२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–९, टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

बिहीबार राति करिब १ः०० बजेको समयमा रौतहटबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बस अगाडि रोकिएको ना ६ ख ८१३ नम्बरको ट्रकको पछाडिबाट ठोक्किएको र सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र बाँकी २५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई भरतपुरस्थित नयाँ मेडिकल कलेज, नेसनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमध्ये धनुषा, रौतहट, महोत्तरी, उदयपुर लगायत जिल्लाका यात्रुहरू रहेका छन् । बस र ट्रकमा सवार भारतका मोतिहारीका केही नागरिक पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइतेहरू उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री, धनुषा जनकपुर–१७ का सदाकत मियाँ, धनुषा जनकपुर–१७ का नरेन्द्र साह, रौतहट गौर–५ का मुकेशकुमार केसरी, जनकपुर–७ का समिर अन्सारी, महोत्तरी पिपरा–१ की गीतादेवी यादव, रौतहट राजदेवी–१ का कृष्णकुमार साह, जनकपुर–१ का बसन्त झा, जनकपुर–४ का मुकेशलाल कर्ण, अन्जु कर्ण, आरुष कर्ण, महोत्तरी पिपरा–१ का राम क्षेत्री, रौतहट राजदेवी–१ का अनिकेतकुमार साह, रौतहट वृन्दावन–३ का आरभ मिश्र र धनुषा लक्ष्मीनिया–४ की विधा चौधरीको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै, नेसनल सिटी अस्पतालमा उपचाररत घाइतेहरूमा धनुषा जलेश्वर–५ का आदित्यकुमार सिंह, रेखा सिंह, अञ्जली सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, सुभद्राकुमारी चौधरी, प्रिया जैसवाल, कृति जैसवाल, जनकपुर–८ का आलोककुमार राउत, रौतहट राजदेवी–२ का मोनुकुमार महतो, गौर–९ की गम्भीरादेवी ठाकुर, गरुडा–७ का विजय साह, उर्मिलाकुमारी साह र रौतहट वृन्दावन–३ की सुनितादेवी मिश्र रहेका छन् ।

यस्तै, भरतपुर अस्पतालमा उपचाररत घाइतेहरूमा रौतहट दुर्गावती–२ का राजकिशोर दास, राजु दास, भारत मोतिहारीका महमद साहेव, रौतहट माधवनारायण–५ का रोशीकुमार साह र धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी रहेका छन् ।

दुर्घटनामा बा.प्र.०३–००१ ख ३९०२ नम्बरको बस चालक धनुषा शहीद नगरपालिका वडा न–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी र गोन्द्राङ प्रहरी चौकीका टोली खटिएका थिए ।

चितवन । युवा व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नं–१३ का २१ वर्षीय सनम सुनार रहेका छन् । उनीहरूलाई मुग्लिनबाट पक्राउ गरिएको उनले बताए ।

भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई अपरिचित समूहले बिहीबार अपराह्न आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समूहमा आएकाहरूले आक्रमण गरेका प्रहरी नायब उपरीक्षक खनालले बताए ।

सिसी टिभी फुटेजमा उनीहरू सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेका र सिग्देललाई त्यहाँ देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरेर आक्रमण गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । अक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ ।

खनालले भरतपुर अस्पतालमा उपचार भइरहेको जनाउँदै यसअघि उनीमाथि सोही ठाउँमा आक्रमण भएको बताए । पक्राउ परेकाहरूसँग घटनाका बारेमा सोधपुछ भइरहेको बताउँदै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

भरतपुर । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानबिन र दोषी उपर कारबाहीको माग गरेका छन् ।

आयोगद्वारा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, घटनाका पीडित र सरकारी कार्यालय प्रमुखहरूले सो सुझाव दिएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगको निष्पक्षताको विषयमा कुनै शङ्का नगर्न आग्रह गरे । एक जनाले चाहेर केही नहुने भएकाले आयोग र पदाधिकारीले पूर्वाग्रही ढङ्गले काम नगर्ने प्रतिबद्धता जनाए । उनले भने, “आयोग स्पष्ट छ, हामी कुनै पनि आग्रह र पूर्वाग्रह लिएर छानबिन गर्दैनौँ ।”

निजी क्षेत्रको लगानी सुरक्षित कसरी गर्ने भन्ने विषयमासमेत आयोगले ध्यान दिने बताउँदै उनले यो घटना कसरी भयो र अब फेरि दोहोरिन नदिन के गर्ने भन्ने विषयमासमेत प्रतिवेदन तयार पार्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको विवरण सुनाउनु भएको थियो । जिल्लामा ६३ वटा सरकारी कार्यालय, ६ वटा स्थानीय तहका भवन, ७१ वटा वडा कार्यालय, ४१ निजी आवासमा क्षति पुगेको प्रजिअ अर्यालले जानकारी दिए ।

त्यसैगरी ३७ वटा चारपाङ्ग्रे सवारी, ८३ वटा दुई पाङ्ग्रे सवारी, रेडक्रसका दुईवटा एम्बुलेन्स जलाइएको छ । एक थान हतियार लुटिएकोमा प्रशासनले फिर्ता ल्याएको उनले बताए । अर्यालका अनुसार आन्दोलनका क्रममा लुटपाटमा संलग्न दुई जनाको आगोमा निसासिएर मृत्यु भएको छ । कारागारबाट भागेका ७४२ कैदी बन्दीमध्ये ६०५ जनालाई फिर्ता ल्याइ सकिएको उनले बताए । उनले आन्दोलनका नाममा भएको अपराधमा संलग्न ३२ जनालाई कारबाही गरिसकेको र अन्य केही नियन्त्रणमा रहेको जानकारी दिए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आयोगले निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताइन् । उनले भने, “अराजक भीड र आन्दोलनकारी छुट्याएर कारबाही गरिनुपर्छ ।”

भरतपुर । आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न तीन साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले रू १८ लाख विनियोजन गरेको छ । यसका लागि रू एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले रू १८ लाख नै विनियोजन गरेको छ । गैँडा गणना गर्न रू दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा संख्या छुट्याइनेछ । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।