२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरू गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरू गरेको हो ।

रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालले जनाएको छ ।

रोबोटिक तथा युरो सर्जन डा गुरूङका अनुसार चिरेर गरिने शल्यक्रिया र दूरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो ।” रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिने उनको भनाइ छ ।

चिकित्सकले प्रत्यक्षरूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया गरिने उहाँले स्पष्ट पार्नुभयो । परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा गुरूङको भनाइ छ ।

न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा गुरूङले बताए ।

रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उनले भने, “यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्म शल्यक्रिया गर्न सक्छन् ।” यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुने डा गुरुङको भनाइ छ ।

सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उहाँको भनाइ छ । अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा गुरूङको भनाइ छ ।

रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उनले यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताए । उनले अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुने बताए । उनले भने, “रोबोटिक शल्यक्रियामा एकदमै अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण गतिविधि एकदम छरितो हुन्छन्, त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा धेरै फाइदा हुन्छ ।”

रोबोटिक शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने डा गुरुङको भनाइ छ ।

मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताए । उनले रु ३२ करोड लागतमा यो प्रविधि भित्र्याइएको जानकारी दिए । उनले भने, “यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेशन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ ।”

कालिका । दुर्गा आयुर्वेद औषधालय, कालिकाले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार कालिका नगरपालिकाको कलबचोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आयुर्वेदिक स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको थियो ।

औषधालयका व्यवस्थापक दुर्गाराज भण्डारीको अध्यक्षता एवम् कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराई, कालिका–६ का अध्यक्ष टीकाराम रेग्मी, कालिका–७ का कमलराज मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुखअतिथि प्रमुख विनोद रेग्मीले आयुर्वेदिक स्वास्थ्य सेवालाई अझ विस्तार गर्न यस्ता पहलहरू महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सहयोगी हात बढाउने संस्थाहरूसँग सधैँ सहकार्य गर्नेछ । दुर्गा आयुर्वेद औषधालयले २० वर्षदेखि समुदायमा  पुर्‍याउँदै आएको सेवाले जनस्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’

शिविरमा आयुर्वेद विशेषज्ञ डा. बाबुराजा अमात्य, वरिष्ठ आयुर्वेद चिकित्सक डा. डा. रामकामेश्वर ठाकुर तथा विज्ञ डा. चन्द्रकान्त ज्ञवालीले रोग पहिचान, स्वास्थ्य परामर्श र आवश्यक उपचार साथै निःशुल्क औषधिसमेत वितरण गरेका थिए । शिविरमा २०२ जनाले औषधिसहित निःशुल्क सेवा लिएका थिए ।

कार्यक्रममा व्यवस्थापक दुर्गाराज भण्डारीले आगामी दिनमा समुदायमुखी सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘स्थापनादेखि नै दुर्गा आयुर्वेद औषधालयले समुदायलाई प्राथमिकता दिएको छ । स्थानीयको विश्वास र साथकै कारण हामी २० वर्ष पूरा गरेर यहाँसम्म आएको हौँ । आगामी दिनमा पनि स्वास्थ्य सेवामुखी कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’

दुर्गा आयुर्वेद औषधालयले आयुर्वेदलाई अझै सहज र पहुँचयोग्य बनाउन आगामी वर्षहरूमा पनि यस्तै स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने जनाउँदै नियमितरुपमा मधुमेह परीक्षण निःशुल्क गरिएको जनाएको छ ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ ले वडावासीका लागि खानेपानीको न्यूनतम महसुल निःशुल्क गरेको छ । वडावासीले प्रयोग गरेको १० हजार लिटरसम्मको खानेपानीको शुल्क वडा कार्यालयले तिरिदिने भएको हो । त्यसका लागि वडा कार्यालयले रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग सम्झौतासमेत गरेको छ ।

मङ्सिर १ गतेबाट वडावासीले खानेपानीको न्यूनतम शुल्क तिर्न नपर्ने र पानी प्रयोग गरेबापत लाग्ने शुल्क वडा कार्यालयले भुक्तानी गर्ने वडाध्यक्ष कुलप्रसाद सापकोटाले बताए । आर्थिक अभावका कारण पानीको शुल्क तिर्न नसक्ने अवस्था भएका परिवारलाई लक्षित गरी गरिएको निर्णयले समग्र वडावासीले समेत सुविधा पाएका छन् ।

उक्त सुविधा वडाभित्रका एक हजार ११० घरधुरीले प्राप्त गर्ने छन् । अहिलेसम्म वडाभित्रका करिब एक हजार घरधुरीले मात्र धारा जडान गरेको भन्दै वडाध्यक्ष सापकोटाले स्थानीय सरकारले प्रदान गरेको सेवासुविधा उपयोग र स्वच्छ पानीको प्रयोगका लागि बाँकी रहेका घरधुरीलाई धारा जडान गर्न आग्रह गरे ।

वडा कार्यालयले प्रदान गरेको छूट सुविधा ४ हजार ४४४ जनाले उपभोग गर्ने छन् । खानेपानीको न्यूनतम शुल्क भुक्तानीका लागि वडा कार्यालयले १० लाख रूपैया विनियोजन गरेको छ । समानीकरण अनुदान शीर्षकमा प्राप्त बजेट खानेपानीको न्यूनतम शुल्क भुक्तानीका लागि विनियोजन गरिएको वडाध्यक्ष सापकोटाले बताए । करिब चार महिनाअघि आफूले उक्त घोषणा गरेको र कार्यविधि बनाउँदा ढिलो भएको भन्दै उनले भने, ‘वडाध्यक्षले बोलेको कुरा गरेन भनेर विरोध पनि भयो, तर मैले गर्छु भनेको कुरा पूरा गरेको छु ।’

रत्ननगरमा १६ वटा वडाहरु रहेका छन् । वडा नं–१ ले पहिलोपटक खानेपानीको न्यूनतम शुल्क निःशुल्क गर्न सफल भएको छ । ‘विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र होइन’, वडाध्यक्ष सापकोटाले भने, ‘सुशासन र वडावासीको चाहना पूरा गर्नु पनि विकास हो ।’

चालू आर्थिक वर्षमा सो वडा कार्यालयले स्थानीय उत्पादनको बजारीकरणका लागि रात्रिकालीन बजार, अतिविपन्न १० घरधुरीलाई निःशुल्क धारा जडान, शौचालय निर्माणको सामग्री तथा सडकसहित पूर्वाधारमा दुई करोड विनियोजन गरेर काम सुरू गरेको छ ।

वडाभित्रका सबै सडकहरुलाई कालोपत्रे गर्ने योजनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष सापकोटाले बताए । ‘वडावासीहरु ग्राभेल हालेको सडकमा हिँड्न नपरोस् भनेर चालू आर्थिक वर्षभित्र सबै सडक कालोपत्रे गर्ने योजना छ’, उनले भने, ‘लक्ष्य प्राप्तिका लागि प्रयास गरिरहेको छु ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।