
काठमाडौँ । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टि–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
नेपालले जितको लागि दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनाएको थियो ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।
यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।
त्यसैगरी नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियोभने दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको थियो ।
यस छनोट प्रतियोगिताबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्तरूपमा हुने टि–२० विश्वकपको टिकट काटिसकेका छन् । विश्वकप आगामी माघ २७ देखि फागुन २४ गतेसम्म हुँदैछ ।
भरतपुर । भरतपुर–१, देवघाटस्थित नारायणी नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको बेपत्ता भएका छन् ।
राप्ती–६ बाट शव लिई देवघाटमा मलामी आएका राप्ती–६ बस्ने २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएको भनी निजका काका देवनारायण चौधरीले प्रहरी बिट देवघाटमा जानकारी गराएका हुन् ।
बिहीबार बेलुकी ५ः३० बजेको समयमा खोज तलासको लागि गएको प्रहरी टोली फिर्ता भएको र बेपत्ता भएका युवक हालसम्म फेला नपरेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर–१०, वीरेन्द्र क्यापस चोकमा इभी गाडीको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् ।
बा–प्र–०६–००१ ज ०३२९ नम्बरको इभी गाडीले रोड क्रस गर्दै गरेकी भरतपुर–१०, मालपोत चोक बस्ने ५५ वर्षीया बालकुमारी श्रेष्ठ घाइते भएकी हुन् ।
टाउकोमा चोट लागी अवस्था गम्भीर रहेकी घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने गाडी र चालक जिप्रका चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर–३, शहीद चोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
चौबीसकोठीबाट पुलचोकतर्फ आउँदै गरेको ना ६ ख ५७१० नम्बरको ट्रकले बेलचोकबाट शहीद चोकतर्फ आउँदै गरेको ना ३७ प ४३८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–३, बाह्रघरे बस्ने ७२ वर्षीय राजेन्द्रप्रसाद शाह कलवार र सोही ठाउँ बस्ने १९ वर्षीया फरिदा खातुन घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र ट्रक चालकलाई वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




