
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए ।
उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको छ ।” गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा मंगलबार पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लम्सालले आग्रह गरे ।
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् ।
सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।
“भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो”, प्रमुख रुपाखेतीले भने ।
जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण नदेखिएको उनले बताए । औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं-१६ अन्तर्गत पर्ने पिठुवा प्रहरी चौकी भवनको पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
भवन निर्माण कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन गोपाल श्रीमलको संयोजकत्वमा पुरुषोत्तम लामिछाने, लालबहादुर लामा, मधु बोगटी र रश्मी काप्री सदस्य रहने गरी पाँच सदस्यीय भवन निर्माण समिति गठन गरिएको छ ।
सो समितिको संरक्षण वडाध्यक्ष हेमराज थापाले गरेका छन् । भवन पुनर्निर्माणका लागि विभिन्न संघसंस्था र स्थानीय व्यक्तिहरूले आवश्यक सामग्री तथा आर्थिक सहयोग निरन्तर प्रदान गर्दै आएका छन् ।
यसै क्रममा भवनमा आवश्यक पर्ने जिप्सन रोटरी क्लब अफ रत्ननगरले उपलब्ध गराएको छ भने छानाका लागि आवश्यक पर्ने जस्तापाता कुन्हा इन्टरनेसनल अर्गेनिक फर्टिलाइजर म्यानुफ्याक्चरिङ इन्डस्ट्री प्रालिले उपलब्ध गराएको वडाध्यक्ष थापाले जानकारी दिए ।
उनका अनुसार स्थानीय समुदाय, संघसंस्था तथा उद्योग व्यवसायीको थप सहयोग जुटाउँदै भवन निर्माण कार्यलाई छोटो समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।





