२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ दिलाएका हुन् । यसअघि चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीले मात्रै आज शपथ लिएका हुन् ।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले नियुक्ति गरेका थिए ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आइतबारको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

भरतपुर । आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष रूपमा मनाइन्छ ।

विशेषगरी तराई मधेश क्षेत्रमा बस्ने हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन् । यो पर्व मधेस प्रदेशका आठवटै जिल्लामा अझ विशेष रूपमा मनाउने प्रचलन छ । यहाँ एक अर्कालाई सहयोग गर्दै नदी, नहर, तालतलैया, पोखरीलगायत जलाशय क्षेत्रमा छठको घाट निर्माण गरी यो पर्व मनाउने चलन छ ।

हिन्दू धार्मिक मान्यताअनुसार यो पर्व वर्षमा दुईपटक अर्थात् कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने गरेको छ । पण्डित सूर्यकान्त झाका अनुसार कार्तिक शुक्ल चतुदर्शीका दिन सुरू हुने सूर्य उपासनाको यस पर्वलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा छठी महापर्व पनि भनिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिएको छ । पूजाको प्रथम दिन व्रतालुहरू नुहाई धुवाई शुद्ध भई पूजन सामग्री तयारीमा लाग्ने गर्छन् । यसदिन व्रत बस्नेले चोखो अरवा चामलको भात, चना तथा रहरको दाल तथा लौका वा फर्सीको तरकारी खाने गर्छन् । दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालु निर्जल रही बेलुका माटोको चुलोमा खिर, रोटी तथा पुरी पकाएर भगवान्लाई चढाएर त्यही प्रसाद खाने तथा आफन्तजनलाई प्रसाद खुआउने गर्छन् ।

त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुन्छ । त्यस अवधिमा व्रतालुहरू पानीसमेत नखाई सूर्यपूजा तथा उपासनामा रहन्छन् । यसै क्रममा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ ।

हाल छट पर्व मनाउन रोजगारी तथा काम विशेषले घरबाहिर रहेका युवायुवती, केटाकेटी, वृद्धवृद्धा तथा आफन्तहरू आ–आफ्ना घरमा पुगेर खुसी साटासाट र आवश्यक सहयोग गरिरहेका छन् । छठ पर्वका लागि आवश्यक पूजा सामग्री किनमेल, घरआँगन लिपपोत, सजावट, बाटोघाटो सरसफाइलगायत काम धमाधम भइरहेको छन् ।

भरतपुर । चितवनका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरू गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५, झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरू गरेको जनाएको छ ।

सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ । उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

उनले भने, “अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरू भएको छ ।” उनका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ ।

फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उनको भनाइ छ । भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने सङ्घको लक्ष्य छ । “भविष्यमा आइसक्रिम, चकलेटलगायत पनि उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ”, उनले भने ।

सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ । चितवनमा उत्पादन हुने दूध काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ । जिल्लाका ११५ वटा सहकारीले दूध सङ्कलन हुने गर्दछ । ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध छन् ।

भरतपुर । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।”

यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इन्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माणलगायत सकिएको बताए । उनका अनुसार भरतपुर र पोखराको काम सक्न समय थपगरी सन् २०२६ जुलाईसम्म पु¥याइएको छ । तेस्रोपटक असोज अन्तिमसाता समय थप गरिएको जनाउँदै उनले पोखरामा विद्युत् भूमिगतको काम ६० प्रतिशत पूरा भएको बताए ।

केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थपगरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इन्जिनियर सुवेदीले जानकारी दिए ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत अनुमान गरिएको छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट बिवनयोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो ।

भरतपुर । चितवन जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।

यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्र्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।

यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन् ।

कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । अरु नवलपरासी (वर्दघाट–सुस्ता)पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।

हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताए् । उनले भने, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।