२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर । रत्ननगर वडा नं–३, शान्तिचोकमा नवदुर्गा पूजा समारोहको सोमबार घटस्थापनाका अवसरमा उद्घाटन गरिएको छ । बडादसैँको अवसरमा शान्तिज्योति युवा समाजले नवदुर्गा पूजा समारोह आयोजना गरेको हो ।

समाजका अध्यक्ष अशोक भुसालको अध्यक्षतामा भएको कार्यक्रमको वडाध्यक्ष सोहेन्द्रराज खरेलले उद्घाटन गरेका थिए । बडादसैँको अवसरमा घटस्थापनादेखि नवरात्रसम्म सामूहिकरुपमा पूजाआराधना गर्ने उद्देश्यले पूजा समारोह गरिएको अध्यक्ष भुसाललले जानकारी दिए ।

समाजसेवी आमा समूह सहआयोजक रहेको सो पूजा समारोहमा नेपाली समुदायको संस्कृतिसँग जोडिएको पहिलो ठूलो चाडमा बडादसैँ मनाउँदा पुज्नुपर्ने देवीदेवताको मूर्ति स्थापना गरी पूजा मण्डप बनाइएको छ । बिहान–बेलुका भजनकीर्तनसहित नवदुर्गा भवानीको पूजाआराधना गर्न सकिने अध्यक्ष भुसालको भनाइ छ ।

कार्यक्रमका प्रमुखअतिथि खरेलले शान्तिज्योति युवा समाजले समाजप्रतिको दायित्व पूरा गर्न कुनै कसर बाँकी नराखेको बताए । गरिबहरुको उपचारका लागि आर्थिक सहयोग सङ्कलनदेखि धर्म–संस्कृति संरक्षणमा युवा समाजले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

कार्यक्रममा वडाका निवर्तमान अध्यक्ष गुप्तनाथ भट्टराई (गोविन्द), रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, पतञ्जलि योग समिति चितवनका उपाध्यक्ष राजु भट्टराई, ज्येष्ठ नागरिक समन्वय समिति नगर अध्यक्ष छविलाल घिमिरे, समाजसेवी बलराम खनाल, नारी जागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनाल, साहित्यकार राजेन्द्र घायल, समाजसेवी तथा आमा समूहकी अध्यक्ष सिर्जना रेग्मीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शान्तिज्योति युवा समाजले एसइईमा उत्कृष्ट अङ्क ल्याएकी सम्पदा श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

रत्ननगर । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालय रत्ननगरको सरसफाइपछि रंगरोगनको काम जारी छ । रत्ननगर उद्योग वाणिज्य संघले सबै पक्षसँग छलफल गरेर पुनर्निर्माणको काम सुरू गरेको हो । संघले समिति नै बनाएर निर्माणको काम गरिरहेको छ ।

प्रहरी कार्यालय हाम्रै सम्पत्ति हो भनेर यसलाई पहिलेकै अवस्थामा ल्याउने गरी काम भइरहेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । ‘उद्योगी, व्यवसायीलगायत आमनागरिकलाई प्रहरीको सहयोग आवश्यक पर्छ, दुःखका बेलामा हातेमालो गर्ने प्रयास हो । उनले भने, ‘दसैँअगाडि नै यसलाई पहिलेकै अवस्थामा ल्याउने गरी काम भएको छ ।’

उनका अनुसार न्यूनतम खर्चमा काम सक्ने योजना रहेको छ । खर्चको व्यवस्थापन रत्ननगरकै उद्योगी, व्यवसायीसँग सहयोग जुटाएर गरिएको उनले बताए । अहिले रंग लगाउने काम भइरहेको र यसलगत्तै झ्यालढोकाको काम सुरू हुने छ । आगलागीबाट भित्र रहेका सबै कागजात र फर्निचर जलेर नष्ट भएका छन् । कार्यालयको मुद्दा शाखा पूर्णरुपमा नष्ट भएको छ । कार्यालय परिसरभित्र रहेको मुख्य प्रशासनिक भवन, आवास, क्यान्टिन, भान्सा सबै भवनमा क्षति पुगेको छ । कार्यालयका सवारीसाधन र मोटरसाइकल पनि आगजनीपछि पूर्णरुपमा नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरमा आइतबारदेखि नयाँ कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले कमान्ड सम्हालेका छन् । उनले यहाँका व्यवसायीको सहयोगबाट कार्यालय छिट्टै पहिलेकै अवस्थामा आउने विश्वास व्यक्त गरेका छन् । यसअघि जेनजी आन्दोलनका क्रममा यहाँको कमान्ड रञ्जन अवाले सम्हाल्दै आएका थिए ।

डिएसपी भट्टले जिरो अवस्थाबाट काम सुरू गर्नुपर्ने भएकाले केही अप्ठ्यारो भए पनि यहाँका स्थानीय सरकारलगायत सरोकारवालाको साथ र सहयोगमा आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यालय पुनर्निर्माणसँगै शान्ति सुरक्षाका सवालमा कोही कसैसँग सम्झौता नगरी कार्य सम्पादन गर्ने उनको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।