
चितवन । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । संघले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ ।
त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए ।
उनले भने, “यसअघिका सरकारले हाम्रो मागलाई बेवास्ता ग¥यो, अहिलेको सरकारले सम्बोधन गर्नेमा हामी ढुक्क छौँ ।” नागरिकको बलमा बनेको सरकार र स्वास्थ्य क्षेत्र बुझेका मन्त्रीबाट आफूहरुको माग सम्बोधन हुने लामिछानेको भनाइ छ । लामिछानेले केही दिनमै स्वास्थ्यमन्त्रीसमक्ष आफूहरुको माग राख्न लागिएको बताए ।
यसअघि आफ्नो माग पूरा गर्न आग्रह गर्दै सङ्घले स्वास्थ्यमन्त्रीसहित प्रमुख दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । ऐनका कारण स्वास्थ्य संस्थाबाहेक अन्यले नयाँ एम्बुलेन्स ल्याउन नपाउँदा गाउँबस्तीमा एम्बुलेन्सको अभाव भएको उनी बताउँछन् । उनले भने, “पहिलेका पुराना भए, नयाँ आउन सकेका छैनन्, यसले गाउँघरमा एम्बुलेन्स नपाइने समस्या बढ्दै गएको छ ।”
चितवन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ ।
मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उनले जानकारी दिए ।
इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।
इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो । समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छेससम्म पनि देख्न सकिन्छ ।
मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत सेवा र अन्य भौतिक पूर्वाधार निर्माणपछि यहाँ धार्मिक पर्यटकको आवागमन बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । पछिल्लो केही वर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताए ।
फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गर्छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, पानीट्याङ्की ओरालोमा ट्रकमा ठोक्किएर स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
रामनगरबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ५५९१ नम्बरको खाली ट्रकको बायाँ साइडमा सोही दिशाबाट जाँदै गरेको ना २७ प ७८९९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भरतपुर–११ बस्ने ५४ वर्षीय हरिबहादुर आले टाउकोमा चोट लागी गम्भीर घाइते भएका हुन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा रिफर गरिएको र ट्रक चालक तनहुँको देवघाट–१ बस्ने ३७ वर्षीय बालकृष्ण थापा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–११, वरपीपल चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
ना ५६ प ७६४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–११, कुमारी टोल बस्ने ६४ वर्षीय दिलबहादुर गुरुङ, मोटरसाइकल चालक भरतपुर–११ बस्ने २७ वर्षीय अमोद लामा र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने १६ वर्षीय अश्विन लामा घाइते भएका हुन् ।
घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खैरहनी । खैरहनी नगरपालिका वडा नं–८, चैनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलपछाडि सवार राप्ती–५ बस्ने २० वर्षीया बिमला तामाङको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
चितवन । नारायणी नदीकिनारमा जारी प्रथम खेलकुद तथा बृहत् व्यापार महोत्सवमा शनिबार दर्शकको घुँइचो लागेको थियो । पाँचौँ दिन मात्रै ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार शनिबार एकैदिन ५० हजार बढी टिकट बिक्री भएको छ । शनिबार अपेक्षा गरेभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । हालसम्म करिब एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
यसैबीच, भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले पनि महोत्सव अवलोकन गरेकी छन् । मेयर दाहाल र उपमेयर चित्रसेन अधिकारीलगायतले महोत्सव अवलोकन गरेका हुन् । महोत्सवमा विशेष गरी लन्डन ब्रिज, दुवई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरबलगायतले दर्शकहरुलाई आकर्षित गरेको छ ।
चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन् । गायिका प्रितीले आफ्ना चर्चित गीत गाउँदा दर्शकहरु झुमेका थिए । महोत्सवमा आज आइतबार चर्चित गायिका एन्जिला रेग्मी र नेपाल आइडल सिजन ६ की प्रतिस्पर्धी दर्शना गन्धारी आउने भएकी छन् ।





