२०८३ जेष्ठ २६ मंगलवार
२०८३ जेष्ठ २६ मंगलवार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि खेल क्षेत्रको महोत्सवका रूपमा सुरू हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपिएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका छन् । बैठकमा अर्यालले भने, ‘पहिलोपटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु ।’

क्यानले टिकट नपाएकाहरूले उद्‍घाटन खेल घरमै बसेर हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले उद्‍घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका छन् ।

मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको क्यानले जानकारी दिएको छ । एनपिएलका खेल स्टार स्पोर्ट्स र कान्तिपुर टिभीबाट प्रशारण हुनेछन् भने ओटिटी प्लेफर्ममा डिस होमको गो एपमा सःशुल्क प्रशारण हुँदैछ । क्यानले यसपटक एनपिएलका खेल युट्युबमा प्रशारण नहुने जनाएको छ ।

काठमाडौँ । निर्वाचन आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिए । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ ।

अहिले आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन छ । आयोगको कार्यतालिका अनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ । यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ ।

हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० सहितका दलहरु समायोजित भई दलको सङ्ख्या घटेको हो ।

आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थप गरेर आगामी मङ्सिर ५ गतेसम्मका लागि कायम राखेको छ ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । आयोगले शनिबार यो कार्य जारी राखेको थियो ।

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि विस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए ।

अर्थमन्त्री खनालका अनुसार घरजग्गा कारोबारमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेशमार्फत कानुनमा आवश्यक परिवर्तन गर्न सक्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । “घरजग्गा कारोबार सहज बनाउनका लागि अध्यादेशमार्फत केही व्यवस्था गर्ने वा सरकारले कार्यकारिणी अधिकार प्रयोग गरेर पनि सुधारका काम गर्न सक्छ”, उनले भने ।

मन्त्री खनालले निजी क्षेत्रका सबै माग पूरा गर्न सरकारले नसक्ने स्पष्ट पार्दै आपसी समन्वय र सहकार्य भने अत्यावश्यक रहेको बताए । “निजी क्षेत्रका सबै माग तत्काल पूरा गर्न नसकिएला, जबरजस्ती लागू गर्न खोजेर पनि हुँदैन, कार्यान्वयनमै गाह्रो हुन्छ । व्यावसायिक वातावरण बनाउने र उत्पादन रोजगारी बढाउने सवालमा भने निजी क्षेत्र र सरकार सँगसँगै जानुपर्छ । रोजगार सिर्जना, देशभित्रै व्यवसाय विस्तार र लगानी आकर्षण सरकारको अत्यन्तै प्राथमिकतामा छ”, उनको भनाइ थियो ।

गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनले ५५ जिल्लाका ५१४ स्थानीय तहमा ठूलो क्षति पुर्‍याएको मन्त्री खनालले जानकारी दिए । निजी क्षेत्रमा मात्र करिब रु ३६ अर्ब बराबरको क्षतिको प्रारम्भिक अनुमान गरिएको छ । निजी र सार्वजनिक दुवै क्षेत्र मिलाएर रु ७८ अर्ब ५१ करोड बराबर क्षति पुगेको खनालले उल्लेख गरे । त्यसमध्ये निजी क्षेत्रको रु २३ अर्ब बराबरको बिमा दाबी प्रस्तुत भइसकेको र ४०० भन्दा बढी क्षति दाबीहरू भुक्तानी प्रक्रियामा रहेको उनको भनाइ छ ।

अर्थमन्त्री खनालले आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वास पुनःस्थापना महत्त्वपूर्ण रहेकोसमेत बताए । “रोजगारी बढाउने, उत्पादन बिस्तार गर्ने भूमिका सरकारको भन्दा निजी क्षेत्रको ठूलो छ । सरकार सहजीकरण र नियमनको भूमिकामा रहन्छ”, उनले भने ।

देशमा विश्वासको वातावरण निर्माण नहुँदासम्म आर्थिक गतिविधि तीव्रताका साथ अघि बढ्न नसक्ने उल्लेख गर्दै अर्थमन्त्री खनालले कारोबार खर्च घटाउन भन्सार प्रणालीमा सुधार थालिएको जानकारी दिए । उनले भन्सार जाँचपास कारोबार रकमको आधारमा गर्ने र मूल्याङ्कनमा प्रयोग हुँदै आएको सन्दर्भ मूल्य पुस्तिका खारेज गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी उनले अवैध कारोबार, कालोबजारी, अत्यधिक मूल्यवृद्धि, एकाधिकार जस्ता गैरकानुनी क्रियाकलापमा संलग्न जो कोहीमाथि कडाइका साथ कारबाही हुने चेतावनी दिए । व्यवसायको लेखापरीक्षण जोखिम विश्लेषण र चुनौतीका आधारमा मात्र गर्ने व्यवस्था आवश्यक रहेको खनालको भनाइ थियो ।

करदाता सेवा कार्यालयको सङ्ख्या बढाउने विषय सरकारको प्राथमिकता रहेको र मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर लागू गर्ने विषयमा भने सरकारले तत्काल प्रक्रिया अघि बढाउन नसक्ने उनको भनाइ छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच चालू पुँजी मार्गदर्शन कार्यान्वयनलगायत विषयमा निरन्तर छलफल भइरहेको अर्थमन्त्री खनालले बताए । सरकारले मौद्रिक नीतिमार्फत पनि व्यवसाय र आर्थिक गतिविधिलाई सहज बनाउने गरी नीतिगत सहयोग गर्दै जाने उनले स्पष्ट पारे ।

सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उद्योगी व्यवसायीको मनोबल उकास्न र व्यवसायमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति पहिलो आवश्यकता रहेको बताए । अनलाईनमार्फत कर भुक्तानी, भन्सार जाँचपासमा सहजतालगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । यस्तै, भन्सार दरलाई समायोजन गरी अधिकतम २५ प्रतिशत कायम गरिनुपर्ने र भ्यादमा बहुदर कायम गर्नुपर्ने चेम्बरको माग छ ।

आयकर ऐनलाई पुनर्लेखन गर्नुपर्ने, घर बहाल करमा तीन तहका सरकारबीच देखिएको अस्पष्टता हटाउनुपर्ने, नक्कली र झुट्टा बिलबिजक जारी गर्ने व्यापारीलाई कारबाही गर्नुपर्ने, ‘एसेट म्यानेजमेन्ट कम्पनी’ खोल्ने प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, कर फर्छ्यौट आयोग गठन गरिनुपर्नेलगायतका माग चेम्बरले अर्थमन्त्री खनालसमक्ष राखेको छ ।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व अनुसन्धान विभाग खारेज गरिनुपर्ने, उपभोक्ताको क्रयशक्ति बढाउने, निजी क्षेत्रको व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने, सीमा नाकाबाट हुने चोरी पैठारी र तस्करी रोकिनुपर्नेलगायत विषय उठाए ।

कालिका । जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था कालिका–६ खोलेसिमलको १८औँ वार्षिक साधारण सभामा उत्कृष्ट योगदानकर्ताहरू सम्मानित भएका छन् ।

समूहतर्फ कालिका–६ को शिवालय समूह, व्यक्तिगततर्फ कालिका–१ का रामप्रसाद देवकोटा र गोमाकुमारी श्रेष्ठ, पशुपालनतर्फ कालिका–१ का विकमाया थिङ, अगुवा कृषकतर्फ कालिका–१ का चन्द्रध्वज लामा, कर्मचारीतर्फ प्रबन्धक नारायण सुवेदी र सवारी चालक सुकराम महतो सम्मानित भएका हुन् ।

सम्मानित योगदानकर्ताहरूलाई सम्मानपत्र तथा खादा प्रदान गर्दै प्रमुखअतिथि रेग्मीले सहकारी र समुदायको विकासका लागि जनस्तरबाट प्राप्त योगदान अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले उत्कृष्ट योगदान पुर्‍याउने समूह, व्यक्ति तथा कर्मचारीहरूलाई बधाई दिँदै भविष्यमा अझै समावेशी, पारदर्शी र किसानमुखी योजनाहरू अघि बढाउन आग्रह गरे ।

संस्थाका अध्यक्ष द्रोणाचार्य रेग्मीको सभापतित्वमा सम्पन्न सभामा सचिव गुणराज दवाडीले वार्षिक प्रतिवेदन तथा प्रबन्धक नारायण सुवेदीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, उपाध्यक्ष चेतबहादुर थापा, लेखा समिति सदस्य लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्ष अरुणा लामाले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कालिका–६ का अध्यक्ष टीकाराम रेग्मी, कालिका–१ का अध्यक्ष सन्तवीर स्याङ्दान, कालिका–७ का अध्यक्ष कमलराज मोक्तान, कालिका नगरपालिकाका सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेल र चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरूङले सहकारीले समुदायमा पु¥याउँदै आएको योगदान, कृषक सशक्तीकरण र आर्थिक उत्थानमा देखाएको सक्रिय भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

सभामा सहकारीको वार्षिक कारोबार, बचत तथा कर्जा कार्यक्रम, कृषककेन्द्रित सेवा, आयआर्जनका परियोजना र आगामी नीति तथा योजनासम्बन्धी विस्तृत छलफल गरिएको थियो ।

रत्ननगर । रत्ननगर–७, मैनाहामा कार्यालय रहेको संस्था प्रोजेक्ट नेस्ट फाउन्डेसन नेपालको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले झलक भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोेर चौधरी, सचिवमा द्रौपदी महतो, कोषाध्यक्षमा धनराज महतो र सदस्यहरुमा पुरुषोत्तम दवाडी माया महतो र नमराज घिमिरे चयन भएका छन् ।

संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेको सभापतित्व एवम् रत्ननगर–७ का वडा सदस्य सूर्यबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा ग्रीन सोसाइटी पब्लिक बोर्डिङ स्कुलका शिक्षक बबिता खतिवडा, शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय कालिका–११ का प्रधानाध्यापक झलक भट्ट, द राइजिङ नेपाल टेक्निकल कलेजका प्रबन्ध निर्देशक गोविन्द खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले सामाजिक विकास, शिक्षा, स्वास्थ्य, दिगो कृषि तथा प्राविधिक शिक्षामा संस्थाले गर्दै आएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

संस्थाका सदस्य पार्वती पाण्डेले स्वागत तथा व्यवस्थापक निरज रेग्मीले सञ्चालन गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेशन सचिव जमुना सापकोटाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा फाउन्डेसनका बालबालिकाहरुले नृत्य, क्यारिकेचर र गीत प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।