२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८१/०८२ को क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा पालिकामा भएका क्षयरोग नियन्त्रणका कार्य, उपलब्धि, चुनौती र आगामी योजनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग नियन्त्रणका कार्यक्रमहरूको औचित्यमाथि प्रकाश पार्दै सुमदायमा जनचेतना र उपचार पहुँच दुवै बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘क्षयरोग नियन्त्रण अब केवल स्वास्थ्यकर्मीको जिम्मेवारी होइन, समुदायको सहभागिता पनि आवश्यक छ ।’

उनले राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य क्षयरोगमुक्त नेपालको परिकल्पना गर्नु रहेको जानकारी दिँदै यसअन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्णरूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको बताए ।

यस्तै, जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत जयराम दुवाडीले सबैको साथ र सहयोगबाट क्षयरोगमुक्त अभियानलाई सार्थक बनाउन सकिने भएकाले क्षयरोगमुक्त अभियानमा गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै चितवनमा क्षयरोग नियन्त्रणको प्रगति र चुनौतीहरूबारे जानकारी गराएका थिए ।

उनका अनुसार, गत आर्थिक वर्षमा नयाँ बिरामीको पहिचान दरमा सुधार आएको छ भने उपचार सफलता दर पनि सन्तोषजनक रहेको छ । तर, पुनःसङ्क्रमणका केसहरू र औषधि उपचारका क्रममा अधुरो छोड्ने समस्या अझै चुनौतीका रुपमा रहेको बताए ।

रत्ननगर–३ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नेपाल सरकारले सन् २०३० भित्र क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्य हासिल गर्न नियमित कोहर्ट विश्लेषण र वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी हुने बताए । उनले रत्ननगरका १६वटै स्वास्थ्य संस्थाको क्षयरोगको विवरण समयमै अद्यावधिक गराउनसमेत सचेत गराएका थिए ।

कार्यक्रममा क्षयरोग अभियानमा प्राविधिक सहयोग गर्दै आएको संस्था ‘जन्त्र’का संयोजक सन्दीप रावलले क्षयरोगको औषधि बिरामीको संख्याका आधारमा आउने भएकाले यकिन विवरण समयमै अद्यावधिक गर्न, छुटेका बिरामीको बारेमा तत्काल फलोअप गर्न र सबै सरकारी तथा निजी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवाली, सो अस्पतालका क्षयरोग फोकल पर्सन नारायण ढुङ्गाना, स्वास्थ्य शाखाका नर्सिङ अधिकृत अम्बिका पौडेल, जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विक, १६ वटै वडाका स्वास्थ्य संस्थाका इन्चार्जलगायतको सहभागिता रहेको थियो ।

रत्ननगर । रत्ननगर नगरपालिकाको सोमबार भएको नगरसभाको विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीका कारण क्षति भएका नगरका दुई प्रशासनिक भवन र १६ वटै वडा कार्यालयको पुनर्निर्माण तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ ।

विशेष नगरसभाले १७औँ नगरसभाबाट विनियोजित योजना तथा कार्यक्रमहरुको वडागत, शाखागत र विषयगत समितिको चालू बजेट शीर्षकान्तर तथा रकमान्तर गरी पुनर्निर्माण तथा व्यवस्थापन गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो ।

नगर उपप्रमुख यादवप्रसाद पाठकले हालको विषम परिस्थितिमा नगरका भवनहरु पुनर्निर्माणका साथै विकास निर्माणका कार्यहरुलाई द्रुतगतिमा अघि बढाउन ५ करोड ५७ लाख ६० हजार रूपैयाँ शीर्षकान्तर तथा रकमान्तर गर्न र केही शाखाको अतिआवश्यकीय योजना तथा कार्यक्रमहरुका लागि ५५ लाख २० हजार रूपैयाँ बजेट थप गर्न पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

जेनजी आन्दोलनका कारण आगलागी र तोडफोडका कारण करिब २३ करोड रूपैयाँबराबरको क्षति पुगेको उनले जानकारी दिए । जसका कारण नगर तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह, विकासका आकस्मिक कार्यलाई सहजरुपमा अघि बढाउन भवनहरु निर्माण तथा मर्मत, फर्निचर, मेसिनरी औजारलगायत खरिद गर्न चालू पुँजीबाट खर्च हुने गरी पुनर्निर्माण कोष स्थापना गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार शीर्षकान्तर गरिएको रकम क्षति भएका शाखा कार्यालयहरुको पुनर्स्थापना र जनही १० लाख रूपैयाँका दरले १६ वटै वडाको पुनर्निर्माणलगायतमा खर्च गरिने छ ।

नगरसभामा पूर्वाधार विकास समितिका संयोजक अनन्त अधिकारीले नगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको १६ करोड रूपैयाँको लागत साझेदारीमा निर्माणाधीन नगर गौरवको आयोजना रत्ननगर हरियाली पार्कको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई खगेरी सिंचाइ आयोजनासँग जग्गा प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिँदै दोस्रो चरणको ठेक्का प्रक्रिया सञ्चालन गर्ने प्रस्ताव पनि विशेष नगरसभाले पारित गरेको छ ।

सभाध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाले विगत तीन वर्षको अविधिमा दर्बिलो साथ र सहयोग गर्ने नगरवासी, कर्मचारी तथा जनप्रतिनिधिप्रति आभार प्रकट गर्दै नगरलाई नमुना बनाउने सपना अझै जीवितै रहेको बताए । उनले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आफूहरुले काम गर्दै आएको भन्दै यस अवधिमा आधारभूत शिक्षा निःशुल्क गरिएको र २०८३ मा कक्षा १२ सम्म निःशुल्क गर्ने योजना रहेको बताए ।

नगरप्रमुख सापकोटाले कुनै पनि नगरवासी स्वास्थ्यसेवाबाट विमुख हुन नपरोस् भनेर बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालमा विपन्न उपचार कोष स्थापना गरिएको स्मरण गर्दै नगरवासीमात्रै नभई कार्यविधिअनुरुप पूर्वी चितवनका अन्य तीन पालिकाका जुनसुकै विपन्नको हकमा पनि एक हजार रूपैयाँदेखि २५ हजार रूपैयाँसम्म उपचार सेवा लिन सकिने गरी कोष स्थापना गरिएको बताए ।

आफू सुशासन प्रवद्र्धनमा निरन्तर लागिपरेको र नगरलाई भार पर्ने गरी कुनै पनि सेवासुविधा र सवारीसाधन प्रयोग नगरेको बताउँदै उनले नगरवासीको हितमा काम गर्दागर्दै पनि आएका आलोचना पुष्टि गर्नसमेत चुनौती दिए ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले धन्यवाद मन्तव्य ज्ञापन गरेका थिए । सभामा जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरु, वडा सचिवहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।