
चितवन । सडकमार्गमा सस्यामा परेका यात्रुको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहेको देखिन्छन् ।
जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न उनी व्यस्त देखिन्छन् ।
जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ खाना, पानी तथा औषधिको व्यवस्था गर्ने तथा छिमेकी जिल्लाका आफ्ना समकक्षीसँग समन्वय गरी यातायात तथा यात्रुको व्यवस्थापन गर्ने काममा प्रमुख जिल्ला अधिकारी अर्याल अहोरात्र खटिरहेका छन् ।
सडक तथा यातायात, अस्पताल, होटल व्यवस्थापकलगायत सरोकार भएका निकाय तथा अधिकारीसँगको सहयोग र सहकार्यमा यात्रुलाई यथाशक्य राहत दिन प्रयास गरिएको उनले स्पष्ट गरे ।
यसै सन्दर्भमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर लामो समयसम्म अलपत्र परेका यात्रुलाई स्थानीय सामाजिक तथा व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी खाना, पानी र औषधि उपचारको व्यवस्था गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछन् ।
सडकमा गाडी रोकिएपछि बजारको अभावमा पिउने पानी र खानाको अभाव यात्रुले झेल्नुपरेको जानकारी पाउनासाथ खाना, पानी र औषधिको व्यवस्था गरिएको उनले स्पष्ट गरे ।
पहिरोका कारण सडकमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई पानी बढ्दै गर्दा देखिएका चितवनका प्रमुख जिल्ला अधिकारी अर्याल गत शुक्रबारदेखिको वर्षाका कारण भएको विपद् व्यवस्थापनका क्रममा निरन्तर फिल्डमा छन् ।
गत साता तुइन खोलाको पहिरो हटाउन र यात्रुलाई राहत दिन अहोरात्र फिल्डमै खटिएका अर्यालले भने, “यसैबीच एक दिन सबै व्यवस्था मिलाउँदै जाँदा रातिको १२ः०० बजे छ । त्यहीँ खाना खाएर सडकका कर्मचारीलाई उत्प्रेरणा दिन रातभर तुइनखोलामै बसेँ । स्वयम् म आफैँ त्यहाँ उपस्थित भएपछि सडकका कर्मचारी साथीलाई ऊर्जा मिल्यो, निरन्तर पहिरो आइरहे पनि सडक तथा यातायात व्यवस्थापन गर्न सफल भयौँ ।”
पहिरो पन्छाउने उपकरण जुटाउनेदेखि इन्धन हाल्ने, विद्युत्को व्यवस्थालगायत काममा प्रमुख जिल्ला अधिकारी अर्याल खटिरहेको देखिन्छन् । मुग्लिनबाट तनहुँहुँदै तुइन खोला वारीसम्म आएका यात्रुलाई नेपाल प्रहरीको बसमार्फत भरतपुरसम्म निःशुल्क ल्याउन उनले अगुवाइ गरे । त्यसो त अलपत्र परेका यात्रुलाई व्यवसायीको सहकार्यमा खाना र पानी मात्रै होइन, चिकित्सक र औषधिसमेतको व्यवस्था गरिदिए।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, जिल्ला जनस्वास्थ्य कार्यालय र मुग्लिनतर्फ इच्छाकामना गाउँपालिकाको सहयोगमा औषधोपचारको व्यवस्था उनले गरे । उनले भने, “पाँच ठाउँमा क्याम्प गरेर अलपत्र यात्रुको स्वास्थ्योपचार ग¥यौँ ।”
प्रमुख जिल्ला अधिकारी जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग आफैँ फिल्डमा खटिएकाले सोचेभन्दा छिटो सडक खुलाउन सफल भएको सर्वसाधारण बताउँछन् । तुइन खोलाको पहिरो पन्छाउन सक्दानसक्दै आएको अविरल वर्षात्ले जिल्लामा समस्या थपिए । ती समस्याको समाधानमा उनी प्रत्यक्ष रुपमा लागे ।
अर्यालका अनुसार अन्यत्र सडक बन्द भइरहँदा यहाँका सडक सञ्चालनमा थिए । उनकै पहलमा तनहुँ र धादिङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कुरिनटारमा बैठक बसेर राजमार्ग व्यवस्थापनको काम भयो । पहिरो गएको स्थानमा सवारीसाधन रोकिँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानको खोजी गरी सवारीसाधन रोक्ने व्यवस्था मिलाइएको थियो । अर्यालका अनुसार पहिरोको जोखिम उच्च नभएसम्म सवारीसाधन सञ्चालन गरेर यात्रुलाई सहजीकरण गरिएको छ ।
शनिबार रातको समयमा सडक बन्द गरेपछि अलपत्र परेका यात्रुलाई प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय होटलमा ७५ प्रतिशत छुटको व्यवस्था गरे । उनका अनुसार होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घको उपस्थितिमा बैठक बसेर यो व्यवस्थापन गरिएको हो ।
आज बिहान मात्रै भरतपुर विमानस्थलमा अलपत्र परेका यात्रुलाई अर्यालले व्यवसायीसँग समन्वय गरी बसको व्यवस्था मिलाएर गन्तव्यतर्फ पठाएका छन् । उनले भने, “गुनासो आएपछि म विमानस्थल पुगेँ, धेरैलाई जानैपर्ने बाध्यता देखियो, विमानमा सम्भव नभएपछि बस खोजेर उहाँहरु आफैँले भाडा तिर्नेगरी काठमाडौँ पठाउन सुरु गरेका छौँ ।”
अर्यालले विपद्को यो समयमा कुनै समस्या भएमा चितवनस्थित प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीलाई सोझै सम्पर्क गर्न आग्रह गर्दै विपद्को समयमा सेवा गर्ने अवसर दिन सम्बद्ध सबैसँग अनुरोध गरेका छन् ।
उनले भने, “समग्रमा नागरिकलाई दुःख पर्दा राज्य छ है, मर्नु पर्दैन भन्ने अनुभूति दिनेगरी काम गर्यौँ, राहत उद्धार एवं सहयोगपछि भुक्तभोगीजनबाट स्वःस्फूर्त रुपमा व्यक्त वाणीले आफूलाई काम गर्न थप हौसला मिलेको छ । प्रमुख जिल्ला अधिकारीका हैसियतले यसरी जनताको सेवा गर्न पाउँदा खुसी छु, सेवाग्राही एवं आमजनताकै पक्षमा काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”
काठमाडौँ । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्कमा आज मध्याह्न १२ः३० बजेसम्म धनकुटास्थित अरुण नदी जलमापन केन्द्रले दिएको जानकारीअनुसार जलसतहले खतराको तह पार गरेर ११ दशमलव २३ मिटर पुगेको छ । उक्त केन्द्रमा ११ मिटर जलसतहलाई खतराको तह मानिन्छ ।
यसैगरी, धनकुटास्थित त्रिवेणीको तामोर नदी मापन केन्द्रमा १० मिटर खतराको तह रहेकामा ११ दशमलव ४७ मिटर जलसतह पुगेको छ । सुनसरीस्थित सप्तकोसी चतराको जलसतह सात दशमलव १३ मिटर पुगेको छ । उक्त स्टेशनको खतरा तह भने सात मिटर रहेको छ ।
त्यस्तै, सुनसरी खोलाको जलमापन केन्द्रमा जलसतह ८१ दशमलव ८८ मिटर पुगेको छ । उक्त केन्द्रमा ८१ दशमलव आठ मिटर जलसतहलाई खतराको तह मानिन्छ । इलामको मैनाचुलीस्थित कन्काई नदी जलमापन केन्द्रमा जलसतह पाँच दशमलव ६१ मिटर पुगेको छ । उक्त केन्द्रको जलसतहको खतरा तह भने चार दशमलव तीन मिटर रहेको छ ।
सिन्धुलीको खुर्कोटस्थित सुनकोसी जलमापन केन्द्र, धनकुटाको मुलघाटस्थित तमोर नदी, इलामको पुवाखोला र इलामकै चिसापानीस्थित माइखोला जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका जलविद् विनोद पराजुलीले पूर्वका नदीहरूमा बाढीको खतरा बाँकी रहेको र मुलुकका अन्य नदीमा जलसतह सामान्य रहेको जानकारी दिए । बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्नका लागि मोबाइल एसएमएसमार्फत जनमानसलाई सचेत गराइएको उनको भनाइ छ ।
काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायु)को प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती, लुम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।
कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चितवन । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।
शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।
शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उहाँका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।
धादिङ, तनहुँलगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनले जानकारी दिए ।




