२०८२ चैत्र १३ शुक्रबार
२०८२ चैत्र १३ शुक्रबार

काठमाडौँ । सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुई-दुई पटकका विश्वविजेतासमेत हुन् ।

नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ । यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आइसिसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गरेका थिए । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बताए ।

योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

चितवन । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागू औषध मुद्दामा कारबाही गरिएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुरअनुसारको कारबाही गरिएको उनले बताए ।

आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको उनले जानकारी दिए ।

आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीनवटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।

लगातार तीन खेल जितेको विराटनगर बुधबार चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।

यसअघि, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवि बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।

गैँडाकोट । आगामी पुस २५ गतेदेखि पूर्वी नवलपरासीको गैँडाकोटमा चौथो संस्करणको गैँडाकोट महोत्सव आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा नारायणी नदीकिनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र बनाइएको गैँडाकोट महोत्सवका संयोजक मेघराज कँडेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिइएको छ । यसले स्थानीय बजारमा सीधा आर्थिक गतिविध बढाउन महत्त्वपूर्ण भूमिका रहने उनले बताए । महोत्सवमा २५० व्यावसायिक स्टल रहनेछन् ।

महोत्सवबाट करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल–इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शनमा राखिने छन् ।

कार्यक्रममा प्रमुखअतिथि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई पुनःउत्थान गर्न महोत्सवले विशेष भूमिका खेल्ने अपेक्षा लिइएको बताए । जेनजी आन्दोलनमा निजी क्षेत्रमा भएको तोडफोड र आगजनीका कारण उद्योगी–व्यवसायीको मनोबल माथि उठ्न नसकेको र लगानीको वातावरण नभएको बताउँदै आन्दोलनमा घुसपैठ गरी निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशको समग्र विकास सम्भावनाको प्रतीकका रुपमा गैँडाकोट महोत्सव रहेको बताउँदै विगतका तीन संस्करण आफ्नै नेतृत्वमा सम्पन्न भएको र चौथो संस्करणलाई पनि सफल र परिणाममुखी बनाउन सबैको उत्तिकै भूमिका रहने बताए । चुनौतीका बाबजुत पनि महोत्सव आयोजना गरिएको भन्दै सञ्चारमाध्यमले गाउँबस्ती र जनजनसम्म सूचना पुर्‍याएर सहयोग गर्न आग्रह गरे ।

महोत्सवमा सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन् । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।

महोत्सवको प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मीसँगै महोत्सव परिसरभित्र सिसिटिभीमार्फत निगरानी गरिने आयोजकले जनाएको छ ।

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरिएको अन्तरजिल्लास्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि रत्ननगरका केवल न्यौपाने र आयुष गुरूङले जितेका छन् ।

कालिका नगरपालिकाको सहयोगमा कालिका कभर्ड हल स्थापना समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा भरतपुरका विधान गुरूङ र अमन दराईको जोडीलाई सोझो सेटमा पराजित गर्दै न्यौपाने र गुरूङको जोडीले उपाधि जितेको हो ।

बी डिभिजनको उपाधिका लागि रत्ननगरस्थित पूर्वी चितवन स्पोर्ट्स क्लबको प्रतिनिधित्व गर्दै न्यौपाने र गुरूङ तथा भरतपुरस्थित उत्सव इन्टरप्राइजेजको प्रतिनिधित्व गर्दै गुरूङ र दराईको जोडीले उपाधिका लागि फाइनल प्रतिस्पर्धा गरेका थिए । त्यस्तै, प्रतियोगिताअन्तर्गत धादिङका लक्ष्मण मल्ल ठकुरी र आकाश गुरूङ तथा भरतपुरका शिव खड्का र सागर शर्माको टिम तृतीय भएका छन् ।

कालिका कभर्ड हलमै सञ्चालित पूर्वी चितवनस्तरीय सी डिभिजन प्रतियोगिताको उपाधि कालिका कभर्ड हल ब्याडमिन्टन व्यवस्थापन समितिका साइमन गुरूङ र मदन गुरूङको जोडीले जितेको छ । उक्त प्रतियोगितामा अष्ठ पाख्रिन र राजु तामाङको जोडी उपविजेता बन्यो । त्यस्तै, प्रतियोगितामा कालिका कभर्ड हल ब्याडमिन्टन व्यवस्थापन समितिका फणीन्द्र लामिछाने र बुद्धि अधिकारी तथा रामचन्द्र गिरी र डेकबहादुर वाइबाको जोडी तृतीय भएका छन् ।

बी डिभिजनतर्फ ३२ टिम र सी डिभिजनतर्फ २८ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बी डिभिजनतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १२ हजार तथा सी डिभिजनतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः २० हजार, १२ हजार र ८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कालिका कभर्ड हल ब्याडमिन्टन व्यवस्थापन समितिका अध्यक्ष फणीन्द्र लामिछानेले जानकारी दिए ।

खेलका विजेताहरुलाई कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, नगरका प्रवक्ता तथा वडा नं–२ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं–३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए ।

अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रम सचिव बुद्धि अधिकारीले सञ्चालन गरेका थिए । कालिकामा हरेक वर्ष अन्तरजिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।