२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा गम्भीर हुन आग्रह सबैलाई आग्रह गरिएको छ ।

“कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ” विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ ।”

अभियन्ता दुर्गा प्रसाइँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको र आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाइँ र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको बताइएको छ ।

आयोगले प्रसाईंलाई मंगलबार राति १२ः३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा ग¥यो ।

चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।

बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए ।

त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।

त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रवि बोपराले एक/एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् ।  
 
पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । दुवै खेलमा विश्व क्रिकेटमा नाम चलेका खेलाडी समावेश छन् । विदेशी खेलाडीसँग भएको अन्तरराष्ट्रिय स्तरको अनुभव नेपाली खेलाडीका लागि फाइदाजनक रहन्छ । पोखरा एभेन्जर्सले यसपटक विदेशी खेलाडीमा इङ्ल्यान्डका ड्यान डाउथवेटलाई समावेश गरेको छ । बलिङ र ब्याटिङ दुवैमा उनी उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन् ।
 
यस्तै पोखरा एभेन्जर्समा वेस्ट इन्डिजका रेमोन राइफर बलर समावेश छन् । यही टोलीमा इङ्ल्यान्डका एडम रोसिङ्टन ९विकेटकिपर–ब्याटर० छन् । इङ्ल्यान्डकै जेसन रोय पनि पोखरामै आवद्ध छन् । उनी टी–ट्वान्टी क्रिकेट विधाका आक्रामक ब्याटर हुन् । न्युजिल्यान्डका जिम्मी निसमले पनि यसपाली पोखराबाटै खेल्दैछन् । विश्व फ्रेन्चाइज क्रिकेटमा उनी पनि उम्दा अलराउन्डर हुन् । 
 
विराटनगर किङ्ग्समा पनि अनुभवले खारिएका विदेशी खेलाडीको उपस्थिति छ । विराटनगर किङ्ग्समा स्कटल्यान्डका जर्ज मुन्सी समावेश छन् । उनी बायाँहाते ब्याटर हुन् । मुन्सी ठूलठूला सट प्रहार गर्न माहिर छन् । विराटनगरमा रहेका न्युजिल्यान्डका मार्टिन गप्टिल विश्व क्रिकेटमा चिनिएका खेलाडी हुन् । मुख्यतया टी–ट्वान्टी क्रिकेटमो उनले उल्लेखनीय खेल प्रदर्शन गरेका छन् । भारतका शुभम रन्जन घरेलु क्रिकेटमा चम्किएका युवा ‘अलराउन्डर’ हुन्  भने दक्षिण अफ्रिकाका मर्चन्ट डी लान्गे तेज बलर हुन् । दुवै जनाको उपस्थितिले विराटनगर किङ्ग्स बलियो टोली बनेको छ ।  दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विश्व क्रिकेट राम्रा फिनिसरमध्येका एक हुन् । यस्तै, इङ्ल्यान्डका सामुएल डाली ह्याज्लेट मध्यमक्रमका ब्याटर हुन् । यसले पनि पोखरासँगको प्रतिस्पर्धा रोचक बनाउने देखिन्छ । 
 
कर्णाली याक्समा भारतका इमरान शेख समावेश छन् । उनी लामो पारी खेल्न सक्ने खुबी भएका खेलाडी हुन् । यस्तै अष्ट्रेलियाका विल बोसिस्टोले आफ्नो देशबाट यु–१९ को कप्तानी भूमिका निर्वाह गरिसकेका छन् भने उनी  मध्यम क्रमका भरपर्दा खेलाडी हुन् । स्कटल्यान्डका मार्क वाट टी–२० क्रिकेटमा प्रभाव जमाएका खेलाडीका रुपमा चिनिन्छन् । म्याक्स ओडाउड नेदरल्यान्ड्सका प्रमुख प्रारम्भिक खेलाडी हुन् । उनी बढीभन्दा बढी रन बनाउने क्षमता भएका खेलाडी हुन् । अफगानिस्तानका नजिबुल्लाह जड्रान विस्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनी मैदानमा लामा लामा सट प्रहार गर्न सक्ने खेलाडीका रुपमा दर्शकमाझ परिचित छन् । भारतका प्रियाङ्क पञ्चाल पनि उत्कृष्ट ब्याटर हुन् । यस्तै भारतका जय किसन कोल्सावाला विकेटकिपर–ब्याटर हुन् । उनी विश्वसनीय इनिङ एङ्करका रुपमा चिनिन्छन् । 
 
यस्तै चितवन राइनोजमा अनुभवी अलराउन्डर खेलाडी समावेश छन् । चितवनमा इङ््ल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावकारी खेलाडी हुन् । यस्तै पाकिस्तानका सोहेल तन्विर पनि चितवनमै समावेश छन् । उनी फास्ट बलर हुन् । उनको बलमा ब्याटरहरुले सितिमिति रन बटुल्न सक्दैनन् । बङ्गलादेशका साइफ जाइब लराउन्डर हुन् । मध्य क्रममा खेल्ने उनी आफ्नो टोलीको पारीलाई लामो समय मैदानमा टिकाउन सक्ने क्षमता भएका खेलाडी हुन् । इङ्ल्यान्डका डेभिड मलान विश्श्व टी–२० क्रिकेटका शीर्ष स्थानका ब्याटर हुन् । यस्तै भारतका अल्पेस रम्जानी युवा स्पिनर हुन् । दुवै जना चितवनमा समावेश खेलाडी हुन् । चितवन बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टोली हो । त्यसैले कर्णालीविरुद्धको अहिले भइरहेको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।

सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी देखिएको हो ।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट रु चार अर्ब नौ करोड र अन्यतर्फ एक हजार ७७० करदाताबाट रु तीन अर्ब १५ करोड बराबर कर असुली हुन बाँकी छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । “बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१÷८२ मा आयकरतर्फ रु २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु आठ अर्ब ७१ करोड असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ रु १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् रू १० अर्ब ३३ करोड असुल भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा रु २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ रु १८ अर्ब १७ करोड लक्ष्य रहेकामा रु २२ अर्ब २९ करोड अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।