
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन र सरकार निर्माण प्रक्रिया संविधानसम्मत नभएको जिकिर गरेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा बहसका क्रममा डा सुरेन्द्र भण्डारीले पूर्वप्रधान न्यायाधीश सुशीला कार्की र सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको नियुक्ति संविधानविपरीत भएको धारणा राखे । उनले गत भदौ २३ गतेको घटना र २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचना जलाउने काम मानवताविरुद्धको अपराध सरह भएको हुँदा सत्यमा कसैलाई पनि छूट दिन नमिल्ने जिकिर गरे ।
नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन भएको हुनाले निरन्तर सुनुवाइ गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राखे । उनले निर्वाचन गर्ने कार्यसूची पाएको सरकारले दीर्घकालीन असरपार्ने राष्ट्रिय महत्त्वका काम गर्न रोक लगाउनुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा राखे । उनले सरकारको नियुक्ति प्रक्रिया नै अवैध भएकाले त्यसको निरूपण नभइ निर्वाचन हुन नसक्ने धारणा राखे । अधिवक्ता खम्मबहादुर खातीले सरकारले संवैधानिक अधिकार प्राप्त गर्न सक्ने अवस्था नभएकाले दीर्घकालीन असरपर्ने कुनै पनि काम गर्न नदिन अन्तरिम आदेश गर्नुपर्ने माग गरे ।
उनले संविधानअनुसार धारा ७६ अनुसार राष्ट्रपतिलाई अधिकार नभएको र वैकल्पिक सरकारभन्दा पनि संविधान मुलुकमा छ कि छैन भन्ने गम्भीर सवाल रहेको बताए । रिट निवेदक डा प्रेमराज सिलवालले सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गरे । उक्त विवादमा बहस जारी छ ।
काठमाडौँ । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘मन बिनाको धन’को बुधबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रको ट्रेलरमा दर्जीको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धनबीचको टकराव र अशोक दर्जी कसरी जिरोदेखिको हिरोको यात्रामा अगाडि बढेका छन् भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।
बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन् ।
यस्तै, जिपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् । टीकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् । चलचित्र अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकीको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डि. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।





