले सञ्चालन गरेका थिए । २०६९ सालमा स्थापना भएको सो सहकारीमा ३ हजार ९३१ सेयर सदस्य रहेको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए ।
रत्ननगर । रत्ननगर नगरपालिकामा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा २२ करोड ६८ लाख २१ हजार ४९८ रुपैयाँबराबरको क्षति भएको छ ।
आन्दोलनका क्रममा नगरपालिकाको भवन, १६वटै वडा कार्यालयका भवन, सवारीसाधन, फर्निचर, विद्युतीय उपकरण र अन्य सामग्रीमा ठूलो क्षति पुगेको नगरप्रमुख प्रलाद सापकोटाले जानकारी दिए ।
नगरप्रमुख सापकोटाका अनुसार नगरपालिकाको दुईवटा भवन र वडा कार्यालयका भवनमा गरी १० करोड ७५ लाख रुपैयाँको क्षति भएको छ । यस्तै, १० वटा चारपाङ्ग्रे सवारीसाधनमा तीन करोड ४४ लाख रुपैयाँ, दुई वटा मोटरसाइकल र एक थान स्कुटरमा ११ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आन्दोलनकारीले कार्यालयका फर्निचरमा पनि ठूलो क्षति पु¥याएका छन् । फर्निचरमा पाँच करोड ५८ लाख ६ हजार ५५३ रुपैयाँ र विद्युतीय उपकरणमा तीन कराड २३ लाख ८५ हजार ५४५ रुपैयाँको क्षति भएको छ । अन्य सामग्रीमा १० लाख रुपैयाँबराबरको क्षति आकलन गरिएको नगरप्रमुख सापकोटाले बताए ।
आन्दोलनका कारण नगरपालिकाको सम्पत्तिमा भएको यो ठूलो क्षतिले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई चिन्तित बनाएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन र मूल्याङ्कनको काम भने जारी रहेको नगरपालिकाले जनाएको छ ।
रत्ननगरका जनप्रतिनिधि र कर्मचारीहरु जलेका सामग्री हटाउँदै सरसफाइमा जुटिरहेका छन् । सरभर छिटो नगरवासीलाई सेवा दिनेगरी कार्यालय सञ्चालन गर्न सबैले जिम्मेवारीपूर्वक लागिपरेको प्रशासन शाखा प्रमुख सबिता अर्यालले बताइन् ।
सौराहा । नेपाल तेक्वान्दो संघ चितवनको अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
रत्ननगरको सौराहामा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आठ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा धनबहादुर दराई, कोषाध्यक्षमा प्रदीप श्रेष्ठ, सदस्यहरुमा सुरज पौडेल, विक्रम श्रेष्ठ, रञ्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन भएका हुन् ।
संघका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवम् चितवन खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं–५ का अध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–६ का वडाध्यक्ष किरण महतो, रत्ननगर–८ का वडाध्यक्ष एवम् रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटी, प्रशिक्षक रोशन खानलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दीवाकर अर्यालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफूले सबैलाई समेटेर पृथक ढङ्गबाट अगाडि बढ्ने बताएका छन् ।




