२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

काठमाडौँ । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ ।

आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।

आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ ।

आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।”

यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

चितवन । नेपाल तेक्वान्दो संघको अध्यक्षमा दीपराज गुरूङ चयन भएका छन् । चितवनको सौराहामा आइतबार सम्पन्न संघको पाँचौ अधिवेशनले गुरूङको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली, भानुबहादुर चन्दलाई चयन गरिएको छ भने कोषाध्यक्षमा कासिम मियाँलाई निरन्तरता दिइएको छ ।

यसैगरी सदस्यमा कोशिस खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टीकाप्रसाद लिम्बू, श्रीमान थापामगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु शिवाकोटी, प्रेमबहादुर भण्डारी र हेमन्त डांगी चयन भएका छन् । चन्द, बस्याल र श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हुन् ।

यता सदस्यमा निर्वाचित डाँगीलाई नवनिर्वाचित अध्यक्ष गुरूङले महासचिवमा मनोनीत गरेका छन् । निर्वाचित सदस्य मध्येबाट अध्यक्षले महासचिव निर्वाचित गर्न सक्ने प्रावधान संघको विधानमा छ ।

निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले शपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत चन्द्र राई, सानुबाबु केसी, निवर्तमान अध्यक्ष प्रकाश शमशेर राणालगायतले प्रमाणपत्र वितरण गरिएको नेपाल तेक्वान्दो संघ जिल्ला शाखा चितवनका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।

रत्ननगर । रत्ननगर वडा नं–६ स्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारण सभा गरिएको छ । संस्थाकी अध्यक्ष भागीरथीकुमारी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम वडाध्यक्ष किरण महतोले उद्घाटन गरेका थिए ।

सो अवसरमा संस्थाकी अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन, व्यवस्थापक शारदा विडारीले वित्तीय विवरण, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक प्रमिलाकुमारी ढकालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ सेयर सदस्य एक जना, सेयर वृद्धि गर्ने सदस्य तीन जना, उत्कृष्ट बाल बचतकर्ता ६ जना, सानो बाल बचतकर्ता एक जना, उत्कृष्ट बाल कारोबारी तीन जना, असल ऋणी ११ जना, सर्वोत्कृष्ट कारोबारी एक जना, एसइईमा उत्कृष्ट अङ्क ल्याउने बाल बचतकर्ता २३ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष महतोले महिलाहरुले सञ्चालन गरेको बछौली नारी चेतना साकोसले स्थानीयस्तरमा आर्थिक विकास र महिलाको जीवनस्तर उकास्ने काममा मह¤वपूर्ण भूमिका खेलेको बताए । उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको उक्त सहकारीले गरिबी निवारणलाई प्राथमिकता राखेर लगानी गर्नुपर्नेमा उनको जोड थियो ।

संस्थाकी अध्यक्ष घिमिरेले नीति, विधि र प्रविधिलाई आत्मसात् गरी संस्थाको कारोबारलाई अगाडि बढाएको बताइन् । सो सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५६ लाख ६९ हजार १६५ रूपैयाँ मुनाफा गरेको छ । तीन करोड ९४ लाख ११ हजार ३०५ रूपैयाँ आम्दानी गरेको सो संस्थाले तीन करोड ३७ लाख ४२ हजार १४० रूपैयाँ खर्च कटाएर ५६ लाख ६९ हजार १६५ रूपैयाँ मुनाफा भएको संस्थाकी व्यवस्थापक विडारीले जानकारी दिइन् ।

३५ करोड ९४ लाख ४८ हजार कुल सम्पत्ति रहेको सो सहकारीले २७ करोड ७६ लाख ३९ हजार ऋण लगानी गरेको छ । २८ करोड ९६ लाख ७७ हजार बचत सङ्कलन गरेको सो सहकारीले एक करोड ७३ लाख दुई हजार रूपैयाँ जगेडा कोषमा राखेको छ । चार हजार दुई जना सेयर सदस्य रहेको सो सहकारीले एक हजार ३६४ जनालाई ऋण लगानी गरेको छ ।

संस्थाकी उपाध्यक्ष पवित्रादेवी घिमिरेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव शान्ता अधिकारी पराजुलीले सञ्चालन गरेकी थिइन् । यसअघि सो सहकारीले सेवा केन्द्रकेन्द्रित इकाइ सभासमेत गरेको संस्थाकी सञ्चालक समिति सदस्य सरस्वती चालिसेले जानकारी दिइन् ।

रत्ननगर । रत्ननगर वडा नं–१३ स्थित जयमंगला दुग्ध उत्पादक सहकारी संस्थाको २९औँ वार्षिक साधारण सभा गरिएको छ ।

वडा नं–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दुईवटा विधामा प्रथम हुँदै पुरस्कार प्राप्त गरेका छन् । बगालेले सबैभन्दा बढी दूध बिक्री र घाँसमा आधारित पशुपालनमा अन्य किसानहरुलाई पछि पार्दै प्रथम भएका हुन् ।

सबैभन्दा बढी दूध बिक्री गर्नेतर्फ बगाले प्रथम हुँदा सविनप्रसाद खनाल द्वितीय र कोपिला श्रेष्ठ तृतीय भएका छन् । घाँसखेतीतर्फ बगाले नै प्रथम हुँदा सविनप्रसाद खनाल द्वितीय र मनु रेग्मी कोइराला तृतीय भएका छन् । गुणस्तरतर्फ गाईको दूधमा रामलाल श्रेष्ठ र भैँसीको दूधमा शान्ता दुवाडी उत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

संस्थाले वृद्ध सेयर सदस्य भुवनी शंकर कँडेल, शंकरबहादुर गिरी, उत्कृष्ट विद्यार्थीहरु जस्विन रानाभाट र विवेक भट्ट, कर्मचारी प्रोत्साहनतर्फ व्यवस्थापक जनकराज पन्त, सहव्यवस्थापक सरोज भट्टराई, कार्यालय सहायकहरु कृष्णकुमार श्रेष्ठ र अर्जुन शर्मा पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष शिवप्रसाद भट्टले वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम, लेखा समिति संयोजक गोविन्दप्रसाद खनालले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले दुग्ध किसानको रकमबाट ७ प्रतिशत कट्टा गर्ने र ७ प्रतिशत संस्थाले थपेर हुन आउने १४ प्रतिशत रकमबाट वार्षिकरुपमा किसानलाई १० प्रतिशत बोनस प्रदान गर्ने र बाँकी रहेको ४ प्रतिशत रकम पाँच वर्षपछि पेन्सनको रुपमा प्रदान गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।

कार्यक्रममा वडा नं–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, चितवन जिल्ला दुग्ध उत्पालक सहकारी संघका सचिव कल्याण अधिकारी, रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख अर्जुन पंगेनी, अग्रज महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मीना बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।

२४९ जना सेयर सदस्य रहेको सो सहकारीले वार्षिक ६ लाख १२ हजार ३५० लिटर दूध सङ्कलन गर्दै आएको छ । व्यवस्थापक पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष किशोर बगालेले सञ्चालन गरेका थिए ।

भरतपुर । पत्रकार तथा लेखक वसन्त पराजुलीद्वारा लेखिएको उपन्यास ‘बखान’माथि शनिबार भरतपुरमा समीक्षा गर्दै सम्मान गरिएको छ ।

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको कार्यक्रममा समीक्षकहरुले उपन्यासले समग्र नेपाली समाजको चित्रण गरेको बताएका छन् । विशेषगरी, गुरूङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई उजागर गर्दै गहिरो प्रभाव पार्न सफल भएको समीक्षक गणेशबहादुर गुरूङले बताए ।

‘गुरूङ समुदायका लागि एउटा मह¤वपूर्ण दस्तावेज नै बनेको छ’, उनले भने, ‘किनकि सत्यतथ्यमा आधारित यस्ता पुस्तकहरु बिरलै पढ्न पाइन्छ ।’ यो उपन्यास केवल गुरूङ समुदायका लागिमात्रै नभई गैरगुरूङ समुदायका पाठकहरुका लागि पनि केही नयाँ पक्ष उजागर गर्ने कृति भएको उनले बताए । उनले उपन्यासमा देखिएको संवेदनशीलता र यथार्थ चित्रणको प्रशंसा गरे ।

अर्का समीक्षक एवम् पत्रकार विनोदबाबु रिजालले पुस्तकलाई ‘ऐतिहासिक दस्तावेज’ भएको संज्ञा दिए । उपन्यासभित्रको प्रमुख पात्र बखानसिंह गुरूङले राज्यबाट पाउनुपर्ने सम्मान नागरिक तहबाट पाएको उनले बताए । ‘कम्तीमा नागरिकको तर्फबाट वसन्त पराजुलीले उपन्यास लेखेर एकपटक सम्मान दिने प्रयास भएको छ’, उनी भन्छन्, ‘यो सम्मान राज्यले दिनुपर्ने थियो ।’

गुरूङ संस्कृतिमा गहिरो सरोकार राख्ने कवि एवम् समीक्षक माया कोन्मे गुरूङले उपन्यासको भौगोलिक पृष्ठभूमिमा केही त्रुटि भए पनि त्यसले समग्र कथाको प्रभावमा असर नपरेको बताइन् । गोरखा, तनहुँ, चितवन र नरकटियागञ्ज बखानको मुख्य भूगोल भएको हुँदा भूगोलको विषयमा अझ ध्यान दिनुपर्ने देखिएको उनले बताइन् । ‘लेखकले चितवनलाई चिनाउने उद्देश्यले केही कल्पनात्मक प्रसङ्गहरु पनि जोडिदिनुभएको छ, जुन उपन्यासको शैलीअनुरुप स्वीकार्य छन्’, उनी भन्छिन् ।

समीक्षकहरुको प्रतिक्रिया सुनिसकेपछि लेखक वसन्त पराजुलीले उपन्यास भएको हुँदा कतिपय प्रसङ्ग काल्पनिक हुने बताए । उनले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र वखानसिंह गुरूङलाई चितवन चिनाउन आवश्यक स्थानहरुको भ्रमण गराइएको प्रसङ्ग सुनाए । ‘कतिपय स्थानमा मुख्य पात्रलाई नपु¥याइँदा चितवनको परिचय अधुरो रहन्थ्यो । उपन्यास अधुरो रहन्थ्यो’, उनी भन्छन्, ‘त्यसकारण वास्तविकतामा केही कल्पनाशीलता पनि मिसिएको छ ।’

वखानसिंह गुरूङलाई मुख्य पात्रको रुपमा उभ्याइँदा गुरूङ संस्कार, संस्कृति र चालचलनलाई पनि समेट्न आवश्यक पर्ने हुँदा ती विषयलाई पनि उपन्यासमा समेट्ने प्रयास गरिएको उनको भनाइ छ । उपन्यास लेखेकै आधारमा चितवनका गुरूङहरुको संस्था तमू ह्युल छोँज धीँले गरेको सम्मानप्रति कृतज्ञ रहेको उनले बताए । ‘चितवनको गुरूङ समुदायबाट प्राप्त गरेको यो माया र सम्मान मेरा लागि अविस्मरणीय छ’, उनले भने ।

कार्यक्रममा उपन्यासको समग्र पक्षमाथि छलफल गरिएको थियो । तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष एवम् सल्लाहकार पदमबहादुर गुरूङ, विपश्यना आचार्य एवम् लेखक अक्कलध्वज गुरूङ, तमू ह्युल छोँज धीँका केन्द्रीय सदस्यहरु तुलाराम गुरूङ, नारायणसिंह गुरूङलगायतले पनि आफ्ना विचार राखेका थिए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसमेत रहेका लेखक पराजुलीलाई तमू ह्युल छोँज धीँ चितवनले गुरूङ संस्कारअनुसार दही–अक्षता र सेता फेटासँगै सम्मानपत्र प्रदान गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।