२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

चितवन । आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न सोमबार चितवनका मौरीपालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत असोज २७ गते कृषि तथा पशुपन्छी मन्त्री डा मदनप्रसाद परियारको उपस्थिति र नेपाल मौरीपालक महासङ्घको समन्वयमा १० मेट्रिक टन तोरीको मह किन्ने र दोस्रो त्रैमासिक कोटा स्वरूप डाबर नेपालका लागि एक सय २५ मेट्रिक टन र पतञ्जली आयुर्वेदका लागि ४० मेट्रिक टन मह आयात अनुमति दिने निर्णय भएको थियो ।

उक्त निर्णयले देशभरका मौरीपालक किसानहरूको व्यवसायमा नकारात्मक असर पर्ने र निर्णय प्रक्रियामा केही सदस्यहरूको मात्र सहभागिता रहेको भन्दै किसानहरूले विरोध जनाएका हुन् ।

सो अवसरमा नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले महको उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्न दिने निर्णय नेपाली किसानको हितमा नभएको बताए । उनले सरकारलाई आयात प्रतिस्थापनका कार्यक्रम ल्याउने क्रममा घरेलु मह उत्पादनको बजारीकरणलाई नीतिगत रूपमा सहजीकरण गर्न आग्रह गरे । सरकारले सहयोग नगरे विदेशी बहुर्राष्ट्रिय कम्पनी र ठूला व्यवसायी–बिचौलियाले नेपाली मौरीपालक किसानलाई विस्थापित गर्ने खतरा रहेको उनको भनाइ थियो ।

नेपालमा वार्षिकरूपमा करिब एक हजार ५०० मेट्रिक टन तोरीको मह, दुई हजार मेट्रिक टन चिउरीको मह र अन्य पाँच सय मेट्रिक टन मह उत्पादन हुन्छ । विसं २०५१ देखि व्यावसायिक रूपमा मौरीपालन सुरु भएको नेपालमा हाल मेलिफेरा जातका करिब एक लाख ३० हजार र सेरेना जातका करिब एक लाख ७० हजार बढी मौरीका घार छन् । यसबाट मेलिफेराबाट वार्षिक करिब चार हजार मेट्रिक टन र सेरेनाबाट करिब एक हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान छ ।

नेपालमा मेलिफेरा मौरीपालनमा करिब १२ हजार किसान र सेरेना मौरीपालनमा हजारौँ किसान व्यावसायिक रूपमा संलग्न छन् ।

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको कार्यालय भवन सहयोग जुटाएर पुनर्निर्माण गरिएको छ । जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षति भएको प्रहरी कार्यालय भवन पुनर्निर्माण गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघको अगुवाइमा करिब दुई महिनाको अवधिमा प्रहरी कार्यालय भवन मर्मत गरिएको हो ।

सोमबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी संघले पुनर्निर्माण गरेको भवन इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनाल संयोजक रहेको पुनर्निर्माण समितिले यहाँका उद्योगी व्यवसायी तथा सहयोग गर्न चाहनेहरुबाट निर्माण सामग्री जुटाएर प्रहरी कार्यालय भवन पुनर्निर्माण गरेको हो ।

इलाका प्रहरी कार्यालय भवन ध्वस्त भएपछि बछौली प्रहरी चौकीबाट सेवा प्रदान गरिँदै आएकोमा पुनर्निर्माण भएपछि सोमबारदेखि साबिककै भवनबाट सेवा सुरू गरिएको डिएसपी सुवास भट्टले जानकारी दिए । कार्यालय भवन पुनर्निर्माण गरिएको भए पनि कार्यालयलाई आवश्यक पर्ने फर्निचर, उपकरण, आवासका लागि चाहिने सामग्रीहरुको व्यवस्थापनको काम भने बाँकी नै रहेको उनको भनाइ छ ।

संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमितिका सदस्य रवि तिमिल्सिनाले प्रहरी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग गर्ने दाताहरुको नाम सार्वजनिक गरेका थिए ।

रत्ननगरका मेयर प्रलाद सापकोटा, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गोविन्द पुरी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अनिलकृष्ण श्रेष्ठसहितको उपस्थितिमा शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिया तथा भवन हस्तान्तरण कार्यक्रम गरिएको संघका अध्यक्ष गिरीले बताए । ‘शान्ति सुरक्षा कायम गर्न र समस्या पर्दा चाहिने पहिला प्रहरी हो’, उनले भने, ‘प्रहरीको भवन पुनर्निर्माण गर्ने दायित्व हामी सबैको थियो, हामीले दायित्व पूरा गर्ने अवसर पायौँ ।’

रत्ननगरका मेयर सापकोटाले नगर र नगरवासीको हितमा काम गर्दागर्दै पनि राष्ट्रिय राजनीतिलाई जोडेर स्थानीय सरकारमाथि आक्रमण गर्नु निन्दनीय रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलन मानवबाट सिर्जित विपत्ति रहेको भन्दै आत्मबल बलियो बनाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । व्यावसायिक वातावरण तयार गर्न जिल्ला प्रशासन कार्यालय रहेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्ने विषयमा राज्यको तर्फबाट कुनै कमी नहुने बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी पुरीले सरकारी सम्पत्ति ध्वस्त गर्ने व्यक्तिहरुको प्रमाण सुरक्षित रहेको भन्दै अनुसन्धन गरी त्यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य श्रेष्ठले जेनजी आन्दोलनका कारण नेपालको औद्योगिक क्षेत्र धराशायी बन्ने खतरा बढेको बताए । परिवर्तनका नाममा भएको आन्दोलनले देशमा थप लगानी गर्ने वातावरण नरहेको भन्दै यसतर्फ राज्य जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । संघका वरिष्ठ उपाध्यक्ष खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

भरतपुर । नारायणी नदीकिनारमा मङ्गलबारदेखि सुरू हुने खेलकुद तथा बृहत् व्यापार महोत्सवको तयारी पूरा भएको छ । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले तयारी पूरा भएको जनाएको छ ।

मङ्सिर २ गतेसम्म चल्ने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहान ११ः०० बजे उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि बिहान ९ः०० बजे झाँकीसहितको शोभा यात्रा निकालिने छ । महोत्सव परिसरबाट सुरू हुने शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, क्षेत्रपुर, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महोत्सव परिसरमा पुगेर समापन हुनेछ । महोत्सवमा निकालिने झाँकीमध्ये उत्कृष्ट तीन संस्थालाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

यस्तै, उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् ।

महोत्सव परिसरमा व्यापारिक, कृषि, नेपाली उत्पादन, खाजा लगायतका लागि तीन सयभन्दा बढी स्टल निर्माण गरिएको छ । तीन दिनको लगातारको वर्षाले केही असर गरे पनि दुई सिफ्टमा गरेर काम गरिएको महोत्सव संयोजक विकल क्षेत्रीले बताए । महोत्सव परिसरभित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेरभित्र प्रवेश गर्नेछन् ।

लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलोपटक महोत्सव परिसरभित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए ।

महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइने छ । यस्तै, नेपाली खेलकुदमा योगदान पु¥याएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

भरतपुर । बहुप्रतीक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेसनल कन्सल्टेन्सी पार्टनरमा नेपालको अग्रणी शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबीच एनपिएलको आधिकारिक एजुकेसनल कन्सल्टेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एक्सपर्टले प्रेस विज्ञप्तिमार्फत प्रायोजन सम्झौताबारे जानकारी गराएको हो ।

एक्सपर्ट एजुकेसनले अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्युजिल्यान्डलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ भने विश्वभरका २५ देशमा रहेका आफ्ना करिव ९० शाखामार्फत सेवा पु¥याउँदै आइरहेको छ ।

एक्सपर्ट एजुकेसन लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगिताहरुमा संलग्न रहँदै आएको छ । यसअघि एक्सपर्टले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग, प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग र जुनियर राष्ट्रिय खेलकुद च्याम्पियनसिपजस्ता प्रमुख प्रतियोगिताहरुलाई प्रायोजन गरिसकेको छ । अन्तर्राष्ट्रियस्तरमा पनि क्रिकेटलाई सहयोग गर्ने क्रममा एक्सपर्टले अस्ट्रेलियामा कम्युनिटी कप र एक्सपर्ट सगरमाथा लिग (मेलबर्न, अस्ट्रेलिया) मा सहकार्य गरेको छ भने नाइस नेपाली क्रिकेट क्लब ब्रिसवेनलाई समेत प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेसनले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी क्रिकेट टोलीको स्वामित्वसमेत ग्रहण गरेको थियो ।

यस्तै, एक्सपर्टले चितवनका विभिन्न खेलकुद कार्यक्रमहरुमा पनि सहकार्य गर्दै आइरहेको छ । भरतपुर मेयरकप अन्तर्विद्यालय क्रिकेट, विभिन्न फुटबल प्रतियोगिताहरुमा एक्सपर्टले प्रायोजन गर्दै आइरहेको छ ।

क्रिकेटसँगको सहकार्यलाई अझ मजबुत बनाउनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा वर्तमान नेपाल क्रिकेट संघका सचिव, पारस खड्का, विगत सात वर्षदेखि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको ब्रान्ड एम्बेस्डरका रूपमा रहेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा अग्रणी संस्था र नेपालको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिताबीचको यो सहकार्यले नेपाल प्रिमियर लिगको गरिमा र स्तरलाई बढाउनुका साथै राष्ट्रका युवाहरुलाई खेलकुद र शिक्षा दुवै क्षेत्रमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको एक्सपर्टले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।